Subscribe Us

अख्तियार दुरुपयोग आयोगले रिस साँध्योः पूर्व अर्थमन्त्री पाण्डे

चितवन, २० मङ्सिर । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि रिस साँधेको बताएका छन् । भरतपुरमा आईतवार पत्रकारसँग कुराकानी गर्दै उनले गत वर्ष अर्थ समितिमा आयोगका प्रमुख आयुक्तलाई बोलाएकै कारण आफूमाथि रिस साँधेर अनुसन्धानको सूचीमा राखिएको बताए । 

विस्तृतमा आफूलाई थाहा नभइसकेको भन्दै उनले, “तपाईंहरू सबैलाई थाहै छ, गत वर्ष अर्थ समितिले बोलाउँदा आउने÷नआउनेदेखि, चर्काचर्की र बीचैमा उठेर हिँड्ने काम भएको थियो, त्यसैको रिस साँधिएको होला ।” 

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहेका पाण्डेले भने– “आफ्नो जिम्मेवारीलाई यसरी गलत ढङ्गबाट प्रयोग गर्नु हुँदैन ।” उनले आफूले एक सुका तलमाथि कतै नगरेको जिकिर पनि गरे । पाण्डेले सांसद कोषको रकममा समेत कुनै अनियमितता नहोस् भनेर आफूले सजग गराएको स्मरण गराए ।

 अख्तियारले आफ्नो दायराभन्दा बाहिर गएर काम गरेको उनले आरोप लगाए । उद्योगी, व्यवसायीलाई समेत बिनाकारण अनुसन्धानको दायरामा राखेको भन्दै पाण्डेले  कसैले पनि काम गर्न नपाउने ? भन्दै प्रश्न गरे । पत्रकारको एक प्रश्नमा उनले कोही पनि चित्त बुझाएर नबस्न आग्रह गर्दै भने, आफूले कुनै गल्ती नगरेको र पार्टीको जिम्मेवार पदमा रहेकाले यस विषयमा पार्टीले नै फेस गर्ने पनि उनले बताए । 

Post a Comment

0 Comments