Subscribe Us

तातोपानी–खाडीचौर सडक खुलाउँदै सेना र चिनियाँ टोली

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको तातोपानी–खाडीचौर सडक खण्ड नेपाली सेनाको समन्वयमा खुलाउँने काम सुरु भएको छ । गत बैशाख १२ गते गएको भूकम्पपछि अबरोध भएको करिब ३७ किमी सडकखण्ड खुलाउने कार्य शनिवारबाट सुरु गरिएको हो । 

सडक खण्डको विभिन्न स्थानमा ठूला ठूला पहिरो आई अवरुद्ध भएपछि नेपाल सरकारको निर्णयअनुसा सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरीका इन्जिनियरिङ टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायसमेतको समन्वयमा राजमार्ग खुलाउन थालिएको हो । चिनियाँ सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायका संयुक्त टोली परिचालन भएका छन् । राजमार्ग खुलाउन चीनबाट १९ इन्जिनियरिङ र २० सपोर्टिङ इक्युप्मेन्टको प्रयोग भएकोे छ । 

नेपाली सेनाले उक्त कार्य अवधिभर समन्वयात्मक ढङ्गले सुरक्षा प्रदान गर्ने गरी करिब १५–२० दिनभित्र सम्पूर्ण पहिरो हटाई बाटो सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाल–चीनबीच सन् १९५५ अगस्ट १ मा स्थापित कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सवका अवसरमा थालिएको सो कामले अरनिको राजमार्ग खुलाएर अवरुद्ध व्यापार र आवागमन सञ्चालन गर्नाका साथै दुई राष्ट्रबीच रहँदै आएको मित्रवत् सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Post a Comment

0 Comments