Subscribe Us

उपत्यकालाई अपराधमुक्त सहर बनाउने प्रहरी अठोट,
गुन्डाराजको चक्रव्यूह तोडेरै छाड्नेः एसएसपी खनाल

टपेन्द्र कार्की / काठमाडौं, ५ भदौ  

 उपत्यकालाई अपराधमुक्त सहर बनाउने स्पष्ट खाकासहित अघि बढेको महानगरीय प्रहरी अपराध महाशाखाले गुन्डाराजको चक्रव्यूह   तोड्ने अभियान तीव्र बनाएको छ । पहिलो पटक चेतावनीसहित पक्राउ गर्ने योजना बनाएको प्रहरीले राजनीतिक आडमा समाजमा आतंक फैलाउने जोकोही गुन्डालाई नछाड्ने गरी अभियान अघि बढाएको हो ।

राजधानीमा असुली धन्दा चर्काएका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टरसँगै महानगरीय प्रहरी अपराध महाशाखाले गुन्डाराजविरुद्धको अभियान तीव्र बनेको संकेत दिएको छ । एक महिना लामो अनुसन्धानपछि घैंटेलाई पक्राउ गर्न निस्किएको प्रहरीमाथि नै गोली प्रहार गर्दाको प्रतिकारमा बिहीबार घैैंटे मारिएका थिए । 

घैंटेको अपराधमा पिसिएका निर्दाेष जनताको आवाजलाई माथि उठ्न नदिन गुन्डाकै बचाउमा उत्रिएका एकाध कांग्रेस नेताले प्रहरीप्रति औंला ठड्याए पनि एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको महानगरीय अपराध महाशाखाका कामयावी प्रहरी गुन्डाराजको चक्रव्यूह तोडेरै छाड्ने अठोटमा छ । यस क्रममा महाशाखाले मोस्ट वान्टेड सूचीमा रहेका गुन्डाहरू काठमाडौंबाहिर जान सक्ने भन्दै कडा निगरानी थालेको छ । 

कुमार घैंटे मारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुन्डाराज चलाउँदै आएका समाजविरोधी तŒवहरू देश छोडेर भाग्ने तयारी गरेकाले पनि प्रहरीले थप निगरानी बढाएको छ । केही समय विदेशमा लुक्ने र फर्केर पुनः अपराध धन्दा अघि बढाउने गरेका कारण प्रहरीले यस पटक सबै गुन्डाको सूची तयार पारी सुधार्ने वा जेल पठाउने अभियान चलाएको हो । आफूलाई दादा देखाउन प्रहरीमाथि आइलागे भने घैंटेको जस्तै अवस्था पु¥याउने गरी योजना बनेको एक प्रहरी अधिकारी बताउँछन् । ‘अब नसुध्रिने गुन्डा नाइकेमाथि प्रहरी निर्ममतापूर्वक प्रस्तुत हुन्छ,’ ती अधिकृतले भने ।

विभिन्न पेसा, व्यवसायमा रहेका व्यक्तिलाई तर्साएर आङ्खनो धन्दा चलाउँदै आएका गुन्डाहरू प्रहरीले खोजी गरिरहेको जानकारी पाएपछि नेपाल छोड्ने तयारी गरेका छन् । सोही कारण प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल बाहिरिने मुलुकभरका मुख्य नाकामा निगरानी बढाएको छ । राजनीतिक संरक्षणमा गुन्डागर्दी गर्दै आएका गुन्डाहरू समेत घैंटेको घटनापछि आपूmलाई असुरक्षित महसुस गरी देशै छोड्ने तयारी गरिरहेकाले भाग्न सक्ने सम्भावित नाकामा निगरानी थालिएको अपराध महाशाखाले जनाएको छ । 

प्रहरीले कुमार घैंटेलगायत अन्य गुन्डा नाइकेका व्यावसायिक साझेदारहरूमाथि पनि अनुसन्धान गर्ने भएको छ । देशभर उनीसँग संगतमा रहेका गुन्डा र व्यावसायिक साझेदारहरूको बारेमा निगरानी र अनुसन्धान थालेपछि अन्य गुन्डासमेत देशै छाडेर हिँड्न सक्ने भन्दै उच्च निगरानी बढाइएको हो । 

महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल अपराधमा संलग्न गुन्डा नाइकेको कनेक्सनमा रहेका गुन्डाहरू पनि निगरानीमा रहेको बताउँछन् । त्यसो त धादिङका गुन्डा नाइके दिनेश अधिकारी (चरी) र कुमार घैंटेको इन्काउन्टरपछि राजनीतिक संरक्षणमा गुन्डागर्दी गर्दै आएकाहरू समेत आङ्खनो अनुकूल नभएको निष्कर्ष निकाली भाग्ने तयारीमा रहेका हुन् । चरीका सहयोगीहरू कोही विदेश गइसकेको र कोही यही ‘साइलेन्स’ बसेको प्रहरीको निष्कर्ष छ । 

‘प्रहरीले जुनसुकै पार्टीको संरक्षणमा रहेको भए पनि समाजमा आतंक मच्चाउने गुन्डाहरू पालैपालो इन्काउन्टर गर्ने रणनीति बनाएपछि उनीहरू पलायन हुने अवस्थामा पुगेका हुन्,’ महाशाखाका एक प्रहरी अधिकृत भन्छन् । गुन्डाहरूको सम्बन्ध नेतासँग मात्र होइन प्रहरीका उच्च अधिकारीसम्म पनि रहेको छ । घैंटेको इन्काउन्टरपछि उनीसँग सम्बन्ध भएका प्रहरी पनि झस्कन थालेका छन् । 

केही प्रहरीका उच्च अधिकृतहरूले घंैटेलाई व्यापारिक साझेदार बनाएर मिटर ब्याजमा पैसा लगानी गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गुन्डागर्दीको आडमा घैंटेले देशैभरका ठुला ठेक्का लिएको र सो ठेक्कामा नेपाली कांग्रेसनिकट केही नेता र प्रहरी उच्च अधिकारीको समेत हिस्सा रहेको पनि खुल्न थालेको छ । 

सामान्य परिवारमा जन्मिएका घैंटेले गुन्डागर्दीकै आडमा ४० करोडभन्दा बढी सम्पति जोडेको प्रहरीको प्रारम्भिक अनुमान छ । त्यसो त गुन्डागर्दी गर्ने व्यक्ति प्रहरी इन्काउन्टरमा मारिँदा नेताहरूले प्रहरीलाई तथानाम आरोप लगाएर उसको बचाउ गर्न खोजे सर्वत्र आलोचना मात्र होइन, घैंटेको बचाउ गर्ने नेतालाई समेत पक्राउ गरेर कारबाही गर्नुपर्ने माग उठेको छ । 

घंैटेको इन्काउन्टरपछि कांग्रेस सभासद् जगदीशनरसिंह केसी, धनराज गुरुङ र भीमसेनदास प्रधानले चर्को रूपमा सरकार र प्रहरीको विरोध गरेपछि सर्वसाधारणले उनीहरूलाई नै कारबाहीको दायरामा ल्याउन माग गरेका हुन । एक वर्षअघि चरी मारिँदा पनि धादिङका एमाले नेताहरूले प्रहरीको चर्को आलोचना गर्दै छानबिन हुनुपर्ने कुरा उठाएका थिए । 

‘समाजमा आतंक मच्चाउनेहरूको पक्षमा केही मानिस हुनु नौलो होइन, जसलाई गुन्डाहरूले राम्रोसँग पालेका हुन्छन्, घैंटे काण्डपछि उसको समर्थनमा जुन अभिव्यक्ति आएका छन् त्यो त्यसैको परिणाम हो,’ महाशाखा प्रमुख एसएसपी खनालले भने, ‘हाम्रो अभियान भनेको कसैले पनि आतंक नमच्चाओस् भन्ने हो, जसले अपराध कर्म गर्छ उसले त्यसको प्रतिफल भोग्छ ।’
३० करोड असुली
प्रहरी अधिकारीका अनुसार घैंटेले झन्डै ३० करोड अवैध रकम गजुरमुखी निर्माण सेवाको नामबाट असुलिसकेका छन् । पैसाकै आडमा उनी अनुसन्धानमा खटिएका केही प्रहरी उच्च अधिकारीलाई मिलाई सम्पत्ति शुद्धीकरणबाट उम्कन सफल भएका थिए । कुनै समय चरीलाई आपराधिक क्रियाकलापतर्फ उन्मुख गराउने घंैटेले प्रयोग गर्ने गजुरमुखी कम्पनी कांग्रेस नेता जगदीश्वरनरसिंह केसी, उनकी श्रीमती, सामाखुसीका शान्ताराम महर्जन, हेटांैडाका सन्तोष श्रेष्ठलगायत सातजनाको नाममा भए पनि पर्दा पछाडिबाट खेल्ने घंैटे नै भएको प्रहरीले दाबी गरेको छ । 

यस्तै, बबई सिँचाइ आयोजनाका प्रमुख महेश्वरनरसिंह केसीस“ग मिलेर जगदीश र घैंटेले झन्डै ९ करोडको ठेक्का हात पारेपछि घैंटेलाई राम्रो राजनीतिक संरक्षण मिलेको स्रोतको दाबी छ । त्यसैगरी, तराईको धनुषा, महोत्तरीखण्डको रेलमार्गको काममा घैंटेले ६० करोडको टेन्डर हात पार्न लागेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै, पशुपति क्याम्पसको भवन निर्माणमा पनि घैंटेको जोडबलमा सो कम्पनीले टेन्डर हात पारेको थियो ।

Post a Comment

0 Comments