Subscribe Us

प्रहरीको अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र नवलपरासीमा

परासी साउन । नवलपरासीको रामनगरस्थित जर्गाहमा शनिवारबाट नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको छ । प्लेन अपहरण, संसद्लगायत महत्वपुर्ण क्षेत्रको सुरक्षा, दैवी प्रकोपका बेला सुरक्षा मजबुत बनाउन जनशक्ति तयार गर्ने उद्देश्यले सो स्थानमा नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको हो ।

    सो तालिम केन्द्रको एक कार्यक्रमबीच शनिवार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गर्नुभयो । लामो समयसम्म प्रहरी प्रधान कार्यालयमा रहेको सो केन्द्र हालै नवलपरासी ल्याइएको थियो । त्यस्तै प्रहरी महानिरीक्षक अर्यालले हतियार हेन्डलिङ पहिलो समूहको तालिम पनि उद्घाटन गर्नुभयो ।

   तालिममा पाँचै विकास क्षेत्रका विभिन्न प्रहरी इकाइबाट दुईजना प्रहरी सहायक निरीक्षक, पाँचजना हवल्दार, ४३ जना प्रहरी जवान गरी ५० जना सहभागी रहने तालिममा नेपाल प्रहरीले प्रयोगमा ल्याएका सबै परम्परागत तथा आधुनिक हतियारसम्बन्धी प्रशिक्षण प्रदान गरिने लक्ष्य रहेको प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक विक्रम सिंह थापाले बताउनुभयो ।

   चौँतीस बिगाहा क्षेत्रफलमा फैलिएको उक्त तालिम केन्द्रको सो जग्गा २०७१ साल पुस १४ गते नेपाली सेनाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । तत्कालीन माओवादी लडाकु चौथो डिभिजनको सहायक शिविरको रूपमा रहेको उक्त स्थानमा नेपाल प्रहरीको महा विश्वविद्यालय (तालिम केन्द्र) को औपचारिक शुभारम्भ गरिएको हो । रासस

Post a Comment

0 Comments