Subscribe Us

कर्तव्यप्रति समर्पित हुन नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र मानव जातिप्रति समर्पित, कानुनद्वारा निर्देशित, कर्तव्यबाट अभिप्रेरित सङ्गठनको रुपमा नेपाल प्रहरी रहेको बताउनुभएको छ । 

साठीऔँ प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँले राजनीतिक हस्तक्षेपबाट मुक्त, कर्तव्य र कानुनका उद्देश्यद्वारा निर्देशित र सञ्चालित सङ्गठनको रुपमा थप सुदृढ र विस्तार गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, “आफ्ना कर्तव्य, देश, जनता, मानव जातिप्रतिको निष्ठा कानुनको परिधिमा बिना बाह्य हस्तक्षेप, समर्पित भएर स्वतन्त्र ढङ्गले अत्यन्तै जिम्मेवारीका साथ भेदभाव र पक्षपात नगरी, कुनै पनि प्रकारको भावना नलिइकन काम गर्न निर्देशन दिन चाहन्छु ।’’

कानुनी राज्य, देश जनता र कर्तव्य निष्ठाप्रति अडिग रहनु नै भनसुन र हस्तक्षेप जस्ता कुराबाट मुक्त हुने आधार तयार पार्नु हो भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल प्रहरी लैङ्गिक समानताको हिसाबले उदाहरणीय बनेको छ । यसको छवीलाई अझ चम्किलो बनाउनु आवश्यक छ ।”

नेपाल प्रहरीको वृत्ति विकास, क्षमता अभिवृद्धि र साधन स्रोत उपलब्ध गराउन र प्रभावकारिता, मर्यादा र दक्षता अभिवृद्धिको निम्ति सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने विश्वास प्रधानमन्त्री ओलीले दिलाउनुभयो । 

शान्ति सुरुक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र न्याय निरुपणका लागि अग्रपङ्क्तिमा रहेर प्रहरीले खेल्दै आएको भूमिका प्रसंशनीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले देशभित्र मात्रै होइन विश्व समुदायमासमेत नेपाल प्रहरीले आफूलाई कर्तव्यपालना र अनुशासित सङ्गठनको पर्यायवाचीको रुपमा स्थापित गराएको उल्लेख गर्नुभयो । 

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नागरिक सुरक्षाको दृष्टिले प्रहरी नागरिकको पर्यायवाची बन्नुका साथै समाजको अभिन्न अङ्ग र ऐना बन्न सफल भएको छ, भन्नुभयो । 


समारोहमा यस वर्ष कैलालीको टीकापुर घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीका परिवारजनलाई सम्मान गर्नुका साथै राज्य र प्रहरी सङ्गठनका तर्फबाट उपलब्ध गराएको रकम प्रदान गरिएको थियो । साथै विभिन्न घटनामा परी वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई कदरपत्र र आर्थिक सहयोग प्रदान गरिएको थियो । यस्तै नेपाल प्रहरी श्रीमती सङ्घबाट अमर प्रहरी र वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई राहत वितरण गरिएको थियो । 

समारोहमा प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयको हातामा रहेको प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै प्रहरीद्वारा प्रकाशित ‘प्रहरी दर्पण २०७२’ लोकापर्णण गर्नुभयो । 

समारोहमा ‘लाइफ टाइम अचिभमेन्ट अर्वाड २०७२’ पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अनन्तराम भट्टराईलाई प्रदान गरिएको थियो । स्थानीय तहसम्म उपस्थिति रहेको नेपाल प्रहरीको हाल ६७ हजार जनशक्ति रहेको छ । रासस 

Post a Comment

0 Comments