Subscribe Us

दलाल र गुण्डाको सम्पत्ति खोज्दै अपराध महाशाखा

काठमाडौं । पछिल्लो समय पैसाको लागि गुण्डागर्दी हुने गरेको निष्कर्षसहित महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय टेकुले राजधानीका कुख्यात गुण्डा र दलालहरुको सम्पत्तिमाथि निगरानी गर्न थालेको छ । 
 राजधानीका अधिकांश गुण्डाहरुले अवैध कामबाट अकुत सम्पत्ति थुपार्दै आफूलाई समाजसेवी देखाउन लाखौं नगद दान दिने र विभिन्न कार्यक्रममार्फत समाजसेवी बन्ने कदम देखिन थालेपछि अपराध महाशाखाले यस्तो अभियान थालेको हो । 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले चर्चित पाँच डनको अकुत सम्पत्ति खोजेर सम्पत्ति सम्वन्धि मुद्दा चलाएता पनि दर्जनौं गुण्डाहरुको हकमा भने लागू हुन सकेको छैन । राजधानीका कुख्यान दर्जनौ गुण्डाहरुको सम्पत्ति अब अपराध महाशाखाले छानविन गर्ने भएको हो । प्रहरीलाई प्रयोग गरेर रातारात कमाउने दलालहरुलाई समेत अपराध महाशाखाले निगरानी राख्ने बताएको छ । गुण्डालाई प्रयोग गरेर केहि नेता तथा प्रहरीले नै धन्दा चलाएको प्रमाण समेत फेला पारेको अपराध महाशाखाले बताएको छ । 

महाशाखाका एसएसपी सर्बेन्द्र खनालले भन्छन्,–‘अब गुण्डासँग व्यापारको नाममा धन्दा चलाउने नेता र प्रहरीको अकुत सम्पत्तिमाथि समेत छानविन हुन्छ ।’ सीआईबीले दुई दर्जन अन्य गुण्डाको समेत अकुत सम्पत्तिको बारेमा बयान लिने काम गरेता पनि राजनीतिक दबाबका कारण अनुसन्धान अगाडि बढ्न सकेको थिएन । 

स्रोतका अनुसार सीआईबीले छानबिनको दायरामा  मिटरव्याजको धन्दा चलाउने बिरेन्द्रलाल श्रेष्ठ, कबिन शाक्य, अरुण सेडाई, गुण्डाका नाईके तेजेन्द्र गुरुङ, काभ्रेली समूहका छोटा डन बिष्णु लामा, दावा लामा, अजय श्रेष्ठ, बालाजुका बागबहादुर लामा, शशि श्रेष्ठ, समिरमान बस्नेत लगायका अबैध सम्पत्तिमाथि छानविन थालेको थियो । तर
पाँच डनको मुद्दा मात्र सम्पत्ति शुद्धीकरण विभागमा दर्ता भएको थियो । 

अबैध सम्पत्ति छानबिन गर्ने निकाय सम्पत्ति शुद्धीकरण बिभागले अनुसन्धान अधिकृत नतोकेका कारण अन्य डनको सम्पत्ति छानविन नभएको सीआईबीले बताउँदै आएको छ । स्रोतका अनुसार तत्कालिन बिभागका निर्देशक चुडामणी शर्माले अनुसन्धानको दायरामा ल्याएका अकुत सम्पत्तिका मालिकहरुसँग ठूलै डिल गरेका कारण अन्यको फाइल अगाडि नबढेको हो । 

अगामी दिनमा ति फाईल समेत महाशाखाले  पुनः खोतल्ने भएको छ । महाशाखाले पहिलो चरणमा इन्काउन्टरमा मारिएका डन कुमार घैंटेको सम्पत्ति छानविन गर्न थालेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गुण्डागर्दीबाट घैंटेले २० करोड भन्दा बढी अबैध सम्पत्ति थुपारेका छन् । उनको त्यो सम्पत्ति ढुंगाखानी, रेष्टुरेन्ट, मिटरव्याज र केही नेता तथा व्यापारीले समेत चलाउँदै आएका छन् ।

Post a Comment

0 Comments