Subscribe Us

जानकी मेडिकल कलेजलाई कारबाही गर्न समितिको निर्देशन

 काठमाडौँ, २७ असार । व्यवस्थपिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकले    जनकपुरको जानकी मेडिकल कलेज सञ्चालनमा देखिएको अवरोधबाट सिर्जित समस्याको अविलम्ब समाधान गरेर पीडित विद्यार्थीको अध्ययन प्रक्रिया सुचारु गरी १० दिनभित्र यस समितिलाई जानकारी दिन शिक्षा मन्त्रालय, इन्टिच्युट अफ मेडिसिन (आइओएम) र मेडिकल काउन्सिललाई निर्देशन दिएको छ । 

विगत १० महिनादेखि अध्ययन–अध्यापन प्रक्रिया अवरुद्ध भई सो कलेजका ३१७ विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्न पुगेको छ । विगत १० महिनादेखि सञ्चालन हुन नसकी पठनपाठन प्रक्रिया अवरुद्ध रहेको उक्त  कलेजका सञ्चालकलाई अविलम्ब कारबाहीको प्रक्रिया अघि बढाई पीडित विद्यार्थीलाई समुचित क्षतिपूर्तिको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देश गर्ने र देशका सम्पूर्ण मेडिकल कलेजको सम्बन्धन र सञ्चालन प्रक्रियामा देखिएका समस्याको अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने समितिको बैठकले निर्णय गरेको छ । बैठक समितिका सभापति सुशीलकुमार श्रेष्ठको सभापतित्वमा बसेको थियो । रासस

Post a Comment

0 Comments