Subscribe Us

ढलेको एक कर्तव्यपरायण सहकर्मी ‘सिपाही’

नियति, कति निष्ठुरी बनेर आयो उनीहरुका लागि अनि हाम्रा लागि पनि। २८  वर्ष अघि यही भदौ महिना हो विश्वविद्यालयको प्रमाणपत्र बोकेर प्रहरी निरीक्षकको आवेदन दिन प्रहरी प्रधान कार्यालयको मूलगेटमा भेट भएको थियो उनीसँग। त्यहीबेलादेखिको अनवरत सहयात्रा अकस्मात् अन्त्य भएको पनि आज १० औं दिन भइसकेछ। सहकर्मी लक्ष्मण न्यौपाने अब हाम्रो सम्झनामा मात्र सीमित भएका छन्। 
 
गत भदौ ७ गते सञ्चार माध्यममा समाचार आउनु पहिले नै अपरान्ह ३ बजे प्रहरी कार्यालयबाटै टीकापुर घटनाको प्रारम्भिक जानकारी पाएँ। विश्वास गर्नै सकिनँ। घटना झुठो हो भनी चिच्याउन मन थियो। तर त्यसो गर्न पनि सकिनँ। छटपटीले बेचैन भएँ। अञ्चलमा रहेका केही साथीहरुलाई फोन लगाएँ, कसैलाई पनि जानकारी भएकै छैन। एक मनमा आशा पलायो घटना झुठो होला, कसैले अफवाह फैलाएको होला। तर त्यो आशा लामो समय टिकेन।  केही क्षणमै  संचार माध्यमहरुबाट फ्लास न्युज आउन थाल्यो- टीकापुरमा एसएसपीसहित केही प्रहरी मारिए। मेरो आशामा बज्रपात भयो।
 

‘मर्दै मर्दै  बाँच्नु र मर्नु त सुरक्षा सेवामा समर्पित सबै राष्ट्र सेवकको प्राथमिक धर्म नै हो’, उनी भन्ने गर्थे। आज नियतीले परीक्षण उनलाई नै गरेर छाड्यो। कति निष्ठुरी दैव! धेरै साथीहरु मरेर पनि सधैँको लागि बाँचिरहेका छन् कोहीले झण्डै मरेर पनि बाच्ने सौभाग्य पाएका छन् विभिन्न कालखण्डमा। 

 
उनका निश्चल, ठूलठूला निर्दोष आँखाहरुमा समर्पण भाव, शालिनता र सरलता स्पष्ट झल्किन्थ्यो । ८ महिना लगाएर सकिएको छनौटका विभिन्न चरणहरु पार गर्दै अन्तिम छनौटमा सफल भए पछि उनमा देखिएको उत्साह, उमङग र सन्तुष्टिको मापन चुलिएको थियो । पहिलो संविधान सभा चुनावको जिम्मेवारी निर्वाह गर्ने शिलशिलामा उनले रौतहट र मैले सर्लाही जिल्लाको नेतृत्व गरेका थियौं। हामी स्पष्ट थियौ आफ्नो उद्देश्यमा र कटिवद्ध थियौं आफूलाई दिइएको जिम्मेवारीमा। प्रत्येक दिन हामी सहकार्य गर्दथ्यौं। 
 
समान चुनौतिको सामना गर्नु पर्ने हाम्रा प्राथमिक दायित्वहरु थिए। कतिपय चुनौतिहरु हामी एक अर्काको सुझाव र सल्लाहबाट निराकरण गर्दथ्यौं। उनका कमि कमजोरीहरु म औंलाउँथें। उनी त्यसलाई सहज रुपमा लिएर सुधार गर्दथे। कत्तिपनि हीन भावना उनमा थिएन।  उनलाई म मायाले ‘लक्षु’ भनेर सम्बोधन गर्थें। मैले उनलाई कहिल्यै लक्ष्मण भनेर सम्बोधन  गरिनँ।
 
उनको मृत्यूमा कर्णाली नदी रोएको छ। टिकापुर बगैंचाका फक्रिएका फूलहरु रुँदै झरे जस्तो लागेको छ। कति क्रुर तरिकाले उनलाई मृत्यूशैयामा पुर्याइयो। त्यो क्रुरता देखेर सायद प्रकृती पनि शोकाकूल छिन होला।
 
आन्दोलनकारीले प्रशासनलाई दिलाएको विश्वासलाई सुरक्षा प्रशासनले सम्मान गरेको उनीसँगको कुराकानीबाट स्पष्ट हुन्थ्यो। सहादत हुनु २४ घण्टा अगाडिसम्म उनी भन्थे( सुरक्षा चुनौति जटिल छ तर शान्तिपूर्ण गराउने तर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रीत छ। तर दुर्भाग्य१ भदौ ७ गते  उनको त्यो विश्वासको धरहरा भत्किएर उनैलाई नै कहिले नउठने गरी पुरिदिएको छ ।अन्याय सहन अभिशप्त मृत्यूवरण १ सम्झदा पनि मुटु छियाछिया पार्ने।
 
मृत्यू सास्वत सत्य हो । शान्तिको पैगाम लिएर कर्तव्य निर्वाहमा थियौं । लाग्थ्यो चट्टानजस्तो बलिष्ठ शरीरलाई कुनै बज्रले पनि ढाल्न सक्दैन। तर क्रुर जत्थाले उनको आत्मविश्वास, सरलता र कर्तव्यपरायणताको पाशविक हत्या गरेको छ। उनीसँगै शान्तिको हत्या भएको  छ, विश्वासको घाँटी थिचिएको छ, न्यायको आँखामा भाला रोपिएको छ। प्रार्थना गर्छु कसैले पनि यो नियती भोग्न नपरोस्। 
 
उनले चाहेको भए अथवा उनको शान्तिप्रतिको विश्वास र जनताप्रतिको भरोसामा रतिभर शंका भएको भए परिणाम ठीक उल्टो हुन सक्थ्यो। तर उनले त्यसो गरेनन्। उनको आज्ञाकारीता, शान्तिप्रतिको विश्वास र जनताप्रतिको भरोसा, एउटा कर्तव्यपरायण सिपाहीको नमूना नै हो। जसलाई उनी समेतले सहादत प्राप्त गरेर एउटा मिसाल खडा गरेका छन्। उनी समेतले उठाएको गौरवशाली इतिहास चीरकालपर्यन्त अमर रहनेछ। देश र जनताको खातिर मरेर अमर हुनेहरु ओजस्वी हुन्छन्।
 
टीकापुर घटनामा देश रोएको छ, मानवता खण्डित भएको छ। हिंसाको आडमा आफ्नो राजनैतिक भविष्य देख्ने राजनैतिक संस्कृतिमाथि आम नागरिकबाट भत्सर्ना भएको छ। उनी समेतका सुरक्षाकर्मीहरुको समर्पणको गाथाले गगन चुमेको छ। 
 
विरोधको ओरियन्टेशन कुन दिशातर्फ गइरहेको छरु यसलाई समयमै बुझेर त्यसतर्फ उचित कदम चाल्न चुक्नु हुँदैन, अन्यथा समाजलाई हिंसाको ज्वालाले लपेट्ने छ भन्ने सन्देश दिएको छ टीकापुर घटनाले। टिकापुर घटनाले संकेत गरेको सन्देश यही नै हो भनेर विरोध गर्नेहरुले पनि बुझ्नु जरुरी छ । हाम्रो समाज र राजनीतिमा केही वर्षदेखि शुरु भएको हिंसाको उन्मुखिकरण नै टिकापुर घटनाको कारण हो भन्नेमा दुविधा रहेन अब। 
 
शान्तिको दूत बनेर सम्झाउन गएका उनी समेतलाई क्रुरतापूर्वक बर्बर ढंगबाट हत्या गर्नेहरुलाई न्यायको कठघरामा ल्याउन सकेमात्र उनको आत्मालाई न्याय र शान्ति मिल्नेछ।
 
अन्त्यमा कल्पनानै नगरेको मृत्यू १ मुटु छियाछिया पार्ने बिर्सन नसकिने स्मृति १ जोड,घटाउ,गुणान र भाग गर्दा कसै गरेपनि सुल्झाउन नसकेको सहयात्रीहरुको सहादतमा अश्रुपूर्ण श्रद्धाञ्जली!

Post a Comment

0 Comments