Subscribe Us

आईजीपी अर्यालको घमण्ड र सङ्कीर्ण सोचका कारण नेपाल प्रहरीमा विवाद चर्कियो,
आफूहरुले जस्तै उत्कृष्ट काम गरेर देखाउन आईजीपीलाई एआईजी भण्डारीको चुनौती

मदन भण्डारी / काठमाडौं, मंसिर ६ 
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको व्यक्तिगत हठ, घमण्डीपना एवं संकीर्ण सोचका कारण नेपाल प्रहरीको उच्च तहमा विवाद चर्किँदै गएको छ । नागरिकका हरेक क्रियाकलापमा प्रत्यक्ष÷परोक्ष भूमिका रहेको नेपालको सशक्त सुरक्षा निकाय नेपाल प्रहरीको प्रमुख रहेका अर्यालले संगठनको हितमा दिलोज्यान कार्यसम्पादन गरिरहेका अब्बल अधिकारीहरुलार्ई अनेक बहानामा अंकुश लगाउनखोजेपछि एकातिर संगठनभित्र उक्त विषयमा विवाद चर्किँदै गएको छ भने अर्कोतर्फ संगठनको दैनिक कार्य सञ्चालन प्रक्रिया समेत प्रभावित हुन गई त्यसको असर समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा समेत देखिनथालेको प्रधान कार्यालयसम्बद्ध स्रोतको दाबी छ ।

हामीले संगठनविरुद्ध र संगठनको अहितमा कुनै काम गरेका छैनौं, संगठनप्रति हामी पनि जिम्मेवार छौं । संकीर्ण सोच भएका तथा संगठनको अहित चाहने गैरजिम्मेवार व्यक्तिहरुले प्रहरीको दक्षता र क्षमता अभिवृद्धिका लागि सोच्दैन । मलाई कुनै पदको लोभ पनि छैन । पदको लागि हरेक ठाउँमा बिन्तीपत्र चढाउन जान मेरो स्वाभिमानले दिँदैन । राज्यले आवश्यक ठानेर जिम्मेवारी सुम्पेको बखत आफ्नो कर्तव्यमा कति पनि विचलित नभई कार्यसम्पादन गर्दै आएको छु र गरिरहनेछु । म यही एकेडेमीमा आमूल परिवर्तनको लागि दत्तचित्त भएर लागिपरेको छु । यदि म यहाँ कार्यरत रहँदा आईजी साबलाई अप्ठ्यारो छ भने सबैभन्दा रद्दी मानिने ठाउँमा सरुवा गरिदिँदा मेरो कुनै आपत्ति छैन ।’  – एआईजी भण्डारी



आईजीपी अर्यालले गत शुक्रबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र सिंह भण्डारी र प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्र बहादुर शाहको व्यक्तिगत नाममा लिखित पत्र लेख्दै प्रतिष्ठान र अनुसन्धान विभागमा प्रहरी कर्मचारीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिने विभिन्न प्रशिक्षणमा प्रहरी संगठनभित्र तथा बाहिरका विभिन्न व्यक्तिलार्ई आमन्त्रण गर्दा प्रहरी महानिरीक्षकको सचिवालयबाट पूर्वस्वीकृति लिन निर्देशन दिएपछि उक्त विवाद सतहमा देखिएको हो ।

करिब एक वर्षदेखि प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक रहेका एआईजी भण्डारीले उक्त प्रतिष्ठानको प्रशासनिक तथा भौतिक संरचनामा आमूल परिवर्तन गरिसकेका छन् । प्रविधिको प्रयोग गर्दै प्रहरी संगठनलाई समयसापेक्ष सुविधासम्पन्न गराउनुपर्छ भन्ने मान्यता राखेर सोहीअनुसार कार्यसम्पादन गर्दै आएका एआईजी भण्डारीले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलार्ई आमन्त्रण गरी प्रहरी प्रतिष्ठानका प्रशिक्षार्थीहरुसँग अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।   

पछिल्लो समय प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सफल भएका एआईजी भण्डारी तथा अपराध अनुसन्धानको क्षेत्रमा व्यापक परिवर्तन गरेका एआईजी शाहको कार्यसम्पादनको संगठनभित्रै व्यापक प्रशंसा हुनथालेपछि आईजीपी अर्याल अत्तालिएर कार्यसम्पादनमा नै अंकुश लगाउने उद्देश्यका साथ उक्त लिखित निर्देशन गरेको हुनसक्ने जानकारहरु बताउँछन् ।  

प्रधान कार्यालयको महानिरीक्षकको सचिवालय स्रोतका अनुसार गत शुक्रबार आईजीपी अर्यालले एआईजीद्वय भण्डारी र शाहको नाममा निर्देशन दिँदै पठाएको पत्रको जवाफमा एआईजी भण्डारीले आईजीपी अर्याललाई आफूले जस्तै उत्कृष्ट काम गरेर देखाउन चुनौती दिँदै प्रहरी प्रतिष्ठानको दैनिक कार्यसञ्चालनमा अनावश्यक हस्तक्षेप नगर्न सुझाव दिएका छन् ।     

स्रोतका अनुसार आईजीपी अर्यालको उक्त निर्देशनसहितको पत्रमा कार्यकारी निर्देशकको नाममा सम्बोधन गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नाममा पत्र लेख्नुपर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी लेखिएको छ । पत्रको जवाफको १ नम्बर बुँदामा कार्यालयको नाममा आउने पत्रमा व्यक्तिगत नाम लेखिनु गलत भएको उल्लेख गर्दै एआईजी भण्डारीले प्रहरी नियमावली २०७१ को ५३ ( क) मा प्रहरी महानिरीक्षकले ‘प्रहरी प्रधान कार्यालय र सो मातहतका सबै प्रहरी कार्यालयहरुमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने’ स्पष्ट व्यवस्था भएको औँल्याउँदै उक्त प्रावधानलार्ई नजरअन्दाज नगर्न आईजीपी अर्याललार्ई सुझाएका छन् ।

एआईजी भण्डारी र शाहले प्रतिष्ठान र अनुसन्धान विभागमा व्यापक सुधार गरेको कारण संगठनभित्र र बाहिर उनीहरुको व्यापक प्रशंसा हुने गरेको तर आफू आईजीपी भएर पनि ओझेलमा परेकोमा आईजीपी अर्याल चिन्तित रहेको स्रोतको दाबी छ ।  उता विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलार्ई आमन्त्रण गरेर प्रहरी कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिको लागि प्रयास गर्दा प्रहरी महानिरीक्षकले आपत्ति जनाउन नहुने एआईजी भण्डारीको तर्क छ ।  

‘हामीले संगठनविरुद्ध र संगठनको अहितमा कुनै काम गरेका छैनौं, संगठनप्रति हामी पनि जिम्मेवार छौं’, एआईजी भण्डारीले भने, ‘संकीर्ण सोच भएका तथा संगठनको अहित चाहने गैरजिम्मेवार व्यक्तिहरुले प्रहरीको दक्षता र क्षमता अभिवृद्धिका लागि सोच्दैन । मलाई कुनै पदको लोभ पनि छैन । पदको लागि हरेक ठाउमा बिन्तीपत्र चढाउन जान मेरो स्वाभिमानले दिँदैन । राज्यले आवश्यक ठानेर जिम्मेवारी सुम्पेको बखत आफ्नो कर्तव्यमा कति पनि विचलित नभई कार्यसम्पादन गर्दै आएको छु र गरिरहनेछु ।’ उनी थप्छन्, ‘म प्रशासन विभागमा कार्यरत रहँदा गत वर्ष आईजी साबले ‘राजेन्द्र तिमीलार्ई मैले प्रशासन विभागमा राख्न सकिनँ, एकेडेमी जाऊ’ भन्नुभयो । म तुरुन्तै बरबुझारथ गरेर एकेडेमीमा हाजिर भएँ, म यही एकेडेमीमा आमूल परिवर्तनको लागि दत्तचित्त भएर लागिपरेको छु । यदि म यहाँ कार्यरत रहँदा आईजी साबलाई अप्ठ्यारो छ भने सबैभन्दा रद्दी मानिने ठाउँमा सरुवा गरिदिँदा मेरो कुनै आपत्ति छैन ।’  

त्यसो त हाल नेपाल प्रहरीमा व्याप्त अनियमितता, गुटबन्दी, नातावाद तथा कृपावादले गर्दा प्रहरी जवानले आईजीपीलाई समेत नटेर्ने अवस्था सिर्जना भएको, प्रहरीको ‘चेन अफ कमाण्ड’ ध्वस्त भएको गृह मन्त्रालयका एक अधिकारी दाबी गर्छन् । पछिल्लो समय देशको दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच पानी बाराबारको स्थिति पैदा हुनुमा समेत आईजीपी अर्यालको घमण्डीपना नै रहेको जानकारहरु बताउँछन् । केही महिनापहिले गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावली संशोधनका बखत सशस्त्र प्रहरीलाई आरोपी पक्राउ गर्दा पक्राउ पुर्जी जारी गर्नपाउने अधिकार प्रदान गरेपछि नेपाल प्रहरीका आईजीपी अर्याल र सशस्त्र प्रहरी बलका आईजीपी कोषराज वन्तबीच बोलचाल नै बन्द छ ।

एसएसपीसहित आधा दर्जन सुरक्षाकर्मीको ज्यान गएको टीकापुर घटनाको मुख्य जड समेत आईजीपी अर्याल र वन्तबीचको इगो रहेको र सोही इगोका कारण दुई सुरक्षा निकायबीच पर्याप्त समन्वय हुन नसकेका कारण निर्दोष प्रहरीहरुले ज्यान गुमाउनुपरेको नेपाल प्रहरीका एक पूर्वडीआईजी बताउँछन् । उनका अनुसार उक्त समय नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय हुनसकेको भए उक्त घटना घट्दैनथ्यो ।

स्रोतका अनुसार पछिल्लो समय तराईका केही जिल्लामा विभिन्न माग राख्दै आन्दोलन चलिरहँदा समेत दुई सुरक्षा निकायबीच पर्याप्त तालमेल मिल्नसकेको छैन । सोही कारण पर्साको रक्सौल नाका महिनौँदेखि बन्द छ । दुई सुरक्षा निकायबीच तालमेल हुने हो भने रक्सौल नाका खुलाउन कुनै आइतबार कुर्नु नपर्ने नेपाल प्रहरीकै वरिष्ठ अधिकारीहरु बताउँछन् । प्रहरी प्रधान कार्यालय नक्साल स्रोतका अनुसार दुई सुरक्षा संगठनका प्रमुखहरुबीचको व्यक्तिगत रिसइबीका कारण प्रहरी कर्मचारीहरु तथा आम सर्वसाधारणहरुले सास्ती खेप्नुपरेको भन्दै प्रहरी संगठनभित्रै विवाद चुलिँदै गएको छ ।

Post a Comment

0 Comments