Subscribe Us

भूकम्पपीडितलाई सेनाले ऋण उपलब्ध गराउने

बनेपा, १७ असार । भूकम्पबाट अतिप्रभावित जिल्लामा आवासका लागि नेपाली सेनाले न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

 सैनिक कल्याणकारी कोषमार्फत भूकम्पबाट पीडित आफ्ना सैनिकलाई लक्षित गरेर न्यूनतम ४.५ प्रतिशत ब्याज दरमा सो ऋण उपलब्ध गराउने नेपाली सेनाका प्रधान सेनापति गौरवशम्शेर जबराले जानकारी दिएका छन् । नेपाली सेनामा भूतपूर्व सैनिक ६५ हजार र बहालवाला ९५ हजार छन् ।

    प्रधान सेनापति जबराले भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले खोज, उद्धार र राहतमा पेसागत दक्षता देखाएको उल्लेख गर्दै त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंसा भइरहेको जानकारी दिएका छन् ।

 उनले देशभरका पाँचैवटा विकास क्षेत्रमा सैनिक कल्याणकारी कोषमार्फत विभिन्न सेवासमेत दिइएको जानकारी दिँदै नेपाली सेनाबाट अवकाश प्राप्त सैनिक र एकल महिलालाई आत्मनिर्भर बनाउनसमेत सैनिक कल्याणकारी कोष प्रभावकारी भएको बताए । 

यसैबीच, काभ्रेपलाञ्चोकमा भूकम्पबाट पीडित अवकाश प्राप्त सैनिक तथा एकल महिला १० जनालाई सैनिक कल्याणकारी कोषमार्फत रु एक÷एक लाख राहत रकम प्रदान गरियो । उनीहरूलाई नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजकत्वमा धुलिखेलमा सञ्चालित मध्यमाञ्चलस्तरीय भूतपूर्व सैनिक सम्मेलन एवम् भेटघाटमा सो रकम प्रदान गरिएको थियो ।

    सम्मेलनका क्रममा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको संयुक्त सहकार्यमा लघुवित्त कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोककै भूपू सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका  १० जनालाई वित्तीय प्याकेजअन्तर्गत रु ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिअन्तर्गत रहने गरी २०७० असोज २१ गते कल्याणकारी बोर्डको  स्थापना भएको थियो । रासस

Post a Comment

0 Comments