Subscribe Us

गृहमन्त्री र आइजिपीबीच विवाद,
सिआईबीमा डिआईजी पठाउन आ आफ्नै अडान



काठमाडौं । नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को सरुवाको तयारी हुँदै गर्दा गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रहरी महानिरीक्षक (आइजिपी) उपेन्द्रकान्त अर्यालबीच विवाद सुरु भएको छ । भावी आइजिपीका दाबेदार डिआइजीका कारण उनीहरूबीच विवाद सुरु भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख बनाउने विषयलाई लिएर आइजिपी अर्याल र मन्त्री बस्नेतबीच विवाद सुरु भएको हो । 

स्रोतका अनुसार मन्त्री बस्नेतले क्षमता र कार्यशैलीका आधारमा डिआइजी नवराज सिलवाललाई सिआइबी प्रमुख बनाउनुपर्ने अडान लिएका छन् भने आइजिपी अर्यालले डिआइजी बमबहादुर भण्डारी र जयबहादुर चन्दमध्ये एकलाई सिआइबी प्रमुख बनाउन चाहेका छन् । 

एआइजी सरुवामा हस्तक्षेप नगरेका मन्त्री बस्नेतले डिआइजी सरुवामा भने आइजिपीको सिफारिसलाई बदर गर्ने मनस्तिथिमा पुगेको स्रोत बताउँछ । आइजिपी अर्याल भने डिआइजी सिलवाललाई अन्तर्राष्ट्रिय विमानस्थलमा पठाउने तयारीमा छन् । चार महिनादेखि नै आइजिपी अर्यालले डिआइजी विजयलाल कायस्थलाई फिर्ता बोलाएर डिआइजी सिलवाललाई पठाउन खोजेका थिए । 

विमानस्थलमा कुनै पनि बेला प्रहरीको इमानदारीमा प्रश्न उठ्न सक्ने भन्दै भावी आइजिपीका दाबेदार सिलवाल विमानस्थल जान चाहेका छैनन् । स्रोतका अनुसार सिलवाललाई विवादमा ल्याएर आइजिपी अर्याल आफूनिकट डिआइजी प्रकाश अर्याललाई भावी आइजिपीका रूपमा हेर्न चाहन्छन् । तर, ३५ किलो सुन सुराकी काण्डमा मुछिएका अर्याल भने विमानस्थलको सुरक्षा प्रमुख बन्न तयार छन् । 

उनी यसअघि सिआइबीमा बस्दा ३५ किलो सुन सुराकीकाण्डमा मुछिएका हुन् । वास्तविक सुराकीलाई पाखा लगाएर आफूनिकट सुराकी राखी करोडौं खान खोजेको भन्दै उनीविरुद्ध संसद्को सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो । सो मुद्दा लेखा समितिले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाए पनि छानबिन भने गरेको छैन । उता, महानगरीय ट्राफिक कार्यालयका डिआइजी जयबहादुर चन्द पाए सिआइबी नत्र विमानस्थलकै सुरक्षा प्रमुख बन्ने दौडमा छन् । 

वरीयता क्रममा उनी तेस्रो नम्बरका डिआइजी हुन् । यसअघि उनी सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट महानगरीय ट्राफिकमा बाजी मारेका थिए । फेरि उनी इन्चार्जबाट इन्चार्ज खोज्दै सिआइबी, विमानस्थल र मध्यक्षेत्रको प्रमुखका लागि राजनीतिक लबिङमा लागेका छन् । भावी आइजिपीका रूपमा हेरिएका डिआइजी नवराज सिलवाललाई इन्चार्जबाट अपराध विभागमा सरुवा भए पनि चन्द र अर्याल भने इन्चार्जबाट इन्चार्ज पाउने भाग्यमानी डिआइजी हुन् । डिआइजी भण्डारी भने प्रधान कार्यालयको विशेष ब्युरोमा कार्यरत छन् ।

Post a Comment

0 Comments