Subscribe Us

अमेरिकी दुतावासको कर्मचारी हुँ भन्दै ठगी गर्ने खड्का सिआईबीको फन्दामा

काठमाडौ । बिगत चार बर्षदेखी अमेरिकी दुतावासको कर्मचारी हुँ भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका केदार खड्का पक्राउ परेका छन् । 

खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले कागेश्वरी मनहरा नगरपालिका–७ मा बाट पक्राउ गरेको हो ।

 खड्काले अमेरिका जाने मनसाय बनाएका नेपालीलाई आफू दुतावासको कर्मचारी हुँ भन्दै भिषा लगाई दिने प्रलोभन दिई ठगी गर्ने गरेको सिआईबीको अनुसन्धानबाट खुलासा भएको छ । खड्काले काठमाडौंस्थित अमेरिकी दूतावासको कर्मचारी भएको प्रमाणीत गर्न दिपक कार्कीको नामबाट दुतावासको काडसमेत बनाएको फेला परेको छ । 

ब्युरोका अनुसार सिन्धुपाल्चोक ज्यामिरे–१ का उनी कागेश्वरी मनहरा नगरपालिका–७ मा बस्दै आएका थिए। ब्युरोको टोलीले उनको डेराकोठाबाट विभिन्न व्यक्तिबाट संकलित राहदानी, पासपोर्ट साइजका तस्बिर, दीपक कार्कीको नाममा बनाएको अमेरिकी दूतावासको नक्कली कर्मचारी परिचय पत्रलगायतका कागजपत्र बरामत गरेको जनाएको छ।

ब्युरोका अनुसार फिल्म निर्माण प्राविधिकका रुपमा कार्यरत खड्काले ठगीका लागि दीपक कार्कीको नाममा अमेरिकी दूतावासको नक्कली परिचय पत्र बनाएको खुलासा भएको छ । उनले फोनबाट मिसकल दिएर अपरिचित व्यक्तिसँग परिचय गरी ठगीको प्रयास गर्ने गरेको सिआईबीले जनाएको छ । 

मिसकलबाट परिचयपश्चात् उनीहरूसँग निकट सम्बन्ध बनाएर अमेरिका जाने चाहना भए–नभएको एकिन गरेर आफू अमेरिकी दूतावासको कर्मचारी भएको भन्दै अमेरिका जान सहयोग गर्ने आश्वासन दिने गर्थे।

अनुसन्धान अधिकारीका अनुसार खड्काले अमेरिकाको भिसा लिन सघाउने तर त्यसका लागि रकम खर्च गर्नुपर्ने भन्दै मोलमोलाई गर्ने गरेका थिए।सघाउने भन्दै रकम लिएपछि भने उनले आफ्नो फोन नम्बर परिर्वतन गर्ने गरेका थिए।

अनुसन्धानमा उनले अनाथ बालबालिकासम्बन्धी कल्याणकारी संस्था स्थापना गरी अमेरिकाबाट दान ल्याई सञ्चालन गर्ने आश्वासन दिएर पनि ठगी गरेको खुलेको छ । ब्युरोका अनुसार खड्काले ठगेका ७ जना पीडित ब्युरोको सम्पर्कमा आएका छन्। तीमध्ये ४ जनाबाट उनले २० लाख रकम ठगेको खुलेको छ भने ३ जनालाई अमेरिका पठाउने प्रलोभन दिएर कागजपत्र लिए पनि पैसा लिन भ्याएका थिएनन्।

अनुसन्धानमा उनले ४ वर्षदेखि ठगी गर्दै आएको खुलेकाले पीडितको संख्या बढ्न सक्ने भन्दै ब्युरोले उनीबारे जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेको छ। ब्युरोले उनीमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको जानकारी दिएको छ।

Post a Comment

0 Comments