Subscribe Us

युवकको मृत्यु प्रकरण प्रहरीलाई आरोप लगाउँदै उपत्यका बन्द

रत्ननगर (चितवन), ९ साउन । चितवनको माडीका एक युवकको मुत्यु प्रकरणलाई लिएर स्थानीयले शनिवार माडी उपत्यका बन्द गराएका छन् । माडी नगरपालिका–६ रमाइलो डाँडा बस्ने वर्ष १८ का सुनिल दराइको हिजो रहस्यमय रुपमा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले हिरासतमा रहेका बेला कुटपिट गरेकाले उनको मृत्यु भएको भन्दै पीडित परिवार तथा स्थानीयले यहाँको यातायात बन्द गराएका हुन् । उनीहरूले पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् ।

उक्त घटनापछि शुक्रबार दिनभर तनाव भएको माडीमा शनिवार भएको बन्दका कारण यात्रु प्रभावित भएका छन् । सुक्रवारको बन्दले आजित भएका यात्रु शनिवार थप बन्द हुँदा नारायणगढ माडी आवतजावत गर्ने प्रभावित भएका छन् ।

गएको असार ३० गते मापसे गरेको फेला पारेपछि प्रहरीले एक दिन हिरासतमा राखेर उनीलगायत पाँच जनालाई छाडेको थियो । प्रहरीले हिरासतमा राख्दा कुटपिट गरेका कारण मृत्यु भएको आरोप उनका आफन्तले लगाएका स्थानीय नागरिक अगुवा श्रीप्रसाद दवाडीले जानकारी दिएका छन् ।  जसका कारण हिजो माडीमा शव प्रदर्शन गर्ने क्रममा प्रहरी कार्यालयमा झडपसमेत भएको थियो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार मापसे गरेका उनीसहित पाँच जनालाई असार ३० गते नियन्त्रणमा लिइएको थियो । उनीहरू सबैलाई भोलिपल्ट यस्तो नगर्ने सर्तमा तारिखमा आउने गरी रोहवरमा छाडिएको थियो ।

अहिले बिरामी भएर मृत्यु भएपछि प्रहरीले कुटेर मारेको भनी मित्थ्या आरोप आएको थापाले बताए । प्रहरीले उनीहरूलाई कुनै पनि यातना नदिएको उनको दाबी थियो ।  उनलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएकामा शुक्रबार मृत्यु भएपछि प्रहरीमाथि आरोप लागेको हो । प्रहरीले उनको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाएको छ।

Post a Comment

0 Comments