Subscribe Us

यि हुन बैंक डुबाउने कर्मचारी,
३४ करोड ठगेर युरोपमा रमाउने सपना

 काठमाडौं । बैंककै कर्मचारीहरूको मिलेमतोमा कृषि विकास बैंक स्वयम्भू शाखाबाट ३४ करोड रुपैयाँ हिनामिना भएको खुलासा भएको छ। रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहारीकोे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार बैंकका ९ जना कर्मचारीलाई पक्राउ पछि सार्वजनिक गरेको छ।

 पक्राउ पर्नेमा बैंकको स्वयम्भू शाखाका प्रमुख सुमन भुजेल, लेखापाल गीता पन्त र शाखा अधिकृत केदारप्रसाद गौतम, सम्झना पोखरेल जेनी श्रेष्ठ, भरत बहादुर बाँनिया, सूर्य बबहादुर लिम्बु, सन्दीप गुप्ता र राम कुमार कुम्हार छन्। कर्मचारीकोे मिलोमतोमा योजनाबद्ध तरीकाबाट बैंक ठगी भएको सिआईबीले खुलासा गरेको छ ।

 योजना अन्र्तरगत पन्त र गौतमले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरुमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफ्नो समूहले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए। उनीहरुले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोढ ८२ लाख ५ सय ७८ रुपैयाँ निकालेका सिआइबीले खुलासा गरेको छ । कृषि बिकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा २०७१ असोजमा ४ जना मानिसहरुले काल्पनिक नाममा कीर्ते कागजात पेश गरी रेमिट खाता खोलेका थिए।

लेखापाल गीता पन्त र शाखा अधिकृत केदार प्रसाद गौतमको क्रमश: In putter र Authorizer को पासवर्ड प्रयोग गरी रेमिटेन्सको रुपमा देश भित्रका विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाएका थिए।
 
अनियमित तरिकाले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको उपत्यकाका विभिन्न ७ शाखामा त्यसैगरी काल्पनिक नाममा कीर्ते नागरिकता प्रमाण-पत्र पेश १० वटा खाता खोलेका थिए।
कृषि विकास बैंक बाहेकका अन्य ७ वटा बैंकहरुमा त्यसैगरी खोलिएका नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरेको अनुसन्धानबाट थाहा भएको सिआईबीले जनाएको छ।
 
बैंकलाई तेत्तीस करोड बयासी लाख पाँच सय अठहत्तर रुपैंया बयालीस पैसा हानी-नोक्सानी पुर्‍याएको सिआईबीले ठहर गरेको छ।
 
पक्राउ परेका मध्ये जेनी श्रेष्ठ र सम्झना पोखरेल प्रतिवादी केदार प्रसाद गौतमका श्रीमतीहरु, गीता पन्त स्वयम्भू शाखाकी लेखापाल, भरत बहादुर बानियाँ सोही शाखाका शाखा प्रबन्धक, सुमन भुजेल प्रतिवादी केदार प्रसाद गौतमले कसूर गरी प्राप्त गरेको मध्येको रकम लुकाउन-छिपाउन सहयोग गर्ने सहयोगी, सूर्यबहादुर लिम्बु नक्कली खातावाल बनी ६ करोडभन्दा बढी भुक्तानी लिएका व्यक्ति, सन्दिप गुप्ता र राम कुमार कुम्हार प्रतिवादी केदार प्रसाद, गौतमले कसूर गरी प्राप्त गरेको मध्येको रकम हुण्डी मार्फत भारत पठाउन सहयोग गर्ने सहयोगीहरु रहेको प्रहरीले जनाएको छ।
 
प्रतिवादीहरु केदार प्रसाद गौतम, जेनी श्रेष्ठ, सम्झना पोखरेल र सुर्य बहादुर लिम्बुलाई जिल्ला झापा, काकडभित्ता स्थित नेपाल-भारत सीमा इलाकाबाट तथा अन्य प्रतिवादीहरुलाई उपत्यकाका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको बताएको छ।
 
अनुसन्धानबाट खुलेका तथ्यहरु:
 
क. नक्कली खाताहरु, खातावाल तथा रकम भुक्तानी सम्बन्धी
 
कृषि विकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा कार्यरत शाखा अधिकृत केदार प्रसाद गौतम र रामेछाप जिल्ला डडुवा गा.वि.स.वडा नं. १ घर भई हाल भारत बस्ने राजिब थापा भन्ने कृष्णहरि थापाको आपराधिक योजना अनुसार केदार प्रसाद गौतम कार्यरत रहेको स्वयम्भू शाखामा २०७१ असोज महिनामा केही दिनको अन्तरालमा ४ वटा नक्कली खाता खोलिएको ।
 
योजना अनुसार उल्लेखित खाताहरुमा अनियमित तवरले रकम जम्मा गर्ने, ट्रान्सफर गर्ने जिम्मेवारी केदार प्रसाद गौतमले तथा खातावालहरुको बन्दोबस्त गर्ने जिम्मेवारी कृष्णहरि थापाले एकापसमा बाँडफाड गरेको ।
 
कृष्णहरि थापा विगत १४ बर्षदेखि भारतमा बसोबास गरी त्यहींको रासनकार्ड धारी समेत भएकाले निजैले 
भारतमा बसोबास गर्ने गरेका नेपाली मूलका व्यक्तिहरु पहिचान गरी खातावाल बन्न प्रेरित गरेको ।
 
पछि अनुसन्धानको क्रममा खातावालहरु Trace नहुन् भन्नका लागि सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी नक्कली नागरिकता प्रमाण-पत्र खडा गरी KYC Form मा झूठो विवरण भरी भराई बैंकमा खाता खोलाएको ।
KYC Form मा प्रयोग भएको हस्तलेखन प्राय एउटै व्यक्तिको रहेको, सम्पर्क नंबर र अस्थायी ठेगाना समेत एउटै रहेको, लगभग एकै समयमा खाता खोलिएको ।
 
नागरिकता प्रमाण-पत्रमा सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण झूठो देखिएको, केही नागरिकता प्रमाण-पत्रको जारी मिति समेत मिल्न गएको, नागरिकतामा उल्लेखित गा.वि.स. वास्तविक रुपमा अस्तित्व मै नरहेको, जारी भएको भनिएको सम्बन्धि जिल्ला प्रशासन कार्यालयसँग बुझ्दा तहाँबाट जारी नभएको पाइएको ।
 
केदार प्रसाद गौतम र गीता पन्तको पासवर्ड प्रयोग गरी उल्लेखित खाताहरुमा देश भित्रकै विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाई बदनियत तवरले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मंगलबजार, न्यूरोड, रत्नपार्क लगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रे लगायतका अन्य ७ वटा बैंकहरुमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरी चेक मार्फत रकम भुक्तानी लिई बैंकलाई कुल रु. ३३,८२,००,५७८/४२ ( तेत्तीस करोड बयासी लाख पाँच सय अठहत्तर रुपैंया बयालीस पैसा) भुक्तानी लिई बैंकलाई हानी-नोक्सानी पुर्‍याएको ।
 
स्वयम्भू शाखामा खोलिएका ४ वटा नक्कली खाताका अतिरिक्त कृषि विकास बैंक कै उपत्यकाका रत्नपार्क, पुतलीसडक, मंगलबजार, सातदोबाटो लगायतका ७ वटा शाखाहरुमा विभिन्न १० वटा नक्कली खाताहरु खोलिएको ।
 
यसैगरी मेगा, सिभिल, नेपाल इन्भेष्टमेन्ट, लुम्बिनी, माछापुच्छ्रे लगायतका ७ वटा बैंकहरुमा पनि नक्कली खाताहरु खोली कृषि विकास बैंकबाट जारी भएको चेक ECC (Electronic Cheque Clearance) मार्फत रकम भुक्तानी लिएको 
 
खातावालले रकम भुक्तानी लिइसकेपछि समझदारी अनुरुपको केही रकम खातावाललाई दिई केदार प्रसाद गौतम र कृष्णहरि थापाले बाँकी रकम आफुहरुले बाँडफाड गर्ने गरेको ।
 
२०७२ असार १० गते प्रतिवादीहरु केदार प्रसाद गौतम, राजिब थापा भन्ने कृष्णहरि थापा, विभिन्न खातावालहरु बैंकलाई लगभग रु. ३४ करोड नोक्सानी गराई फरार भएको ।
 
 
ख.  अनुसन्धानलाई Mislead गर्न प्रतिवादी केदार प्रसाद गौतमले अबलम्बन गरेका उपायहरु
 
केदार प्रसाद गौतमले आफ्नी श्रीमती सम्झना पोखरेललाई अमेरिकी डि.भी. चिठ्ठा परेको र केही समयपछि कार्यालयबाट राजिनामा गरी सपरिवार अमेरिका जाँदैछौं भनी आफु कार्यरत स्वयम्भू शाखा, कृषि विकास बैंकको मुख्य कार्यालयका सहकर्मी तथा आफ्ना नजिकका आफन्तहरुलाई जानकारी गराएको ।
 
योजना मुताबिक नै २०७१ चैत्रमा श्रीमती सम्झना पोखरेल र छोराछोरी समेत अमेरिका तर्फ उडेको भनी हल्ला चलाई भारतको पश्चिम बंगाल राज्यको दार्जलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहींको स्कूलमा भर्ना गरी बसोबासको व्यवस्था मिलाएको ।
 
राजिव थापा भन्ने कृष्णहरि थापाको सहयोगमा आफुले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको  र त्यसैको आधारमा बैंक खाता समेत खोलेको तथा जग्गा जमिन समेत खरीद गरेको हुनसक्ने ।
 
श्रीमतीलाई भारतमा पठाएपछि आफु लाजिम्पाट, काठमाडौंमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बसोबास गर्ने गरेको ।
 
पोर्चुगलको Resident Card धारी झापाकी जेनी श्रेष्ठसँग विवाह गरी तेज बहादुर थापा कै नामको राहदानी मार्फत युरोप जाने तयारीमा रहेको तर आफन्तजन र साथीहरुलाई आफु अमेरिका जाँदैछु भन्ने सन्देश दिन आफ्नो तथा श्रीमतीको नाममा रहेको चल, अचल सम्पत्ति बिक्री गरेको, सापटी लिएको रकम केही फिर्ता गरेको ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु तथा लेखनदास समेतको कीर्ते कागजात खडा गरी तेज बहादुर थापाको नाममा नागरिकता प्रमाण-पत्र र राहदानी प्राप्त गरी आफुलाई केदार प्रसाद गौतमबाट तेज बहादुर थापामा परिणत गरेको ।
 
तेज बहादुर थापा कै नाममा प्रतिवादी केदार प्रसाद गौतमले सेन्चुरी बैंक, भक्तपुर शाखामा खाता खोली रु. ३५ लाख भन्दा बढी रकम जम्मा गरेको ।
 
ग.    कसूर गरी आर्जन गरेको रकम व्यवस्थापन 
 
खातावालले भुक्तानी लिएको रकमको व्यवस्थापन गर्न केदार प्रसाद गौतम निरन्तर जसो काठमाडौं-भद्रपुरको उडान मार्फत पूर्व जाने तथा त्यहींबाट भारत, सिलिगुढी जाने गरेको ।
 
राजिब थापा भन्ने कृष्णहरि थापा पनि रकमको व्यवसस्थापन गर्न राम कार्कीको नाममा नियमित जसो नै काठमाडौं-भद्रपुरको उडानबाट पूर्व गई त्यहीबाट भारत, सिलिगुढी जाने गरेको ।
 
प्रतिवादी केदार प्रसाद गौतम तथा निजकी श्रीमती सम्झना पोखरेलले केही जग्गा-जमिन सुमन भुजेलको नाममा पास गरिदिएको, ठूलो रकम सापटी दिएको तथा आफ्नो गाडी समेत निजै प्रतिवादी सुमन भुजेलको नाममा नामसारी गरिदिएर निज सुमन भुजेल मार्फत कसूर गरेको सम्पत्ति लुकाउने-छिपाउने गरेको ।
 
प्रतिवादी केदार प्रसाद गौतमले विशालबजार स्थित ओम गोल्ड हाउस, पसल नं १४, का प्रोप्राइटर सन्दिप गुप्ता तथा भारत राजस्थान निवासी राम कुमार कुम्हार मार्फत पटक-पटक गरी रु. ३ करोड हुण्डी गरी भारत, सिलिगुढी पठाएको ।
 
प्रतिवादी सन्दिप गुप्ताले रु. ३५ लाख भन्दा बढी रकम तेज बहादुर थापाको नामको सेन्चुरी बैंकमा जम्मा गरी कसूरबाट प्राप्त सम्पत्ति लुकाउन-छिपाउन सहयोग गरेको ।
 
यसका अतिरिक्त प्रतिवादी केदार प्रसाद गौतमको खर्चालु जीवनशैली, गरगहना खरीद, सापटी लिएकाहरुलाई फिर्ता गरेको, कर्जा तिरेको आदि कारणबाट केही रकम मासिसकेको अनुमान गरिएको ।

Post a Comment

0 Comments