Subscribe Us

ब्रह्मलुट र विकृति रोक्न काँग्रेस प्रतिपक्षमाः नेता पौंडेल

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले सशक्त प्रतिपक्ष भए मात्र लोकतन्त्र बलियो हुने धारणा राखेका छन् । 

राजधानीमा आयोजित काँग्रेसका जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय भेला तथा बृहत् छलफल कार्यक्रममा नेताहरुले काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले लोकतन्त्रमा हारजित सामान्य हुने बताउँदै यसअघि पनि काँग्रेसले हारजितको लामो अनुभव सँगालिसकेको जानकारी दिए । 

नेता देउवाले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो भूमिकाका बारेमा बाहिर आएका हल्लाको खण्डन गर्र्दै राजनीतिमा सबैको इमान्दारिता हुनुपर्ने बताए । उनले सरकार गठनका लागि काँग्रेस अन्य दलसहितको बहुमतभन्दा आगामी निर्वाचनमा आफैँ बहुमत ल्याउने दाबी गरे । 

कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्रमा बलियो प्रतिपक्षी नभए अनियमितता र भ्रष्टाचार बढ्ने भन्दै कार्यकर्तालाई खिन्न नहुन आग्रह गरे । उपसभापति पौडेलले मुलुकमा हाल सहकार्यका नाममा हरेक क्षेत्रमा ब्रह्मलुट भएको बताउँदै यी विकृति रोक्न पनि काँग्रेस प्रतिपक्षमा बसेको जिकिर गरे । उनले काँग्रेसले जानेबुझेर सल्लाह गरेर नै प्रधानमन्त्रीको उम्मेदवारी दिएकाले कुनै हल्ला र भ्रमका पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गरे ।  

 महामन्त्री प्रकाशमान सिंहले काँग्रेसले पार्टीगत रूपमा विस्तृत छलफल गरेर नै प्रधानमन्त्रीको निर्वाचनका लागि तीन शीर्षनेतालाई जिम्मेवारी प्रदान गरेको बताउँदै निर्वाचनमा केही कमीकमजोरी देखिएको जिकिर गरे ।  

कार्यक्रममा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा रामशरण महत, डा प्रकाशशरण महत, गगन थापा, अर्जुन जोशीलगायतले काँग्रेसको अबको भूमिकाका बारेमा चर्चा गर्दै जनसम्पर्क समितिले मुलुकका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए । ार्यक्रममा गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन विश्वभरबाट आएका गैरआवासीय नेपालीको सहभागिता थियो । 

Post a Comment

0 Comments