Subscribe Us

राहतको दुरूपयोग नहोस्ः प्रम कोइराला

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडित नेपाली नागरिकको नाममा नेपाली तथा विदेशी नागरिकबाट जम्मा भएको राहत रकम तथा सामग्रीको कसैबाट पनि दुरूपयोग नहोस् भनेका छन् । प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न भारतको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार आएको प्रतिनिधिमण्डलसँग कुरा कानी गर्दै उक्त कुरा औंल्याएका हुन ।

कोइरालाले विदेशबाट राहत रकम र सामग्री पठाउने संस्थाहरूले आफूले पठाएको रकम र सामग्री पुगे नपुगेको पनि निगरानी गर्नुपर्ने बताउँदै सिधै आफू गएर राहत वितरण गर्नुभन्दा सरकारको एकद्वार नीतिअनुरूप जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर वितरणमा जान आग्रह गरेका थिए ।

सम्पर्क समितिले नेपाली राजदूतावास नयाँदिल्लीमार्फत प्रधानमन्त्री दैवी राहत कोषमा रु ५ लाख ११ हजार १३१ र रु एक लाख ६० हजार प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरी सहयोग गरेको छ । नेपाली जनसम्पर्क समिति भारतले भूकम्पपीडितका लागि नगद र जिन्सी गरी करिब रु ९१ लाख ३० हजारको सहयोग गरेको जनाएको छ ।

समितिले नेपाल दूतावास नयाँ दिल्ली, जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, काठमाडौँ, पर्वत, ललितपुरलगायतका जिल्लामा राहत सामग्री वितरण गरिएको जनाएको छ । समितिले अर्घाखाँची र काठमाडौँ जिल्लामा लोकमणि घिमिरेको संयोजकत्वमा स्वास्थ्य शिविरहरू पनि सम्पन्न गरेको जनाएको छ ।

भेटका अवसरमा जनसम्पर्क समिति भारतको प्रतिनिधिमण्डलले प्रधानमन्त्री समक्ष प्रवासी नेपालीको समस्या र जनसम्पर्क समितिका आन्तरिक माग पनि राखेको थियो । प्रधानमन्त्रीसँगको भेटमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, पार्टीका प्रवक्ता दिलेन्द्र बडू नेपाली काँग्रेसका सचिव ऋषिकेश तिवारी र नेपाली जनसम्पर्क समिति भारतका महेन्द्र भुसाल, धर्मागत काफ्ले, विष्णुप्रसाद पाण्डे, विराट श्रेष्ठ, अनिल शर्मा, चन्द्रकान्त काफ्ले, भूपेन्द्रराज गिरी रहेका थिए । 

प्रतिनिधिमण्डलले भूकम्पपीडितका लागि थप राहत सामग्री र आर्थिक सङ्कलन भइरहेको पनि जानकारी गराएको थियो ।    प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताहरूसँग भेटघाट गरेको जनाएको छ ।

Post a Comment

0 Comments