Subscribe Us

प्रहरी भन्दा अगाडी अपराधीःन्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठले प्रमाणमुखी अनुसन्धानका लागि अपराध अनुसन्धानलाई वैज्ञानिक तथा आधुनिकीकरण गरिनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा विधि विज्ञान सेवा सुदृढीकरण विषयक एकदिने गोष्ठीको सुक्रवार उद्घाटन गर्दै श्रेष्ठले प्रहरीभन्दा अगाडि अपराधी हिँड्न दिन नहुने बताउँदै फौजदारी न्यायलाई बलियो बनाउन गहन अध्ययन र विज्ञानका महत्वपूर्ण पक्षमा लगानी गर्न आवश्यक भएको बताए । 

    न्यायाधीश श्रेष्ठले विज्ञान मरेको समयमा न्याय हाँस्न नसक्ने भनी विज्ञान र प्रविधिको महत्व दर्साउँदै प्रत्येक घटनामा संलग्न व्यक्तिको पहिचान गर्न पर्याप्त प्रमाण सङ्कलन गर्नुपर्नेमा जोड दिए । मुख्यसचिव लीलामणि पौड्यालले अपराध अनुसन्धानमा विधि विज्ञानलाई छुट्टै व्यवस्थापनमा राख्न आवश्यक रहेको जनाउँदै अनुसन्धान गर्ने क्षमताको विकास तल्लो तहसम्म पु¥याइ प्रहरी वैज्ञानिक विधिमा जानुपर्ने बताए । 

उनले साधन स्रोतको अभावका बाबजुद प्रहरीले काम गर्नु परिरहेको समेत जनाए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले स्थापनाकालदेखि नै अपराध अनुसन्धान गर्दै आएको नेपाल प्रहरीलाई समयानुकूल आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न जरुरी रहेको बताए ।

    अपराध अनुसन्धानमा प्रहरीलाई प्रविधि र साधनस्रोतले सम्पन्न बनाउन, प्रहरीको क्षमता विकास गर्न ‘अपराध अनुसन्धान तीनवर्षे कार्ययोजना’ ल्याइएको आईजीपी अर्यालले उल्लेख गरे । अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले प्रविधिको विकास तथा खुल्ला सीमानाका कारण जटिलता थपिएको चर्चा गर्दै क्षेत्रीयस्तरसम्म पोलिग्राफी सेवालगायत वैज्ञानिक उपकरण पु¥याउने उद्देश्यले काम भइरहेको जानकारी दिए ।  

Post a Comment

0 Comments