Subscribe Us

घरधनीले टावर हटाउन माग गरेपछि एनसेललाई टेन्सन

काठमाडौँ, २८ असार । भूकम्पको त्रासले आत्तिइ आफ्नो घरबाट टावर हटाउन घर धनीले निवेदन दिनथाले पछि निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको निद हराम भएको छ । तर एनसेलले त्यस्ता घरधनीलाई केही समयका लागि संयम भई दिन आग्रह गर्न थालेको छ ।

भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिएपछि त्यसबाट थप क्षति हुने त्रासले सयौँ घरधनीले टावर हटाउन सम्बन्धित टेलिफोन कम्पनीमा निवेदन दिन थालेका छन् ।

    घरधनीको मागपछि जोखिममा रहेका घरबाट काठमाडाँै उपत्यकामा नेपाल टेलिकमका ३७, एनसेलका ३० र युटिएलका सात टावर झिकिएको टेलिफोनको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिएका छन् ।

    भूकम्पपछि एनसेलमा ५० भन्दा बढी घरधनीले टावर हटाउन निवेदन दिएको र त्यसमध्ये ३० वटा टावर हटाइ सकेको कम्पनीका कर्पाेरेट संवादविद् मिलन शर्माले बताए । कम्पनीले घरधनीको मागबमोजिम जनधनको क्षति हुन नदिन प्राविधिकमार्फत जाँच गराई जोखिमयुक्त घरमा टावर राख्ने÷नराख्ने बारेमा अध्ययन भइरहेको जनाएको छ ।

    शर्माका अनुसार पहिला आफ्नो घरको छतमा टावर राख्न भनेर अनुरोध गर्ने घरधनीले भूकम्पपछि घर सुरक्षित भएपनि आत्तिइ टावर हटाउन माग गर्दै निवेदन दिएका छन् । कम्पनीले घरधनीको मागबमोजिम भन्ने बितिकै टावर हटाउँदा मोबाइल नेटवर्कमा समस्या हुने बताउदै नयाँ स्थानको खोजीसम्मलाई संयम भई दिन धनीहरुलाई आग्रह गरेको छ ।

    साथै कम्पनीले टावरको वर्तमान समस्या समाधान गर्न टावरको उचाइ तथा वजन घटाई नयाँ संरचना बनाउने र टावरको वजन कम गर्न एन्टिनालाई घरको पर्खालमा सार्ने योजना अघि बढाइने जनाएको छ ।

    उपत्यकाका तीन जिल्लामा मोबाइल फोनको सुविधाका लागि हाल नेपाल टेलिकमका ४४३, एनसेलका ३४७ र युटिएलका ४५ टावर जडान गरिएका छन् । यसमध्ये ९५ प्रतिशतभन्दा बढी टावर घरको छतमाथि नै छन् । हाल उपत्यकामा नेपाल टेलिकमका करिब ४० लाख, एनसेलका १७ लाख ६० हजार र युटिएलका दुई लाख मोबाइल प्रयोगकर्ता छन् ।

Post a Comment

0 Comments