Subscribe Us

प्रचण्डमाथी बाबुरामको दश गंम्भिर आरोप,
लडाकु शिविरमा पचण्डले यसरी गरे भ्रष्टाचार

काठमाडौं : नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईलाई हिजोआज भ्याइनभ्याइ छ ।

 शनिबार युवाविद्यार्थीमाझ नयाँ शक्तिको चर्चा गरेका भट्टराईले आइतबार पूर्व जनमुक्ति सेना र योङ कम्युनिस्ट लिगका पूर्व कार्यकर्ताहरुलाई भेटे र नयाँ शक्तिमा लाग्न आग्रह गरे।


पूर्व जनमुक्ति सेनासँगको भेटमा उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको अन्तरसंघर्षका कारण खोतले, शान्ति र संविधानको मुख्य लक्ष्य आफ्नो भएको र प्रचण्ड सधैँ त्यसको विरोधमा रहेको दाबी गरे। लडाकु शिविरमा कसरी भ्रष्टाचार भयो र नेपाली सेनामा समायोजन हुने माओवादी लडाकुको संख्या कसरी घट्यो भन्ने 'खुलासा' गरे। 

'म नयाँ शक्तिको कुरा गर्नुपूर्व भावनात्मक कुरा गर्न चाहन्छु' भन्दै कुरा थालेका भट्टराईले जनयुद्धकालमा आफूलाई पार्टी नेतृत्वले घेराबन्दीमा पारेको दाबी गरे। भट्टराईको सम्बोधनका मुख्य अंशः

१.       जनसेनालाई धेरै कुरा थाहा नै दिइँदैनथ्यो

युद्ध भन्ने बित्तिकै त्यहाँ कमाण्ड र कन्ट्रोल हाबी हुन्छ, केन्द्रीयता हाबी हुन्छ, सेनाको फौजी संरचना हुन्छ। हामीले जनवादको जगमा उभिएको जनमुक्ति सेना त भन्यौँ तर हाम्रो संस्कृति, संस्कार र शैली आदिको कारणले जनमुक्ति सेनाको निर्माण अत्यन्त केन्द्रीयता प्रधान भयो।

 १० वर्षे जनयुद्धका थुप्रै अन्तरसंघर्षहरुबारे तपाईँहरुलाई राम्रोसँग जानकारी नै दिइएन। हामी जनमुक्ति सेनाकै सुरक्षामा बस्थ्यौँ। देशका आधार इलाकाहरुमा बस्दा र देशका विभिन्न ठाउँमा घुम्दा जनमुक्ति सेनाका साथीहरुले नै हामीलाई सुरक्षा दिनुहुन्थ्यो। तर हामीले पार्टीभित्र जुन बहसहरु चलाउँथ्यौँ, त्यो तपाईँहरुलाई थाहा हुँदैनथ्यो, थाहा नै दिइँदैनथ्यो।

२.       नेतृत्व अवसरवादीको कब्जामा

तर त्यहाँ आफूलाई रुपमा पुराना क्रान्तिकारी भन्ने तर व्यवहारमा घोर अवसरवादी चरित्र भएका मानिसहरुले नेतृत्व कब्जा गरेका थिए। उनीहरुले गलत ढंगले त्यसको अपव्याख्या गरेर बाबुराम जनमुक्ति सेना विरोधी छ, ऊ पढेलेखेको मान्छे पढेलेखेकालाई मात्रै मन पराउँछ, विश्वास गर्छ, तपाईँहरु लड्ने भिड्ने मान्छेहरुलाई विश्वास गर्दैन भन्नेजस्ता भ्रमहरु तपाईँहरुलाई छरिएको रहेछ।

३.       राजासँग साँठगाँठ

अब संघीय लोकतान्त्रिक गणतन्त्रको नारा दिएर मात्रै नेपालमा पूँजीवादी क्रान्ति पुरा गर्न सकिन्छ र त्यसको जगमा टेकेर अघि बढ्नुमात्र नेपालको सन्दर्भमा नयाँ जनवादी क्रान्तिको विकसित रुप हुन्छ भन्ने जुन नयाँ विचार ५९/६० सालमा मैले अघि सारेको थिएँ, त्यसकै निहुँमा भित्रभित्रै ज्ञानेन्द्रसँग साँठगाँठ गरेर सत्तामा पुग्ने उनीहरुको अभिलाशा थियो। त्यसको निम्ति रुक्माङ्गत कट्वालसँग मिलेर वार्ता गरेर अगाडि जाने तयारी उनीहरुले गरेका थिए।

 तर मेरो भनाइ थियो- त्यो बेठिक हुन्छ। त्यो त पहिलाका कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीले पञ्चायती व्यवस्था र राजालाई प्रगतिशील र देशभक्त ठानेजस्तो हुन्छ, केशजंग प्रवृत्तिको पुनरावृत्ति हुन्छ, आन्दोलन र जनयुद्धलाई धोका हुन्छ भन्ने हाम्रो भनाइ यो थियो।

४.       हातहतियार खोसेर अपमान गरियो

तर उनीहरुले बलजफ्ती सत्ताको बलमा भ्रम छरेर हामीलाई कारबाही गर्ने, तपाईँहरुको घेराबाट बाहिर निकाल्ने, हातहतियार खोस्ने र हाम्रो अपमान गर्नेसम्मका काम उनले गरेका थिए। रोल्पाको मिरुलबाट हामी निस्कन लाग्दा हाम्रो सुरक्षामा बसेका रुकुम, रोल्पा र सल्यानका साथीहरु बिदा हुनेबेलामा अत्यन्त डाँको छोडेर रुनुभयो। उहाँहरुले भन्नुभयो- कमरेड ! हामीले त तपाईँको नाम सुनेर आएका हौँ।

कसैले भन्नुभयो- १० कक्षामा पढ्थेँ। कसैले भन्नुभयो- ८ कक्षामा पढ्थेँ। हामीले त प्रचण्ड भन्ने मान्छे त चिनेकै थिएनौँ, सुनेकै थिएनौँ। हामी त बाबुरामको नाम सुनेर पढेलेखेको मान्छे पनि जनयुद्धमा लागेको छ, यो ठिक छ भनेर लागेका थियौँ। अहिले मात्रै थाहा भयो, यो त गलत रहेछ। पार्टी त गलत मान्छेहरुको हातमा रहेछ,तपाईँलाई छोडेर जानुपर्दा अत्यन्त मर्माहत छौँ भनेर धुरुधुरु रुनुभयो। हतियार लिएर उहाँहरु जानुभयो। मार्मिक दृश्य थियो त्यहाँ। मैले पछि सुनेँ, मेरो सुरक्षामा खटिनुभएका कम्पनी कमान्डर दिग्दार भएर पलायन नै हुनुभयो। उहाँ रुकुमको साथी हुनुहुन्थ्यो। 

५.       पार्टीको साधनश्रोतमाथि कब्जा



जनमुक्ति सेनाका साथीहरुलाई वैचारिक/राजनीतिक सेना भनेर प्रशिक्षित गर्न चाहेका थियौँ। माओको सिद्धान्त थियो यो बन्दुकले लड्ने सेना होइन,विचारले लड्ने सेना हो। तर केही गलत मान्छेहरु जसले पार्टीमाथि कब्जा जमाएका थिए र गलत ढंगले पार्टीको साधन श्रोतमाथि कब्जा जमाएर गलत दिशातिर लैजाँदै थिए, उनीहरुले जनमुक्ति सेनालाई पनि त्यो प्रकारको भ्रम छरेका थिए।

६.       मेरो भूमिका दबाइयो

पछि पनि उनीहरुले गलत बाटो लिन खोजेका थिए तर ज्ञानेन्द्रले लात हानिसकेपछि घुमिफिरिकन हाम्रै बाटामा आए। चुनवाङपछि हामीले जुन बाटो भनेका थियौँ, त्यही बाटोमा पार्टी आयो। र, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमसम्म पुग्यौँ। संविधानसभाबाट संविधान जारी गर्ने ठाउँसम्म हामी पुग्यौँ। हामीले युद्ध जितेका पनि थिएनौँ र हारेका पनि थिएनौँ। सम्मानजनक सम्झौता गरेर जनमुक्ति सेनाको समायोजन गरेर नेपाली सेनाको पनि लोकतान्त्रिकरण गरेर नयाँ ढंगले नेपालमा क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो। त्यही अनुरुप १२ बुँदे समझदारी, वृहत शान्ति सम्झौता भए। यी सबै ठाउँमा म नै केन्द्रीय रुपमा थिएँ।

 १२ बुँदे समझदारी बनाउँदा र सेना समायोजनको सम्झौता लेख्ने काम पनि मैले नै गरेको थिएँ। भलै त्यतिबेला हैसियत मिलाउनको निम्ति हस्ताक्षर कृष्ण सिटौला र कृष्णबहादुर महराले गर्नुभएको थियो। अनमिनसँग बसेर हातहतियार व्यवस्थापन र सेना समायोजन सम्बन्धि सम्झौताको लिखत पनि मैले नै तयार पारेको थिएँ। तर यी कुराहरु सबै कुरा तपाईँहरुबाट लुकाइरहेको थियो। जनमुक्ति सेनामा कमिसारको व्यवस्था हुन्थ्यो, पार्टीको सुरक्षा अंग हुन्थ्यो तर त्यसको कहिल्यै पनि बैठक नै बोलाइएन, लुकिछिपी बसेर औपचारिकता मात्र निभाइयो र कमान्डरलाई अलग ढंगले डिल गरियो। पार्टीभित्रको विचार र अन्तरसंघर्षलाई पछि सम्म पनि लुकाइयो।  

७.       प्रचण्डलाई मेरो रिस

सेना समायोजन सम्झौता सम्मानजनक ढंगले नै गरिएको थियो। म प्रधानमन्त्री भएको बेला अनुकूल समय थिएन। तर म एउटै कारणले प्रधानमन्त्री बनेको थिएँ। प्रचण्डको बन्ने सम्भावना थिएन। उहाँको विश्वसनीयता गुमेको थियो। कुनै पार्टीले विश्वास गर्दैनथ्यो, कुनै शक्तिले विश्वास गर्दैनथ्यो। किनभने उहाँ चर्का कुरा गर्दिने, बिहान एउटा कुरा र बेलुका अर्को कुरा गर्दिने। त्यो अविश्वसनीयताको कारणले उहाँलाई कसैले पनि विश्वास नगर्ने।

 त्यो कारणले गर्दा हाम्रो हातबाट सरकार गयो। अरुको सरकार रहँदा उनीहरु जनमुक्ति सेनालाई विघटन गर्न चाहन्थे, समायोजन गराउन चाहँदैनथे। प्रचण्ड नेतृत्वको सरकार गएपछि माधव नेपाल नेतृत्वको सरकार बन्यो, झलनाथको सरकार बन्यो, त्यतिबेला सेना समायोजनको प्रक्रिया कहीँ पनि अगाडि बढेन। त्यो जटिल अवस्थामा फेरि माओवादीकै नेतृत्वमा सरकार नबनेसम्म सेना समायोजन हुने अवस्था थिएन। तर प्रचण्डलाई कुनै पनि पार्टीले पत्याउँदैनथ्यो। मलाई चाहिँ प्रचण्डले हुन दिँदैनन्। अरु मानिस छैन।

 प्रचण्ड बरु अरु होस् बाबुराम नहोस् भन्ने चाहन्थे। त्यसैले गर्दा उनले माधव नेपाल, पछि झलनाथलाई बनाए। झलनाथलाई बनाएपछि पनि सेना समायोजन अगाडि बढ्न सकेन। झलनाथ भनेका पनि एमाले नै थिए। उनको पनि जनमुक्ति सेनालाई हेर्ने दृष्टिकोण उही थियो। तर प्रचण्डले मेरो रिसको कारणले गर्दा उनले त्यसो गरे।

 अन्तिम अन्तिम बेला प्रधानमन्त्री भएर केही गर्न सकिँदैन, बदनाममात्र हुन्छ भन्ने मलाई थाहा थियो। मैले सेना समायोजन पुरा गर्न सकिएन भने १० वर्षे जनयुद्धको औचित्य रहँदैन,जनमुक्ति सेना विघटन भयो वा प्रक्रिया पुरा भएन भने हाम्रो युद्ध हारेको ठहर्छ र युद्ध हारिसकेपछि हामीले त्यसमा टेकेर अगाडि बढ्ने ठाउँ रहँदैन भनेर रिस्क लिएर सेना समायोजनकै लागि म प्रधानमन्त्री भएको थिएँ।

८.       सेनाको शिविरमा अनियमितता

म असोज ३ गते प्रधानमन्त्री बनेँ, कात्तिक १५ गते सेना समायोजन सम्बन्धी सम्झौता गर्‍यौँ। ६ हजार ५०० जनमुक्ति सेनालाई समायोजन गर्ने कुरा उपयुक्त नै थियो। २० हजारमा कमसेकम १० हजार समायोजन हुन् भन्ने थियो। अन्यथा नमान्नुहोला, हाम्रो नेतृत्वकै कुबुद्धिले गर्दा डरलाग्दो प्रकारको अनियमितता त्यहाँ भित्रभित्रै भैराखेको थियो।

 म प्रधानमन्त्री हुँदा जुन जोडबलमा सम्झौता भएको थियो, त्यो उपयुक्त थियो तर पछि पार्टीभित्र जुन ढंगको अस्वस्थ प्रकारको अन्तरसंघर्ष रह्यो, त्यो कारणले गर्दा जनमुक्ति सेनाभित्र यो समायोजनको महत्व ठिक ढंगले त्यहाँ पुग्न सकेन। हामीलाई त ती मान्छेहरुले शिविरमा जान पुरै छेकबार गर्ने गर्थे। त्यहाँभित्र अरबौँको चलखेल हुने गर्थ्यो। त्यहाँ सीमित मान्छेहरु बस्ने र उनीहरुले मात्र जनमुक्ति सेनाका गोप्य कुराहरु भित्र राख्ने प्रयत्न गर्थे। 

सेना समायोजन गर्ने बेलामा मबाट समेत लुकाएर उनीहरुले भित्रैभित्रै गतिविधि गर्थे। पछि त थाहा भयो यति धेरै विकृति र विसंगति त्यहाँ बढेछ, कमाण्डरको बिचमा आफै मारामार भएर सिद्धिने खालको खतरा पनि त्यहाँ पैदा भएछ। चैत २८ गते सेनालाई विधिवत रुपमा समायोजन गर्ने निर्णय भयो तर त्यो भन्दा पहिला नै थाहा भयो, त्यहाँको साधन स्रोत कब्जा गर्ने काम भएछ।

 दुश्मनले पनि खेलेर सकभर नेपाली सेनामा नजाउन् बरु यिनीहरु बाहिर निस्कुन् भनेर प्रयत्न गर्ने र भित्र पनि अन्तरसंघर्ष हुने हुँदा ६ हजार ५०० जनमुक्ति सेना समायोजन हुनुपर्नेमा जम्मा १४००  मात्रै समायोजन हुन पुगे। पार्टीभित्र रहेका गलत मान्छेहरु र जनमुक्ति सेनाको नेतृत्व हत्याउने गलत मान्छेहरुको प्रवृत्तिले गर्दा ठिक ढंगले समायोजन हुन सकेन।

९.       सेनालाई काखापाखा गरियो

मैले सुनिराखेको छु, तपाईँहरुलाई जुन ढंगले जनमुक्ति सेनाबाट बहिर्गमन गरियो र स्वैच्छिक अवकास लिएका कतिपय साथीहरुको व्यवस्थापन योजनाअनुसार हुन सकेन। साधनश्रोतहरुको असमान ढंगले वितरण गरियो, काखा र पाखा गरियो। केही कमाण्डरहरुको र पार्टी नेतृत्वमा रहेका गलत मान्छेहरुको कारणले गर्दा त्यो योजना पनि ठिक ढंगले बन्न सकेन। जसको कारण त्यत्रो क्रान्ति गरेर आएका साथीहरुको व्यवहारिक जीवन चिल्लीबिल्ली भयो, यो भन्दा दुखद कुरा अरु हुन सक्दैन। 

१०.    प्रचण्ड शान्ति र संविधानको विरोधी

यो यात्रा (शान्ति र संविधान) हाम्रै कारणले गर्दा पुरा भएको हो। जनमुक्ति सेनाका साथीहरुलाई थाहा छ यो राजनीतिक लाइन कसले ल्याएको हो। संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने र सेना समायोजन गरेर नेपाललाई भिन्न ढंगले अगाडि बढाउने भन्ने यो लाइन किरणजीको लाइन हो कि प्रचण्डजीको लाइन हो कि बाबुरामको लाइन हो? यो तपाईँहरुलाई थाहा छ- यो हाम्रो लाइन थियो।

 पालुङटारमा त हामीले खुलेआम यही भनेका थियौँ- संविधान बनाउँ, गणतन्त्र ल्याउँ, सेना समायोजन गरौँ र अगाडि बढौँ। तर ती साथीहरुले नै यो लाइनको विरोध गर्नुभएको हो नि। किरणजीले त इमान्दारितापूर्वक खुलै विरोध गर्नुभयो तर प्रचण्डजीले चाहिँ प्रष्ट रुपले विरोध गर्न नसकेर कहिले किरणसँग नजिक कहिले बाबुरामसँग नजिक भनेर अन्ततः उहाँले फेरि यसको विरोध गर्नुभएको हामीलाई थाहा छ नि। 
  • पहिलोपोस्ट बाट

Post a Comment

0 Comments