Subscribe Us

नियोजित रुपमा राखिएका गुन्डाहरुबाट अन्धाधुन्ध आक्रमणः थापा

संविधानको मस्यौदामा सुझाव संकलनको क्रममा धर्मनिरपेक्षताको खारेजि तथा हिन्दुराष्ट्रको पक्षमा राप्रपा नेपालले देशव्यापी रुपमा शान्तिपुर्ण दवावमुलक कार्यक्रम संचालन गर्दै आएको सर्वविदितै छ। यसैक्रममा आज पनि देशभर शान्तिपुर्ण प्रदर्शन भैरहेको थियो। पार्टीको निर्णय अनुसार सुझाव संकलन कार्यमा पार्टीका सभासदहरु सहभागी थिएनन्। म पनि सुझाव संकलनमा सहभागी भईन। तर, पार्टीको कार्यक्रमलाई समन्वय र अनुगमन गर्ने सिलसिलामा गृहनगर हेटौडामा नै थिए।

यसै बिच सुझाव स्थल पुगेका पार्टीका साथीहरुलाई बैठक कक्षमा प्रवेश गर्नबाट रोक लगाईए पछि सामान्य झडप भएको थियो। तत्पश्चात बैठक कक्षबाट चक्कु र खुकुरि बोकेका केही व्यक्तिहरुले आक्रमण गर्न थालेपछि घाईते भएका जिल्ला अध्यक्ष नवराज बिष्टले आफु लगायत एक दर्जन कार्यकर्ता घाईते भै हस्पिटल पुगेको जानकारी दिए पछि स्थिति सामान्य पार्ने उद्देश्यका साथ म सुझाव स्थल पुगें। तर, त्यहाँ मलाई समेत प्रवेश गर्न अवरोध गरियो। 

कार्यकर्ताहरुको प्रयासमा म जसै तसै बैठक कक्षमा पुगें। म मंच तर्फ जाँदै गर्दा हठात त्यहाँ भित्र नियोजित रुपमा राखिएका गुन्डाहरुबाट अन्धाधुन्ध आक्रमण शुरु भयो। त्यसक्रममा पार्टीका सभासद गणेश थापा लगायत दर्जनौं कार्यकर्ताहरुलाई रक्ताम्य हुने गरी आक्रमण गरियो। परिस्थिति अत्यन्त तनावपूर्ण भयो। सुझाव स्थल रणमैदानमा परिणत भयो। मलाई समेत टाउकोमा चोट लागेको छ। 

वास्तवमा राप्रपा नेपालको प्रदर्शन कुनै दल वा सरकारको विरोधमा थिएन। त्यो नितान्त धर्मनिरपेक्षताको खारेजि र हिन्दुराष्ट्रको पक्षमा गरिएको शान्तिपुर्ण दवावमुलक कार्यक्रम थियो। यसबाट कसैले चिन्तित र भयभित हुनु पर्ने आवश्यक थिएन। तर शान्तिपुर्ण प्रदर्शनमा सुनियोजित ढङ्गले प्रहरीबाट दमन र प्रहरीको संरक्षणमा केही गुन्डाहरुबाट आक्रमण गरियो। 

आज हेटौंडामा भएको आक्रमण तथा देशको बिभिन्न भागहरुमा भएका दमन केवल राप्रपा नेपाल विरुद्ध होइन। देशभर हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरबाट अत्तालिएकाहरुले हिन्दुत्वको एजेण्डालाई दवाउन गरिएको खतरनाक षडयन्त्र हो भन्ने स्पष्ट हुन्छ। त्यसर्थ, दमनको षडयन्त्र गर्ने सम्बन्धित सबैलाई तत्काल कारबाही गरिनु पर्दछ। 

अन्यथा धर्मनिरपेक्षताको खारेजि तथा हिन्दुराष्ट्रको स्थापनाको संघर्ष अझै शसक्त ढंगबाट गर्न हामी बाध्य हुने छौं। यस सम्बन्धमा ठोस कारवाही नभएसम्म स्वस्फुर्त रुपमा शान्तिपुर्ण संघर्ष जारी राख्न पार्टीको सबै तहका साथीहरुमा आह्वान गर्दछु। साथै हिन्दुराष्ट्र पुनर्स्थापनाको यो अभियानलाई साथ दिन सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु।

Post a Comment

0 Comments