Subscribe Us

चितवन प्रहरीका डीएसपी राजन अधिकारीको असुली धन्दा,
इलाका प्रहरी कार्यालय दमकमा कार्यरत रहँदा कागजात मिलाएर पाँच लाख रुपैयाँ घोटाला गरेको खुलासा !

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी राजन अधिकारीको असुलीधन्दाले चितवन प्रहरीमा खैलाबैला मच्चिएको छ । स्रोतका अनुसार डीएसपी अधिकारीले इलाका प्रहरी कार्यालय भण्डारा चितवन दरबन्दी भएका प्रहरी हवलदार पदम बहादुर तामाङलाई दरबन्दी रमाना नगरी आफ्नो घुमुवा राखेर अवैध असुली धन्दालाई तीव्रता दिएको चितवन प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार डीएसपी अधिकारीले चितवनका गुण्डा नाइके र जुवा अड्डाका संचालकहरुसँग साँठगाँठ गरेर व्यापक असुली गर्ने गरेको चाल पाएपछि चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले उनलार्ई अन्यत्र सरुवा गरेर सक्षम डीएसपी पठाइदिन माथिल्लो निकायमा रिपोर्ट गरिसकेको जिल्ला प्रहरी कार्यालय चितवन स्रोतको दाबी छ ।

 डीएसपी अधिकारीले चितवनका विभिन्न अस्पतालमा कार्यरत रहेका प्रहरी हवल्दारमार्फत प्रतिअस्पताल मासिक ३० हजारको दरले असुली गर्ने गरेको प्रमाणित भएपछि डीएसपी अधिकारीको असुली सञ्जाल तोड्दै एसपी कुँवरले सम्पूर्ण चितवनका अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलार्ई हटाएर नयाँ प्रहरीहरु पठाइसकेको खुल्न आएको छ ।

अस्पतालका अलावा उनले चितवनका गुण्डानाइकेहरु प्रमेश राई, चमेरो भन्ने प्रकाश रेग्मी, मुसे भन्ने वचन कार्की, कान्छी भन्ने यम कार्की, भड्डु भन्ने कुमार गुरुङ, सुरज शाही, नीति राई, शम्भु थापा लगायतसँग गोप्य साँठगाँठ गरेर प्रहरीका गोप्य सुचनाहरु चुहाउने गरेको चितवन प्रहरीसम्बद्ध स्रोतले जनाएको छ । त्यसैगरी डीएसपी अधिकारीको ‘सेटिङ्ग’मा चितवनका विभिन्न ठाउँमा जुवा अड्डा सञ्चालन हुने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार चितवनको पारस बसपार्क टर्मिनलका ठेकेदार समेत चितवनका नामुद जुवाडे सन्देश श्रेष्ठ र राजन कार्कीको समूहले पनि डीएसपी अधिकारीको सेटिङमा जुवा अड्डा सञ्चालन गरेका छन् । चितवनको सौराहा, भरतपुर, टाँडीमा सञ्चालित करिब एक दर्जन जुवा अड्डालार्ई अधिकारीको संरक्षण गर्ने गरेका कारण चितवन प्रहरीले हाल सञ्चालन गरेको जुवाविरुद्धको कारबाहीले चाहेजति सफलता हासिल गर्न नसकेको चितवन प्रहरी स्रोत बताउँछ । 

चितवन प्रहरीमा करिब एक वर्षदेखि कार्यरत डीएसपी अधिकारीले करिब तीन महिनाअगाडि जुवा खालमा रंगेहात पक्राउ परेका चितवनका नामुद जुवाडे दिपक लामा र भानु सापकोटालाई मिसिल बदलेर उन्मुक्ति दिनखोजेपछि तत्कालीन चितवन प्रहरी प्रमुख एसपी सहकुल थापाले उनलार्ई झपारेको घटना चितवन जिल्लाभरि चर्चाको विषय बनेको थियो ।


त्यसो त डीएसपी अधिकारी इलाका प्रहरी कार्यालय दमक झापाको प्रमुख रहँदा लेखापालसँगको सेटिङमा नक्कली कागजात खडा गरेर कार्यालयको बजेटमध्ये पाँच रुपैयाँ झ्वाम पारेको घटनामा छानबिनको दायरामा तानिएका अधिकृत हुन् । दमकबाट शान्ति मिसनमा गएका उनले पाँच लाख रुपैयाँ अनियमितता गरेको सूचना तत्कालीन पूर्वक्षेत्रीय प्रहरी कार्यालयमा आएपछि तत्कालीन डीआईजी नवराज सिलवालले उक्त विषयमा छानबिन गरेका थिए । छानबिनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका तत्कालीन लेखापालले कागजात मिलाएर त्यसरी अनियमितता भएको पाँच लाख रुपैयाँ डीएसपी अधिकारीले नै लगेको भनेर बयान गरेपछि डीआईजी सिलवालले अधिकारीमाथि कारबाहीको प्रक्रियामा लैजाँदै गर्दा सिलवालको सरुवा भएपछि उनको उक्त काण्ड पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा अलपत्र रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय स्रोतको दाबी छ ।

Post a Comment

0 Comments