Subscribe Us

सभासद्को हातखुट्टा प्रहरीले भाँचेकै हुन त ?

काठमाडौँ । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुन पुगेका छन् । 

दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । 

 घाईते हुनेमा सभासद्हरूमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत छन् । 

उनिहरु मध्य अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । घाईतेहरुको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरीबाट ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गरेका छन् । 

उनले लोकतन्त्रमा अधिकार प्राप्तिका लागि शान्तिपूर्ण विरोध तथा सभा गर्न पाइने राजनीतिक अधिकार भएको भएपनि आफूहरूमाथि भएको प्रहरी दमनको निन्दा गरेका थिए । अधिकारकर्मी सरु सुनारले घाइतेको स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गर्दै दलितमैत्री संविधानका लागि आफूहरूले विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गरेको र सोही अन्तर्गत आज विरोध प्रदर्शन गरिएको बताईन् । तर प्रहरीले भने दमन नगरेको जिकीर गर्दै सभासद्बाटै प्रहरीमाथी आक्रमण भएको दाबी गरेको छ । 

Post a Comment

0 Comments