Subscribe Us

प्रहरी सेटिङमा फस्टाउँदो जुवा अखडा,
एआईजी श्रेष्ठको नाम लिदै जुवाडे दलाल

काठमाडौँ । महानगरीय प्रहरी प्रमुख एआइजी विज्ञानराज शर्माले डिएसपी राजकुमार सिलवालको नेतृत्वमा एउटा सिभिल टोली बनाएका छन् । जसको काम प्राप्त सूचनाका आधारमा गैरकानुनी कार्य गर्ने ठाउँमा छापा मार्नु हो । यो टोलीले विभिन्न डिस्को, बारदेखि केही जुवा अखडाहरूमा पनि छापा मारेको चर्चा कहिलेकाँही आउने गर्छ ।सिलवालको टोलीले डिस्कोबाट गुण्डालाई पनि  पक्राउ गर्न सफल भएको थियो ।

 तर विडम्बना मेट्रोको सिभिल टोलीलाई समेत सेटिङ मिलाइसकिएको भन्दै सामाखुसीमा पेशेवर जुवा खेलाइएको छ । जुवा सञ्चालकले मेट्रोको सेटिङ भनी उनै डिएसपी राजकुमार सिलवालको टोलीलाई भनेका हुन् वा अन्य कसैको टोलीलाई मिलाएका हुन् त्यो त सञ्चालकलाई नै थाहा होला तर पनि मेट्रोको सिभिल टोलीसँग सेटिङ भइसकेको भन्दै सो जुवा अखडा दिनहुँ सञ्चालन भइरहनु र प्रहरीले छापा नहानेपछि सेटिङ रहेछ कि भन्ने चर्चा पनि अहिले चल्न थालेको छ । 

सामाखुसीबाट म्हैपी मार्ग लाग्दा आउने पहिलो चोक जुन चोकबाट एउटा बाटो म्हैपी लाग्छ र अर्को बाटो सुकुम्बासी टोल । त्यसै चोकनजिक नेपाली सिनेमाका कलाकार राजन बस्नेतको घर छ । तिनै राजन बस्नेत पछि सरस्वती क्याम्पसको प्रमुखसमेत भए । उनैको घरको छेवैमा जहाँ ए वन स्टोर पनि रहेको छ, त्यसको बायाँपट्टिको दोस्रो सेतो घर हो, जहाँ दैनिक ठूलो मात्रामा जुवा सञ्चालन हुँदै आएको छ । 

झुमा फिल्मका निर्माता एवम् मनाङ मस्र्याङ्दी फुटबल क्लबसँग आबद्ध रहेका जिमी गुरुङको घर हो त्यो । सो घरमा भाडामा बस्छन् नुवाकोटका महेन्द्र श्रेष्ठ । तिनै भाडामा बस्ने महेन्द्र श्रेष्ठले यसरी पेशेवररूपमा जुवा खेलाउँदै आएका छन् । उक्त जुवा अखडामा हाल अञ्चल प्रहरी कार्यालय सगरमाथाका प्रमुख रहेका एसएसपी रमेश भट्टराईसमेतका बहाल एवम् अवकाशप्राप्त प्रहरी अधिकृतहरूसमेत सो जुवा अखडामा खेल्न जान्थे । केही समय रोकिएको सो जुवा अखडा पुनः नियमितरूपमा सञ्चालन हुँदै आएको छ । 

यस जुवा अखडाका सञ्चालक श्रेष्ठले म्हैपी मन्दिरमा रहेको प्रहरी विटका प्रहरीदेखि लैनचौर वृत्तका प्रहरीलाई समेत रकम दिएर सेटिङ मिलाई जुवा सञ्चालन गरिरहेको बताइन्छ । छिमेकीहरूले बारम्बार प्रहरी वृत्त लैनचौरमा सो जुवा अखडाका बारेमा जानकारी गराउँदासमेत प्रहरीले छापा नमारेपछि सेटिङमा जुवा सञ्चालन भएको प्रष्ट हुने छिमेकीहरू बताउँछन् भने सञ्चालकले मेट्रोको सिभिल टोलीलाई समेत मिलाइसकेको भनेपछि अब कसले छापा मान्ने भन्ने प्रश्न स्वयम् छिमेकीहरूको छ ।
एआइजी वीरेन्द्रको नाममा जुवा
त्यसैगरी प्रशासन विभागका एआइजी वीरेन्द्रबाबु श्रेष्ठको नाम भजाउँदै र लिँदै पेशेवररूपमा जुवा खेलाउने काम गोंगबुमा पनि हुँदै आएको छ । गोंगबु चोकनजिक रिंगरोडको ग्रीनबेल्टमा शिव मन्दिर रहेको छ । सो शिवमन्दिरभित्र सय मिटर अगाडि गएपछि एउटा चोक आउँछ, सो चोकबाट पश्चिमतर्फ २ सय मिटर गएपछि बज्र रेष्टुरेन्ट एन्ड गार्डेन बोर्ड झुन्ड्याइएको रेष्टुरेन्ट देख्न सकिन्छ ।

 सोही रेष्टुरेन्टमा पेशेवररूपमा जुवा खेलाउने काम हुँदै आएको छ । सो जुवा अखडा नेपाल प्रहरीका पूर्वडिएसपी गोविन्द पाठकको घर नजिकै रहेको छ । उक्त रेष्टुरेन्ट र जुवा सञ्चालन गर्ने व्यक्ति गोरखाका श्रेष्ठथरका हुन् । गोरखाको श्रेष्ठ भएकै कारण र एआइजी वीरेन्द्रबाबु श्रेष्ठ पनि गोरखाका नै भएका र उनको पनि सोही रेष्टुरेन्ट नजिकै घर भएका कारण पनि उनको सम्बन्ध पनि होला । उनै एआइजी वीरेन्द्रबाबु श्रेष्ठको नाम भजाउँदै अहिले सो रेष्टुरेन्टमा खुलेआम जुवा सञ्चालन हुँदै आएको छ । प्रहरीले बेलावखत रेष्टुरेन्ट सञ्चालन गर्ने कहिले बाबु त कहिले छोरालाई पनि बेलावखत पक्राउ नगरेको होइन । तर, केही वर्षयता भने पक्राउ गरेको छैन ।

 कारण एआइजी श्रेष्ठलाई यी रेष्टुरेन्ट र जुवा अखडा सञ्चालन गर्नेहरूले दाइ भन्ने एकातर्फ त अर्कोतर्फ सो जुवा अखडाको सूचना महाराजगञ्जस्थित प्रहरी वृत्तले नपाउने त छँदैछ सबै कुरा थाहा पाएको नयाँ बसपार्कस्थित प्रहरी प्रभागका प्रमुखले सो जुवा अखडाबाट मासिक रकम लिएपछि कसले पक्राउ गर्ने ? एकातर्फ सो प्रभागका निरीक्षक देवीप्रसाद पौडेल (तीन साता अघि त्यहाँबाट हटी सिंहदरबार वृत्तमा कार्यरत) र सई निर्मल ज्ञवाली उक्त रेष्टुरेन्टमा गएर निःशुल्क मापसे गर्न त पाउँथे नै उल्टो मासिक रकम लिएपछि त्यहाँ कसले छापा मार्ने ? त्यसै भएर पनि सो जुवा अखडा नियमितरूपमा सञ्चालनमा आइरहेको छ । महाराजगञ्ज प्रहरी वृत्तबाट हाल सरुवा भएका डिएसपी सानुराम भट्टराईले आफू सरुवा हुने भएपछि बसपार्कका निरीक्षक देवीप्रसाद पौडेलको ठाउँमा आफ्नै वृत्तमा कार्यरत राजकुमार श्रेष्ठलाई पठाएका थिए ।

 राजकुमार श्रेष्ठ पनि त्यत्तिकै विवादित र बदनाम पात्र हुन् । उनी रसुवामा कार्यरत रहँदा रक्तचन्दनको तस्करीमा उनको नाम बारम्बार जोडिँदै आएको थियो भने सई निर्मल ज्ञवाली वीरगञ्जबाट महाराजगञ्ज वृत्तमा हाजिर भएको केही दिनमा नै डिएसपी सानुराम भट्टराईले उनलाई बसपार्कमा पठाएका हुन् । राजनीतिकरूपमा सानुराम भट्टराई एमालेको झण्डा बोक्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् भने निर्मल ज्ञवाली काँग्रेसको झण्डा बोक्ने प्रहरीका रूपमा चिनिन्छन् । 

तर पैसाका कारण ती सबै कुरा बिर्सिएर भट्टराईले ज्ञवालीलाई बसपार्क पठाए । अहिले पनि महाराजगञ्ज वृत्तमा चर्चा छ कि भट्टराईले ज्ञवालीसँग मासिक रकम नै तोकेका थिए । भट्टराई प्रहरीमा पैसा खाने अधिकृतका रूपमा चिनिन्छन् सिंहदरबारको प्रहरी निरीक्षक हुँदादेखि नै । उनले महाराजगञ्ज वृत्तको प्रमुख हुँदा डेढ वर्ष मिसनबाट प्राप्त हुने रकमजति कमाएर लगेको त सिनियर अधिकृतहरू नै बताउँछन् । हुन पनि उनले सुकेधाराको प्रहरी विटबाट समेत रकम लिने गरेको चर्चा वृत्तमा अहिले पनि छ भने बसपार्कबाट किन छोड्थे ।

 सई निर्मल ज्ञवाली लामो समय उपत्यकाका विभिन्न सामुदायिक केन्द्रहरूमा बसेका प्रहरी हुन् । त्यसअन्तर्गत उनी नयाँ बसपार्कमा पनि बसेका थिए । भूकम्पले गर्दा हाल बसपार्कको व्यवसायमा केही कमी आए तापनि बसपार्क अवैध कार्य गर्नेहरूको अखडा हो भन्ने कुरामा कुनै विवाद छैन । त्यहाँका प्रायः अधिकांश होटल, लज र गेष्टहाउसहरूमा अवैधरूपमा हुण्डीको कारोवारदेखि डलरलगायत अन्य विदेशी मुद्राको समेत कारोवार हुने गर्दछ भने अधिकांश त्यस्ता होटल, लज र गेष्टहाउसहरूमा यौनव्यवसाय पनि हुने गर्दछ ।

 यी गैरकानुनी कार्य गर्नका लागि प्रहरीको संरक्षण नभई सम्भव छैन । त्यसैले पनि त्यस्ता गैरकानुनी अवैध कार्य गर्ने सञ्चालकहरूले नयाँ बसपार्कस्थित प्रभागका प्रमुखदेखि दोस्रो तहका प्रहरीलाई मासिक रकम नै बुझाउने गर्दछन् । जुन प्रचलन अहिले पनि निरन्तररूपमा चलिरहेकै छ । यी सबै कुराको जानकारी ज्ञवालीले नयाँ बसपार्कको सामुदायिकमा हुँदा नै जानकारी पाएकै कारण महाराजगञ्ज वृत्तमा हाजिर हुने बित्तिकै डिएसपी भट्टराईसँग सेटिङ मिलाई उनी बसपार्क काजमा गएका हुन् ।

 वीरगञ्जमा कार्यरत रहँदा पनि सई ज्ञवाली ज्यादै बदनाम र विवादित भएका थिए जुन कुरा पत्रपत्रिकामा पनि सार्वजनिक भइसकेको छ । हाल महाराजगञ्ज वृत्तमा आएका डिएसपी विश्वमणि पोखरेलले अब यस्ता बदनाम पात्रहरूलाई संरक्षण गर्छन् कि लखेट्छन् वा वृत्तमा तान्छन् त्यो भने हेर्न बाँकी नै छ । चाहे त्यो सुकेधाराका असई नै हुन् या बसपार्कका सई ज्ञवाली वा निरीक्षक श्रेष्ठ नै किन नहुन् । बिष्णु घिमिरे

Post a Comment

0 Comments