Subscribe Us

ओरालो लाग्दै तीन चरित्र
अलोकप्रियताको यात्रामा छन् डा. भट्टराई, नेता थापा र डा. केसी ?

  प्रभात क्षेत्री
नेपाली समाजको पछ्यौटेपनका अनेक कारण हुन सक्छन् । विभिन्न कोणबाट विभिन्न तरिकाले हाम्रो दुरावस्थाको विश्लेषण गर्न सकिन्छ । पृथ्वीनारायण शाहको कुन गल्तीले आज हामी संसारकै दरिद्र मुलुक बन्यौं र कुनै बेला आफूलाई पृथ्वीनारायणसँग तुलना गर्ने पुष्पकमल दाहाल प्रचण्डको दुस्साहसका कारण हामी कस्तो भड्खेलो जाकिंदै छौं भन्ने सम्मका आयाममा लम्बेतान बहस हुन सक्छ । तर, हामी नेपाली समाजका केही आशाविम्बहरुको बाराम्बार स्खलनको कमै समीक्षा गर्छौ । समाजले आश गरेका व्यक्तिहरु आकाशमा देखिने पुच्छ्रतारा झै सुरुमा झिलिमिली हुने तर तुरुन्तै गायब हुने प्रवृत्तिको चिरफार कमै गर्छौ ।

इतिहासभरि नै यस्तो भइरहेको छ, त्यतातिर धेरै ध्यान नदिऔं । अहिले पनि त्यस्तै भइरहेको छ, यो दुर्भाग्य हो । विगत एक दशकयता यो समाज, राजनीति र देशलाई नै पार लगाउन सक्ने संकेत बोकेर तमाम व्यक्तिहरु सतहमा आए तर केही वर्षको अन्तरालमैं उनीहरु औसत नेपालीको भुईंमा भरे । औसत नेपालीको हैसियतमा मात्रै झरेनन् उनीहरु बरु रसातलतर्फको यात्रा पनि जारी छ, उनीहरुको । सिंगो मुलुकले आश गरेका ती चम्किला पुञ्जहरुको स्खलन दुर्भाग्यपूर्ण नै हो ।

यस दशकमा धेरै पुञ्जहरुको उदय भएको छ । गोकर्ण विष्टदेखि लालबाबु पण्डित, डा. बाबुराम भट्टराईदेखि गगन थापा, डा. भगवान कोइरालादेखि डा. गोविन्द पोखरेल, एसएसपी रमेश खरेलदेखि खेलाडी दिपक विष्ट, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको जोडी – यी प्रमुख पुञ्ज हुन् । तर, यीमध्ये केही पुञ्जहरु सिंगो समाजलाई निराश बनाएका छन् । धेरै अझैं पनि आशलाग्दा नै छन् तर केहीले निराश बनाइसके ।

पतनमार्ग हु“दै रसातलमा पुगिसकेकामध्ये एक हुन् एमाओवादी नेता डा. बाबुराम भट्टराई । नेपाली कांग्रेसका नेता गगन थापाको एउटै हर्कतले उनीप्रति वितृष्णा सुरु भइसकेको छ भने समाजसेवी डा. गोविन्द खड्काको बेमौसमी बा“सुरीले जनता वाक्कदिक्क भइसकेका छन् । यी तीन प्रतिनिधि पात्रहरुको पतनोन्मुख यात्राको निर्मम समीक्षा गर्नु आवश्यक छ ।

यो समीक्षा ती पूर्व पुञ्जहरुको चरित्रहत्या वा बदनामी गर्ने उद्देश्यले हु“दै होइन । ती तीन पात्र सार्वजनिक पात्र हुन् । दुनिया“ले गर्ने वाहवाही मात्रै तिनको अधिकार होइन, आलोचनादेखि निन्दासम्म पनि उनीहरुले भोग्न तयार हुनुपर्छ । जुन समाजले कसैलाई हिरो बनाउन योगदान गर्छ, त्यही समाजले उनीहरुको समीक्षा पनि गर्न पाउने र आवश्यक परे निन्दा गर्ने पनि हक राख्दछ भन्ने मान्यतामा टेकेर यो समीक्षा गर्न लागिएको हो । यो लेखकको नितान्त व्यक्तिगत धारणा हो, यसमा प्रकाशन गर्ने पुलेसो डटकम सहमत हुनुपर्छ भन्ने जरुरी छैन ।
बाबुराम भट्टराई
अत्यन्त मेधावी, व्यक्तिगत चरित्रमा निष्कलंक र आफ्नो पुस्ताका नेपालीहरुमध्ये सबैभन्दा दूरदर्शी एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईको क्षमतामा प्रश्न गर्नै सकिन्न । नेपालको कम्युनिष्ट आन्दोलनलाई पृथक दिशा दिन सकेका यी प्रकाण्ड विद्वानले नेपाली समाजको अग्रगतिका लागि ‘जनयुद्ध’को डिजाइन गरे जसको फलस्वरुप नेपाली समाजले फड्को मार्यो ।

 ठूलो जनधनको क्षति भए पनि चेतनाको प्रसार, अधिकारप्रतिको सचेतना वृद्धि, एकात्मकतामाथि बज्र प्रहार ‘जनयुद्ध’कै देन थियो र त्यसको सम्पूर्ण रचियता डा. भट्टराई नै थिए । अर्थ मन्त्री हु“दा यिनले जुन कार्यकुशलता देखाए इतिहासमा कसैले देखाउन सकेन ।

कुनैबेला युवा पुस्ताका आ“खाका तारा यी नेता आज भने छिछि र दुरदुरका पात्र बनिसकेका छन् । यिनले समाजको अग्रगतिलाई दिएको महत्वपूर्ण योगदान ओझेलमा परेको छ । आज यिनलाई धेरैले संकुचित सोच, भडकाउपूर्ण राजनीति र पाखण्डपूर्ण व्यवहार भएका नेताका रुपमा चिन्ने गरेका छन् ।

डा. भट्टराईको व्यक्तिगत अलोकप्रियता यति धेरै बढेको छ कि अब यिनले लोकप्रियताको भर्याङ उक्लन नसक्ने अनुमान गरिएको छ । यिनको यो पतनोन्मुख यात्रा सुरु भयो, प्रधानमन्त्री बनेपछि । डा. भट्टराई जुन समयमा प्रधानमन्त्री बने वास्तवमा त्यो समय अनुकूल थिएन उनका लागि । मुलुकलाई जारी द्वन्द्वबाट बाहिर निकालेर विकास युगको नेर्तत्व गर्नुपर्ने व्यक्तिले पदलोलुपता देखाएको भन्दै सुरुमैं युवा पुस्ताको मनमा उनीप्रति सन्देह पैदा भएको थियो तर पनि त्यो पुस्ताले ‘बाबुरामलाई काम गर्न देउ’ भन्ने अभियान नै छेडेर समर्थन गर्यो ।

 युवा पुस्ताको अपार समर्थनका बावजुद पनि डा. भट्टराईले खासै काम गर्न सकेनन् । युवा स्वरोजगार कोषमाथि एमाओवादी कार्यकतालाई ब्रमहलुट गर्न छुट दिएपछि गैरराजनीतिक तप्काका युवा उनीबाट विरक्तिंदै गए । र, भारतस“ग बिप्पा सम्झौता गरेपछि त त्यो पुस्ताको उनीप्रतिको मोहभंग नै भयो ।

उनको बोलाई र गराईमा एकरुपता नदेखेपछि बढ्दै गएको उनको अलोकप्रियता अहिले रिकभर नै हुन नसक्ने अवस्थामा आइपुगेको छ । ओरालो लागेको मृगलाई झैं अहिले उनलाई चौतर्फी खेद्ने काम भइरहेको छ । जनमतले उनलाई शंकास्पद दृष्टिले हेर्छ । संविधानसभाको संवाद समितिका संयोजकका रुपमा उनले गुमेको आफ्नो लोकप्रियता फेरि हा“सिल गर्ने मौका पाएका थिए तर ते मौकाको सदुपयोग नै गर्न सकेनन् ।

 उल्टो, सिङ न पुच्छर भएको सिद्धान्त टेकेर संघीयताको सिमांकन गर्न उनको अहम भूमिका रह्यो । संवाद समितिअन्तर्गतको विशेष समितिमा पनि उनी थिए तर उनले आफ्नै समितिले सर्वसम्मत गरेका निर्णयहरुको सार्वजनिक आलोचना गरिरहेका छन् जसबाट उनी नैतिकताविहिन राजनीतिक व्यक्तिका रुपमा चित्रित हु“दैछन् ।

भदौ ७ मा घटित टिकापुर काण्ड उनकै शब्द, बोली र व्यवहारको उपज भएको आरोप लागेपछि त उनी झन् आलोचित बन्न पुगेका छन् । आफ्नो पार्टीमातहतको मधेसी मोर्चालाई आफ्नै पार्टीको अडानविरुद्ध आन्दोलनमा उतारेपछि त अहिले देशभरी उनीप्रति आक्रोश पनि देखिन्छ । अनावश्यक स्वाङ पार्ने व्यक्तिका रुपमा डा. भट्टराईको छवि स्थापित भइसकेको छ । अहिले उनले सामाजिक सञ्जालहरुमा देखाइरहेको सक्रियतालाई पनि धेरैले ‘नाटक’ भन्ने गरेका छन् ।
गगन थापा
नेपाली कांग्रेसका उदीयमान नेता हुन् गगन थापा । यिनको व्यक्तिगत चरित्र अत्यन्त सफा देखिन्छ । प्रखर वक्ता पनि हुन् । नेपाली जनताले यी थापामा भविष्यको राजनेता देखेको छ । तर, हालसालै गुण्डानाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरीबाट मारिएपछि भने यिनी समस्यामा परेका छन् । थापा घैंटे हत्याको छानविन हुनुपर्छ भन्दै मानव अधिकार आयोग पुगेपछि उनी आलोचनाको भूमरीमा परेका हुन् । 

घैंटे मारिएलगत्तै सामाजिक सञ्जालहरुमा थापा र घैंटेबीचको समबन्धका कुरा उठेका थिए तर पनि उनलाई कसैले ठाडो औंलाले उनको आलोचना गरेको थिएन । मानव अधिकार आयोग गएपछि भने उनको लोकप्रियता ह्वात्तै घटेको देखिन्छ । गुण्डाहरुको संरक्षणमा लाग्ने विरुद्ध नेपाली समाज कति क्रुर छ भन्ने चरी काण्डबाटै देखिएको थियो । त्यो बुझ्दा–बुझ्दै पनि थापा स्वयं आयोग गएपछि घैंटेस“ग उनको बलियो सम्बन्ध रहेको निष्कर्षमा जनमानस पुगेको देखिन्छ ।

उसै पनि उनीप्रति आशंका उत्पन्न हुन सुरु भइसकेको थियो । बैशाख १२ को महाभूकम्पपछि उनका लागि भनेर भारतबाट छुट्टै राहत सामग्री आएको समाचारले विशेषतः युवा पुस्तामा निराशा सुरु भइसकेको थियो । घैंटे काण्डपछि त उनको लोकप्रियता शेयरमार्केटको कमजोर स्टक जस्तो बन्न पुग्यो । गगन किन यति लोकप्रिय ? के गरेका छन् र यिनले त्यस्तो काम ? भन्ने प्रश्न गर्नेहरु उतिबेलादेखि नै उठ्ने गरेका हुन् । तर पनि यिनको वक्तृत्वकलाले सबैलाई आश्वस्त पारेकै हो । तर अब उनका कठीन दिन सुरु भए जस्तो लाग्छ, उनले यतिबेला आफ्नो पोजिसन प्रष्ट पार्न सकेनन् भने ।
गोविन्द केसी
हाडजोर्नीका कुशल चिकित्सक डा. गोविन्द केसी निष्कपट समाजसेवी पनि हुन् । यिनको मन सेवाभावले ओतप्रोत भएकोमा कसैलाई शंका छैन । नेपालको मेडिकल शिक्षालाई शुद्ध पार्न यिनले देखाएको त्यागको चारैतिरबाट प्रशंसा पनि भएको छ । नेपालका अन्ना हजारेका रुपमा यिनले आफ्नो पहिचान पनि बनाएका छन् ।
स“धै पवित्र उद्देश्यका साथ कर्म गर्ने यी डाक्टरसाहेव नेपालका अत्यन्त लोकप्रिय व्यक्तिमध्ये एक हुन् । तर, अहिले यिनी पनि अलोकप्रियताको सिढी चढ्न थालेका छन् । उद्देश्य पवित्र भए पनि एकातिर यिनले देखाएको हठ र अर्का्तिर यिनले परिस्थिति बुझ्न नसक्दा अब यिनका दिन कठीन हु“दै गइरहेका छन् । अहिले यिनी पा“चौं पटक आमरण अनशनमा छन् तर यस पटकको यिनको अनशन सुरु हु“दा देश रक्तपातपूर्ण अवस्थाबाट गुज्रिरहेको थियो । टिकापुरमा जातीय द्वन्द्वको झिल्को देखिएकै बेला यिनले मेडिकल क्षेत्रको लागि अनशन थालेर भएभरको सहानुभूति गुमाएका छन् ।

डा. केसीले भनेको शब्द–शब्द कार्यान्वयन गर्न सरकार सक्षम छ कि छैन ? चारैतिर वेतिथी भएका बेला मेडिकल शिक्षाको क्षेत्रलाई मात्रै कसरी शतप्रतिशत शुद्ध बनाउन सकिन्छ ? भन्ने प्रश्नहरुको घेरामा उनका हरेक अनशन सिजन पर्दै गइरहेका थिए । प्रा. केदारभक्त माथेमाको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा गइसकेको अवस्थामा टिकापुर काण्ड भयो तर यी डाक्टरसापलाई देशको भन्दा मेडिकल क्षेत्रको माया लागिरह्यो । 

फलस्वरुप अहिले उनको अनशनप्रति कटाक्ष बढिरहेको छ । उनका समर्थकहरु पनि निराश हुँदै गइरहेका छन् । उनी एक नम्बर जिद्दी भएको निष्कर्ष निकालिंदै छ । व्यावहारिक समस्याहरुप्रति वास्तै नगरी एकोहोरो आफ्नै अड्डी कस्ने पात्रका रुपमा उनको परिचय बन्दै गएको छ । त्यो पनि कारण हुनुपर्छ उनको अहिले अनशनमा खासै जनरुचि नदेखिएको ।

Post a Comment

0 Comments