Subscribe Us

नक्कली भूकम्प पीडितलाई पक्राउ गर्न सिडीओको आदेश

बनेपा, २६ असार । नक्कली भूकम्प पीडित बनेर सरकारको राहत दुरूपयोग गरेका करिब ५० जनालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ ।

    किटानी उजुरीका आधारमा उनीहरूलाई जिल्लाका पात्लेखेत र चण्डेनीमण्डन गाविस तथा पाँचखाल नगरपालिकाबाट पक्राउ गर्न लागिएको प्रशासकीय अधिकृत अर्जुन रिसालले जानकारी दिएका छन् ।  “सोधपुछका लागि उपस्थित गराउँछौँ र प्रमाणित भए रकम फिर्ता गराउनाका साथै भूकम्पपीडितको परिचयपत्र रद्द गर्ने रिसाले बताए । 

    भूकम्पपीडितका नाममा उनीहरूले सरकारले उपलब्ध गराएको रु १५ हजारका दरले कुल रु सात लाख ५० हजार र परिचयपत्र लगेका छन् । तीन गाविसमध्ये सबैभन्दा बढी चण्डेनीमण्डनमा नक्कली भूकम्पपीडितका नाममा राहत रकम दुरूपयोग भएको उजुरीमा उल्लेख छ ।

    “उनीहरूलाई पक्राउ गर्न आदेश दिइसकिएको छ, प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ” प्रजिअ सुदर्शन ढकालले जानकारी दिए । उनले पक्राउ गर्नका लागि प्रहरीलाई पत्राचारसमेत गरिएको जानकारी दिए । भूकम्पपछि एउटै घरमा बसेका परिवार अलग भएर राहत रकम लिएको र वैकल्पिक वासस्थान हुँदाहुँदै पनि सुविधा लिएको भन्दै केही दिनअघि किटानी उजुरी परेको थियो ।

Post a Comment

0 Comments