Subscribe Us

आईजीपीको घरमा काज खटिएका प्रहरी अपराध महाशाखाका उत्कृष्ट अनुसन्धान अधिकृत ?

काठमाडौं । सयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनाका लागि सुडानको डार्फर र हाइटीमा पठाइने प्रहरी कर्मचारीको छनोटमा चाकडी र चाप्लुसीले नै प्राथमिकता पाएका छन् । जसले गर्दा प्रहरीभित्र तीव्र असन्तुष्टि पनि बढेको छ । 

प्रहरी प्रधान कार्यालय र मातहत कार्यालय तथा सुरक्षामा खटिएका प्रहरीबाट सिफारिस भई आएका जवानदेखि प्रहरी नायब निरीक्षकसम्मको दर्जाका कर्मचारीको कार्य विवरणका आधारमा छनोट गरिने प्रावधानलाई लत्याइएको समेत खुलासा भएको छ । 

अपराध महाशाखा टेकुमा दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पवनकुमार अधिकारी महानिरीक्षकको निवासमा काजमा खटेकै आधारमा उत्कृष्ट अनुसन्धनकर्ता ठहरिए मिशनमा छनोट भएका छन् ।  

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार छनोट समितिका अध्यक्ष डिआइजी कमलसिंह बमले आइजिपीको सचिवालबाट पठाइएका नामहरूको मात्र सिफारिस गरी क्षेत्र र जिल्लाबाट पठाइएका उत्कृष्ट कर्मचारीहरूलाई पाखा लगाएका कारण असन्तुष्टि बढेको हो । हाइटी र डार्फरमा छनोट भएका त्यस्ता प्रहरीहरू अधिकांश नेताका सुरक्षामा खटिने पिएसओ (निजी सुरक्षा अधिकृत) देखि गृहमन्त्रीका आसेपासे र आइजिपीको सचिवालयमा र कार्य विभागमा कार्यरतहरू नै रहेका छन् । 

उत्कृष्ट प्रहरी छनोटका लागि डिआइजी बमको अध्यक्षतामा ६ सदस्यीय समितिले सिफारिस गरेको आधारमा उनीहरू छनोटमा परेका हुन् । स्रोतका अनुसार कुनै क्षेत्र नै नतोकी विविध क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै मानवस्रोत विभागका प्रहरी नायब निरीक्षक दीपक थापा, कार्य विभाग सुरक्षा सेवा निर्देशनालयका प्रहरी नायब निरीक्षक ज्योेती बिष्ट, त्यहीँ कार्यारत प्रहरी नायब निरीक्षक दिनानाथ गौतम, आइजिपी सचिवालयका प्रहरी हवल्दार ताराबिक्रम थापा, गृह मन्त्रालय प्रहरी प्रशासनका प्रहरी जवान शिलाकुमारी चौधरी, गृह मन्त्रालयका प्रहरी जवान विष्णुप्रसाद कोइरालालगायत हाइटी र डार्फरमा छनोट गरिएको छ ।

 छनोटमा परेका सबै जना कुनै उत्कृष्ट काम नगरी निगाहका आधारमा छनोटमा परेका हुन् । जसका कारण उत्कृष्ट काम गर्ने प्रहरीहरूमा निराशा छाएको छ । उत्कृष्ट अनुसन्धानकर्ता भन्दै अपराध महाशाखाका प्रहरी साहयक निरीक्षक पवनकुमार अधिकारी हाइटीका लागि छनोट भएका छन् । 

महाशाखा स्रोतका अनुसार प्रसनी अधिकारी महाशाखामा कार्यारत नै छैनन् । उनी आइजिपी निवासमा कार्यरत छन् । आइजिपी उपेन्द्रकान्त अर्याललाई चाकडी गरेकै भरमा उनी मिसनमा परेको स्रोत बताउँछ । उत्कृष्ट प्रहरी कर्मचारीको नाममा छनोट भएका २२ जनामध्ये १० जनाको उत्कृष्ट योगदान वा कार्य के हो भनी खुलाइएको छैन । विविध क्षेत्रमा उत्कृष्ट कार्य गर्ने भनी छनोट भएकामध्ये १० जना प्रहरीहरू सबै गृहमन्त्री शक्तिबहादुर बस्नेत र महानिरीक्षक अर्यालको सिफारिसमा छनोट भएका छन् ।

 जिल्ला, क्षेत्र र अन्य विधाबाट सिफारिसको आधारमा छनोट गरिएकाहरूको संख्या भने १२ रहेको छ । त्यसमा पनि सम्बन्धित क्षेत्रमा काम नै नगरेका प्रहरीलाई झुटो विवरण र कारण प्रस्तुत गरिएको छ । पश्चिमाञ्चल क्षेत्रका कुनै पनि जिल्लाबाट एक जनालाई पनि छनोट गरिएको छैन । भूकम्प र आन्दोलनमा उत्कृष्ट कार्य गरेको भनिएकामध्ये चार जनालाई मात्र छनोट गरिएको छ ।

Post a Comment

0 Comments