Subscribe Us

बन्द गराउने ७५ पक्राउ,छापामार शैलीमा आगजनी र तोडफोड

काठमाडौँ । जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौँबाट र एकजनालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । नियन्त्रणमा लिइएका बन्दकर्तालाई आवश्यक छानबिनपश्चात् मात्र रिहा गरिने प्रहरीले बताएको छ ।

माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि काठमाडौं सबै ठाउँमा प्रहरीले सादा पोसाक र पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर टेकुका डीएसपी दिनेश आर्चायले बताए । बन्दकर्ताले सुक्रवार बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड गरेको बाहेक सामान्य अवस्था रहेको प्रहरीले बताएको छ ।

बन्दको त्रासले उपत्यकामा फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका कारण जनजीवन प्रभावित बनेको छ । बन्दका कारण उपत्यकामा पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्था, कार्यालयसमेत प्रभावित भएका छन् । 

Post a Comment

0 Comments