Subscribe Us

यस कारण चर्चीत छन एसएसपी खनाल,
दुई महिना मै दर्जन अपराधको सफल अनुसन्धान

काठमाडौं । विगत केही वर्षयता नेपालीबीचको सामाजिक सद्भाव र एकता भड्काउन प्रयासरत आङकाजी शेर्पा नामक व्यक्तिलाई नेपाल प्रहरीले गत साता पक्राउ गरेपछि मुलुकमा राज्य अझै जीवित रहेको सन्देश प्रवाहित भएको छ । 

 यसअघि प्रहरीले गुण्डागर्दीलगायत विभिन्न अपराध कर्ममा संलग्न कुमार घैँटे नामक कुख्यात व्यक्तिलाई एक कारबाहीका दौरानमा गोली प्रहार गर्दा पनि प्रहरी जनस्तरबाट निकै प्रशंसित भएको थियो । त्यस्तै ०६० सालमा ललितपुरको बडीखेलमा एकै परिवारका पाँचजना सदस्यको रहस्यमयी ढङ्गले हत्या भएको घटनाको अपराधी पत्ता लगाउने सफलता पनि प्रहरीलाई यसै समयमा मिलेको छ ।

 जमिम शाह हत्याकाण्डका फरार अभियुक्त पूर्व प्रहरी उपरीक्षक जगदीश चन्दलाई पक्राउ गर्न पनि प्रहरी सफल भएको छ । उल्लिखित केही महत्त्वपूर्ण घटनामा प्रहरीलाई प्राप्त सफलताले प्रहरी स्वयम् मात्र प्रशंसित भएको नभई जनस्तरमा राज्यप्रतिको विश्वास र भरोसासमेत बढाएको छ । 

बितेका दुई महिनाभित्र मात्र नेपाल प्रहरीलाई एकचालीस ठगी घटनाका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही गर्ने सफलता मिलेको छ । त्यस्तै चोरीका बाह्र, साइबर क्राइमका आठ, ज्यान मार्ने उद्योगमा संलग्न तीन, लागूऔषध कारोबारमा संलग्न तीन, वनपैदावर तस्करीका तीन, हत्याकाण्डका तीन र गुण्डागर्दीका चारसमेत असीभन्दा बढी घटनाका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने काम प्रहरीले गरेको छ । 

 गत वर्ष गुण्डा नाइके चरी (दिनेश अधिकारी) लाई मारेर जनसाधारणको प्रशंसा पाउन सफल प्रहरीलाई यसपटक सफलताका अनेक उपलब्धि प्राप्त भएका छन् । यस निम्ति उपत्यकाको कमाण्ड सम्हालिरहेका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौंस्थित अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल जनदृष्टिमा बधाई र धन्यवादका पात्र बनेका छन् । 

आङकाजी शेर्पा नामक व्यक्ति केही वर्षअघिदेखि नै नेपाली जनताबीचको सद्भाव र एकता खलबल्याउन निकै सलबलाउँदै आएका थिए । उनले नेपालभित्र मात्र जातीय द्वन्द्व निम्त्याउने भूमिका निर्वाह गरेका होइनन्, युरोपका विभिन्न मुलुकमा श्रम बेचेर बाँचिरहेका नेपालीमा पनि जातीयताको विष वमन गरी अस्वस्थ वातावरण सिर्जना गर्दै आएका थिए । 

कैलालीमा हालै भएको अमानवीय एवम् बीभत्स हिंसात्मक घटनाका सन्दर्भमा शेर्पाले आफ्नो फेसबुकमा आपत्तिजनक स्टाटस राखेर जातीय द्वन्द्व भड्काउने र सुरक्षा निकायहरूलाई लाञ्छित गर्ने दुस्प्रयास गरेपछि उनी प्रहरी कारबाहीमा परेका हुन् । शेर्पाले प्रहरी र सेनामाथि आफ्नै सहकर्मीको हत्या गरेको, बलात्कार र हिंसा गरेको, प्रहरी र सेनाले अराजक गुण्डाहरूसँग मिलेर थारूहरूको घरमा आगो लगाएकोजस्ता दुस्प्रचार फेसबुकमार्फत गरेका थिए । 

यसरी सुरक्षा निकायको बद्नाम गर्ने र सामाजिक सद्भाव बिथोल्न फेसबुक प्रयोग गरेपछि शेर्पामाथि साइबर क्राइम गरेको र सामाजिक सद्भाव खलबल्याउन खोजेको प्रमाणसहित प्रहरीले भदौ १६ गते उनलाई कानुनी कारबाहीको दायरामा ल्याएको हो । शेर्पा पक्राउ परेपछि काठमाडौं प्रहरी परिसरमा पुगेका शेर्पाका आफन्त तथा सहयोगीहरूले कार्यालय परिसरमै प्रहरीमाथि हातपातको प्रयाससमेत गरेका थिए । शेर्पामाथि भएको कानुनी कारबाहीको आमनेपाली जनताले मुक्त कण्ठले प्रशंसा गरेका छन् । 

यसअघि लामो समयदेखि गुण्डागर्दी गरी नागरिकलाई दु:ख दिने, व्यावसायिक व्यक्ति, ठेकेदार तथा व्यापारीहरूबाट नगद असुली गर्ने, आपराधिक प्रवृत्तिका व्यक्तिलाई सङ्गठित गरी विभिन्न प्रकारका आपराधिक कार्य सञ्चालन गर्ने कुमार घैँटे (श्रेष्ठ) नामक व्यक्तिलाई प्रहरीले भदौ ३ गते पक्राउ गर्न खोज्दा घैँटेका तर्फबाट गोली प्रहार भएपछि प्रहरीले पनि गोली चलाउँदा उनी मारिएका थिए । 

उक्त घटनामा घैँटेको दुई सहयोगीसमेत घाइते भएका थिए । यस घटनापछि काठमाडौंमा गुण्डागर्दी निरुत्साहित भएको जनताले ठानेका छन् । यसैबीच शैक्षिक परामर्शका नाममा विभिन्न नाममा विभिन्न स्थानमा कार्यालय खोली विदेश पठाइदिने भन्दै दर्जनौँ व्यक्तिसँग लाखौँ ठगी गर्नेहरूलाई पनि प्रहरीले गिरफ्तार गरी आवश्यक कानुनी कारबाही चलाएको छ । त्यस्तै प्रहरी र सेनामा जागिर लगाइदिन्छु भनी बेरोजगार युवाहरूलाई लाखौँ रुपैयाँ ठगी गर्नेहरू पनि प्रहरी कारबाहीमा परेका छन् । त्यसैगरी विमानस्थलमा यात्रीहरूको सामान चोरी गर्नेहरूलाई पनि प्रहरीले यस अवधिमा पक्राउ गरेको छ । 

२०६६ सालमा भएको जमिम शाह हत्याकाण्डका फरार अभियुक्त पूर्व प्रहरी उपरीक्षक जगदीश चन्दलाई गिरफ्तार गर्नु र २०६० सालमा ललितपुर बडीखेलको खेलगाउँका भानु नगरकोटी, धनकुमारी नगरकोटी, टुकुली नगरकोटी, रवीन्द्र नगरकोटी र लुरी नगरकोटीको राति सुतिरहेको अवस्थामा भएको हत्याकाण्डका अपराधीलाई पक्राउ गर्न सफल हुनुले प्रहरीप्रतिको विश्वसनीयता बढाएको छ । उक्त हत्याकाण्डका अपराधी बाह्र वर्षसम्म पक्राउ नपर्दा स्थानीय जनतामा एकप्रकारको त्रास उत्पन्न भएको थियो । प्रहरीले हत्यारा चन्द्रबहादुर पहरीलाई पक्राउ गरी हत्याको रहस्य खोलिदिएपछि जनतामा प्रहरीप्रतिको विश्वास बढाएको हो । यसबाहेक लागूऔषधका कारोबारी, रहस्यमयी चोरी र ठगी काण्डका अभियुक्त र डाँकाहरूलाई समेत प्रहरीले दुई महिनाकै अवधिमा आफ्नो नियन्त्रणमा लिएको छ । 

यसबाट सक्षम प्रहरी अधिकृतले उचित जिम्मेवारी पाउँदा समाजमा शान्ति–सुव्यवस्था कायम गर्न सहज हुने कुराको पुष्टि भएको छ । यसरी प्रहरीलाई अपराध नियन्त्रण गर्न सफलता प्राप्त भएको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरीको कमाण्ड सम्हालिरहनुभएका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको ध्यानाकर्षण गर्दा उहाँले भन्नुभयो, ‘सीमित स्रोत–साधनका बाबजुद हामी जनताको जीउधन रक्षा गर्न र समाजमा शान्ति तथा अमैनचैन कायम गर्न प्रयासरत छौँ । 

यसमा जनताको पनि पर्याप्त सहयोग हामीलाई प्राप्त भएको छ ।’ शर्माको भनाइ छ, ‘सबैको सहयोग भए हामी समाजबाट अपराधकर्म निर्मुल गर्न सक्षम छौँ, आगामी दिनमा पनि प्रहरीले आफ्नो कर्तव्य पूरा गर्न कुनै कसर बाँकी राख्नेछैन । यसैगरी अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख सर्वेन्द्र खनालको भनाइ छ, ‘हामीले हालै प्राप्त गरेको सफलता हाम्रो क्रियाशीलताको परिणाम हो । यस अवधिमा राजधानीमा अपराध नियन्त्रण गर्न हामीले जति काम गरेका छौँ, यतिले मात्र हामीलाई सन्तुष्टि दिएको छैन । भविष्यमा अरू सक्रियताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेछौँ । जनताका असल साथी प्रहरी हुन् भन्ने तथ्य पुष्टि गर्न हामी लागिपरिरहनेछौँ ।’

Post a Comment

0 Comments