Subscribe Us

कमिसनकै लागि सशस्त्रमा बबाल,
किष्ट मेडिकल कलेजमा वन्तको १४ करोडको लगानी

काठमाडौँ । सशस्त्र प्रहरी बलका केही आर्थिक प्रशासनसँग सम्बन्धित शाखा प्रमुखहरूको व्यक्तिगत महत्वाकांक्षाका कारण अहिले सशस्त्रमा द्वन्द्व बढेको छ । प्रबन्ध शाखाको प्रमुखमा छन् डिएसपी प्रमोद राय । 

उनी आफूलाई प्रबन्धको विज्ञ भएकोे दाबी गर्छन । थाहा नपाउने र अरू कसैले नदेख्ने गरी जति रकम दिए पनि खल्तीमा हाल्न पछि नपर्ने डीएसपी राय बार्गेनिङकै लागि पनि ठेकेदारहरूलाई तर्साउने गरेको कुरा ठेकेदारहरूले बताउँछन् । 

प्रबन्धमै बसी ठेकेदारहरूबाट घुस खाएकै रकमले उनले कलंकीको कलंकीमाई मन्दिरको तल सुविधा सम्पन्न बंगला  बनाएका छन् । प्रबन्धमा आउनु अगाडि पनि उनी आर्थिक प्रशासनसँग सम्बन्धित शाखामा नै थिए । विवादमा परिने डरले टेण्डर प्रक्रिया गर्दा कागजीरूपमा जसको कम दर छ उसैलाई टेण्डर दिएर विवादमुक्त भए पनि सशस्त्र प्रहरी बलले ठेकेदारबाट सामान लिँदा भने गुणस्तरीय नलिएको आरोप लाग्दै आएको छ । 

गतवर्षदेखि सशस्त्र प्रहरीले आफ्ना संगठनभित्र प्रयोग हुने सामानहरूको टेण्डर प्रक्रिया गर्दा उक्त सामान गुणस्तरयुक्त छ छैन भन्ने कुराको चेकजाँचका लागि गुणस्तर तथा नापतौल विभागमा पठाउने गरेको छैन । त्यसभन्दा अघि सधैँ गुणस्तरमा पठाउने कार्य सशस्त्रले गर्दै आएको थियो । कम दरमा सामान सप्लाई गर्ने ठेकेदारसँग गुणस्तर अनुसारको सामान नलिई ठेकेदारबाट मनोमानी ढंगबाट रकम असुल्ने काम अहिले सशस्त्रमा व्यापक मात्रामा भइरहेको छ । 

ठेकेदारबाट ल्याइएका सामानहरू गुणस्तरीय छन् छैनन् भन्ने कुराको निरीक्षणको जिम्मेवारी आर्थिक प्रशासन महाशाखाको एसएसपीको नेतृत्वमा गठित एउटा समितिले गर्दछ । जुन समितिमा प्रबन्धका डिएसपी प्रमोद राय स्वयम् नै हुन्छन् भने भण्डार, बजेटलगायतका शाखाका प्रतिनिधि पनि रहने व्यवस्था छ । आइजिपी कोषराज वन्तले एसपी दमन थापालाई बजेटमा ल्याएपछि प्रबन्धका डिएसपी प्रमोद राय र उनीबीच व्यापक मतभिन्नता बढ्दै गएको छ । दमन थापा यसअघि डिएसपी दर्जामा कार्यरत रहँदा प्रबन्धकै शाखाप्रमुखका रूपमा कार्यरत थिए । सनत बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तको पनि दुई वर्ष कार्यकालमा प्रबन्धको शाखा प्रमुखका रूपमा दमन थापा कार्यरत थिए । उनले यसबीचमा करोडौँ रूपैयाँ कमाएको आरोप सशस्त्र प्रहरीभित्र नै छ । 

झण्डै झण्डै पाँच वर्षको अवधिमा प्रबन्धमा बस्ने डिएसपीले कति रकम कमाएका होलान् अनुमान गर्न कठिन हुने सशस्त्रकै एक एसएसपीले बताए । पछिल्लो समय विवाद भएपछि आर्थिक प्रशासन र प्रबन्धका कर्मचारीहरू परिवर्तन गर्ने क्रमसँगै एसपीमा बढुवा भएपछि दमन थापा प्रबन्धबाट हटेका हुन् । एक वर्ष उपत्यकाबाहिरको गणपति बनेपछि उनी पुनः सशस्त्र प्रहरीको अर्को मालदार शाखाको रूपमा रहेको बजेट शाखाको प्रमुखका रूपमा कोषराज वन्तले भित्र्याएका हुन् । प्रबन्धमा रहँदा खरिदबाट हुने भ्रष्टाचारको हिस्सा राम्रैसँग वन्तलाई बुझाएका कारण अब जागिरको उत्तराद्र्धतिर आउने क्रममा त्यो हिस्सा बुझाएको गुन तिर्नकै लागि थापालाई बजेट शाखाको प्रमुख बनाएका हुन् । प्रबन्धपछि बजेट सशस्त्रको महत्वपूर्ण आम्दानीको स्रोत हुने शाखा हो । 

जहाँ क्षेत्रीय कार्यालयदेखि गण, महाविद्यालय, सिसुका, गुल्मसमेतका ठाउँहरूमा बजेट विनियोजन गर्ने क्रममा त्यहाँका लेखापालहरूसँग ठूलो मात्रामा कमिसन बुझ्ने काम हुन्छ । जसले बढी कमिसन दिन्छ वा दिने प्रतिबद्धता जाहेर गर्दछ त्यसै ठाउँमा मुख्यालयको बजेट शाखाले बढी बजेट निकासा गरिदिन्छ र त्यसको हिस्सा बजेट शाखामार्फत् संगठन प्रमुख वन्तकहाँसमेत पुग्ने गर्दछ । लामो समय प्रबन्धमा बसेका कारण पनि सशस्त्रमा ठेक्कापट्टा गर्ने ठेकेदारहरूसँग एसपी दमन थापाको बढी आवतजावत, हेलमेच र बसउठ भएका कारण उनैको निर्देशन र सल्लाहमा आइजिपी वन्तले कार्य गर्न थालेपछि प्रबन्धका डिएसपी प्रमोद राय थापासँग रुष्ट बनेका हुन् । 

यसैगरी टेण्डर स्वीकृत भई सामान बुझाउने क्रममा पनि ठूलो अनियमितता भएको भेटिएको छ । सशस्त्रको भण्डारका प्रमुखसँग मिलेर ठेकेदारहरूले केही सामान देखाउनकै लागि पनि गुणस्तरयुक्त दिने र अन्य धेरै सामानहरू कम गुणस्तरको बुझाउने गरेका कारण एकै साल खरिद गरेर वितरण गरिएका कपडाहरूसमेत दुईथरी देखिन थालेपछि सशस्त्रका उच्च अधिकारीहरू यो सामान खरिदमा ठूलो आर्थिक घोटाला भएको अनुमान गरिरहेका छन् । 

तर, आइजिपी कोषराज वन्तले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग त्यही ठेकेदारकै माध्यमबाट व्यक्तिगत सम्पर्क गरी सम्बन्ध बढाएका कारण अख्तियारले सशस्त्र प्रहरीभित्रको भ्रष्टाचारतिर ध्यान दिएको छैन । जबकि आइजिपी कोषराज वन्तले अवैधढंगले अकुत सम्पत्ति कमाएको दर्जनौँ उजुरीपरी अख्तियारले सुरुका केही दिन उनलाई बयानका लागि बोलाए पनि त्यसपछि भागवण्डा मिलेका कारण बोलाउन छाडेको छ । 

लोकमान कार्कीका ज्वाइँ नाता पर्ने व्यक्तिलाई आइजिपी वन्तले करोडौँको ठेक्का दिन थालेपछि तिनै ठेकेदारमार्फत् अहिले कार्की र वन्तबीच सुमधुर सम्बन्ध भएका कारण पनि उनको अकुत सम्पत्ति र भ्रष्टाचारका उजुरीहरू अख्तियारमा त्यसै थन्किएका छन् । वन्तले भाउजुका नाममा किष्ट मेडिकल कलेजमा गरेको झण्डै १४ करोडको लगानी र जलविद्युत्मा गरेको करोडौँको लगानी अहिले पनि अनुसन्धानको सिलसिलामा रहेको भनिए पनि अख्तियार प्रमुखलाई मिलाइसकेका कारण वन्त जोगिने अवस्थामा छन् ।

Post a Comment

0 Comments