Subscribe Us

यी हुन् स्वघोषित सुपरहिट फिल्म,
करोड कमाउँदा कती तिरे राज्यलाई कर ?

काठमाडौं । नेपाली फिल्महरू बन्न कुनै छेकवार छैन । निर्वाध रुपमा निर्माण भइरहेका छन्, आफ्नै कथा, आफ्नै पैसा र आफै कलाकार । सबै फिल्महरु यसरी नै निर्माण भएका हुनभन्दा फरक नपार्ला । चलेका कलाकारदेखि नयाँ भित्रने कलाकारहरू सबैले आफै पैसा लगाएर फिल्म बनाउने गर्छन् र खेल्छन् पनि । आफै पैसा लगाएर खेल्ने परम्परालाई पच्छ्याउँदै चकलेट हिरो निखिल उप्रेती, हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, रोज राणा, रेखा थापा आदि थुप्रैको सूची छ । 

 त्यत्ति मात्रै कहाँ हो र आफूले बनाएका फिल्म सुपरहिट भनेर प्रचार पनि गर्ने गरिन्छ ।  चल्दै नचलेका फिल्म पनि सुपरहिटको सूचीमा छन् । कुनै जमानाको स्टार एफएमका मालिक तथा फिल्म वितरक प्रदीप उदय पनि आफ्ना फिल्महरू सुपरहिट भएको भनेर दावी गर्छन् । फिल्म बनाउन साथीभाइसँग ऋण लिने तर काम गर्नेहरूलाई पैसा नदिने मजदुरमाराका रुपमा चिनिएका प्रदीपको ‘अर्धकट्टी’ लाई पनि सुपरहिटको सूचीमा राखेर प्रचार गरेको पाइन्छ ।
 
कसैले नपत्याएपछि लामो समय गुमनाम बसेका दुई पत्नीका पति नायक निखिल उप्रेतीले पनि आफ्नै लगानीमा फिल्म बनाए । फिल्म हो ‘भैरब’ । दर्शकले औसतमा मन पनि पराइदिए ‘भैरब’लाई । तर भूकम्पपछि नेपाली फिल्म हेर्न नपाएका दर्शकले निखिलको फिल्म हेर्न जानु स्वभाविक नै थियो । 

दर्शक अलि बढी आएको देख्ने वित्तिकै निखिलले भन्न थालिहाले ‘मेरो फिल्म सुपरहिट’ । उनलाई के थाहा फिल्म नचलेपछि राजधानीका अधिकांश हलबाट दोस्रो हप्तामै ‘भैरब’ हटाइएको थियो । दोस्रो हप्तामा हलबाट गलहत्याइएको फिल्म कसरी सुपरहिट भयो ? कसरी करोड क्लवमा सहभागी भयो ? फिल्म हलबाट सञ्चालकहरूले निकालेपछि डराएका निखिल मुद्दामामिला गर्न सम्म भ्याए ।

त्यतिले नचेतेका निखिलले अहिले पनि आफ्नो फिल्म ‘भैरब’ लाई प्रचार सामाग्रीहरूमा सुपरहिट भनेर प्रचार गरिरहेका छन् । सुपरहिटको उपाधि दिने संस्था वा आधिकारिक निकाय नभए पनि निखिलले आफू खुसी ‘भैरब’ लाई सुपरहिटको संज्ञा दिइरहेका छन् ।उता, दीपक गिरी र दीपाश्री निरौला पनि के कम । आफ्नो फिल्मको बढाइचढाइ गर्न भ्याईनभ्याई छ । उनीहरू जत्तिका कलाकारले दर्शकलाई समाचारहरूमार्फत गुमराहमा राखेर हलसम्म तान्ने गरेको आरोप छ ।

 गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वडा नम्बर ६’ले शनिबारसम्म एक करोडको कारोबार गरेको हावा फिजाई रहेको छ दीपक र दीपाको जोडीले । दीपा र दीपकको जोडीको हल्लाको पछि केही पत्रकारहरू पनि टुप्पी कसेर सहयोग गर्न लागेका छन् ।‘वडा नम्बर ६’ फिल्ममा चलेका हास्यकलाकारको भूमिका छ । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । तर, फिल्म कस्तो बनेको छ भन्ने विषयमा ध्यान दिनुपर्छ । फिल्मले एक करोड कमाउने कुरा चानचुने होइन ।

   यदि ‘वडा नम्बर ६’ ले एक करोड कमाएको छ भने दीपा र दीपकले राज्यलाई कति कर तिरे ? यदि उनीहरूले कर तिरेको रसिद देखाए भने मानौला ‘वडा नम्बर ६’ ले करोड रुपियाँ कमाए छ । र निखिलले पनि आफ्नो फिल्म सुपरहिट हो भने राज्यलाई कति कर तिरेका छन् ? त्यसको रसिद देखाउनुपर्छ । होइन भने जनतालाई बेवकुफ बनाउन पाइदैन । राप्रपा नेपालका कोषाध्यक्ष उद्धब पौडलको फिल्म हल गोपीकृष्ण मुभिजमा ‘वडा नम्बर ६’ नयाँ इतिहाँस रचेको दाबी गरिएको छ । त्यो के भने एउटै फिल्म दुई हलमा लागेको । हो धेरै हास्यकलाकार भएको फिल्म हेर्न दर्शक आउनु स्वभाविक हो । एउटा शो दुई वटा हलमा चल्यो भन्दैमा सुपरहिट हुने वा एक करोड कमाउने विषय कदापि तथ्यपरक भन्न मिल्दैन । यूनाइटेड पोस्ट साप्ताहिकबाट –

Post a Comment

0 Comments