Subscribe Us

पोखरामा कोचिङ माफियाहरुको विगविगी

कमल पौडेल अथक
कास्की । पोखरामा अवैध कोचिङ तथा ट्युसन माफियाहरुको विगविगी वढेपछि विद्यालयहरु नै प्रभावित बनेका छन् । ट्युसन तथा कोचिङ कक्षा सञ्चालन गर्ने नाममा अल्पज्ञान भएका व्यक्तिहरुले विद्यालयका शिक्षकहरुलाई कोचिङ सेन्टरमा तान्दा अधिकांश क्याम्पसको पढाई प्रभावित बनेको हो । 


पश्चिमाञ्चलको सवै भन्दा ठूलो सरकारी क्याम्पस पृथ्वीनारायण क्याम्पसदेखि अन्य निजी क्याम्पसका शिक्षकहरुलाई समेत ट्युशन र कोचिङ माफियाले भाडामा हायर गर्न थालेपछि क्याम्पसमा विद्यार्थीहरुको पढाई डामाडोल बनेको छ । 

पढे–लेखेका र उमेरले परिपक्व शिक्षकहरु क्याम्पसमा हाजिर हुने र ट्युशन र कोचिङ सेन्टरमा जागिर खान जाने गरेका छन् । पैसा भने पछि महादेवका पनि त्रिनेत्र भने झैैं कोचिङमा जाने शिक्षकहरुले आफ्नो नैतिक मूल्य र मान्यता एवं साखको पनि ख्याल नगरेको पाईएको छ । पोखरमा सञ्चालित झण्डै दुई दर्जन क्याम्पसका उच्च तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षामा छोडेर शिक्षक माफियाहरुका ट्युशन र कोचिङ सेन्टरमा गएका हुन् । पोखरामा दर्जन भन्दा वढी अवैध कोचिङ र ट्युसन सेन्टरहरु रहेका छन् । कतिपयले कानुनी प्रक्रिया पु¥याएर त कतिले ठूला नेताको सोर्स फोर्समा अवैध कोचिङ तथा ट्युसन सेन्टर खोलेको पाइएको छ । 

तर नियमन निकायहरु भने कमिशनको लोभमा कानमा तेल हालेर वसेको छन् । ट्युसन माफियाहरु अहिले क्याम्पसको कक्षाको ढोकामा नै गएर विद्यार्थीलाई तान्ने कोशिस गर्दै आएका छन् । देशकै ठूलो र करिव १० हजार विद्यार्थीले अध्ययन गर्दै आएको पृथ्वीनारायण क्याम्पसमा सरकारले स्थायी शिक्षकको व्यवस्था गरेको छ । आंशिक, करार र ज्यालादारी शिक्षकको मनपरी भन्दा विशेष विषयका स्थायी शिक्षकहरुको मनपरी पोखरामा वढी देखिएको विद्यार्थीको भनाई छ । 

तर अधिक स्थायी शिक्षकहरुले हाजिर गरेर तलव पचाउने गरेको विद्यार्थीहरुले बताए । ती शिक्षकहरु कक्षामा उपस्थित भएपछि विद्यार्थीलाई आफ्नो मोवाईल नम्वर टिपाउने र नवुझेको कुरा फोनमा सोध्ने भन्दै विद्यार्थीलाई कोचिङ सेन्टरमा तान्ने गरेको विद्यार्थीको भनाई छ । 

अंग्रेजी, गणित, लेखाशास्त्र, वित्तशास्त्र, विज्ञान, तथ्याङक शास्त्र लगायतका विषय पढाउने शिक्षकहरु अहिले क्याम्पसको कक्षा छोडेर ट्युसन र कोचिङ सेन्टरमा धाउन थालेपछि विद्यार्थीहरुको भविश्य अन्यौलमा परेको छ । विद्यार्थीहरुस“ग चर्को शुल्क असुलेर कोचिङ सेन्टर माफियाहरुले कमिशन खा“दै आएका छन् । कोचिङ सेन्टरहरुले प्रति कोर्ष ठेक्कामा ३ देखि ४ हजार लिने गरेका छन् । 

एक महिनामा कोर्ष सक्ने ठेक्का लिएर सरकारको नुनपानी खाएका क्याम्पसका शिक्षकहरु झोले माफियाका कोचिङ सेन्टरमा पुगेपछि विद्यार्थीहरुको भविश्य अन्यौलमा परेको हो । पश्चिमाञ्चलको सवै भन्दा ठूलो सरकारी क्याम्पस पृथ्वीनारायण क्याम्पसमा अहिले २०७० सालको भर्ना भएका विद्यार्थीहरुको पढाई आधा मात्र सकिएको छ । 

आगामी मंसिरमा जा“च हुने स्नातकोत्तर तह प्रथम वर्षका केही विषयको पढाई सकिएको भएता पनि केही विषयको पढाई आधा नहु“दै शिक्षकहरु विद्यार्थीलाई तान्दै कोचिङ र ट्युशन तिर तान्न थालेको भेटिएको छ । गत वैशाख १२ गतेको भूकम्पले एक महिना क्याम्पस वन्द भएपछि पढाईको मारमा परेका विद्यार्थीहरु फेरि शिक्षकहरुलाई धमाधम कोचिङ सेन्टरतर्फ तान्न थालेका हुन् । जसका कारण शिक्षकहरु कक्षामा नआएको विद्यार्थीहरुको भनाई छ । 

‘कक्षामा कोर्ष आधा पनि भएको छैन, सरहरु सवै कोचिङ र ट्युसन पढाउनतिर लागेका छन्, जसले गर्दा हाम्रो पढाईमा समस्या भएको छ’–एमवीएस प्रथम वर्षमा अध्ययनरत छात्रा गंगा अधिकारीले भनिन् । शिक्षक ट्युसनमा गएर कक्षामा नआएपछि अहिले पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्ने धेरै विद्यार्थीहरु विचल्लीमा परेका छन् । शिक्षकहरुको वद्मासी नियन्त्रण गर्न क्याम्पस प्रमुखले समेत गर्न सकेका छैनन् । 

क्याम्पस प्रमुख प्राध्यापक डा. देवेन्द्रवहादुर लामिछानेले भने–‘विद्यार्थीले नै प्रशासनमा गुनासो लिएर नआउ“दा यस्ता शिक्षकको मनोवल वढेको छ । कुन शिक्षकले कक्षा छोडेर ट्युशनमा गएको छ ? त्यसको वारेमा प्रशासनमा उजुरी दिए कडा कारवाही हुन्छ ।’ जिल्ला शिक्षा कार्यालय कास्कीले यस्ता अवैध कोचिङ सेन्टरलाई ठेगान लगाएको वताउने गरेता पनि अझै खुलेआम रुपमा उनीहरुले पोखरामा धन्दा गर्दै आएका छन् । कास्कीका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले अवैध रुपमा संचालित कोचिङ र ट्युशन सेन्टरलाई तत्काल अनुगमन गरी कारवाही गरिने वताए ।

Post a Comment

0 Comments