Subscribe Us

अपराध नियन्त्रण तथा अनुसन्धान गर्न ‘डिजिटल फरेन्सिक’

काठमाडौँ । अपराधमा सूचना प्रविधिको प्रयोग बढेसँगै त्यसलाई नियन्त्रण गर्न प्रहरीले ‘डिजिटल फरेन्सिक’ प्रविधिको प्रयोग सुरु गरेको छ । साठीऔँ अपराध अनुसन्धान दिवसको अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालयमा आज सो प्रविधिको शुभारम्भ गरेका हुन ।  

फेसबुक, इमेल, इन्टरनेट, मोबाइल, ल्यापटपजस्ता प्रविधिको अनुगमन र अनुसन्धान गर्न ‘डिजिटल फरेन्सिक’ प्रविधिले सहयोेग पुर्याउने छ । फेसबुक, मोबाइल, इमेलमार्फत हुने साइबर अपराध रोकथाम गर्न र प्रयोग भएका सामग्रीको अनुसन्धान गर्न यो प्रविधिको प्रयोग गरिनेछ । महानिरीक्षक अर्यालले प्रहरीलाई आधुनिकीकरण गर्ने प्रक्रियाको सुरुवातका रूपमा यो प्रविधि भित्र्याइएको बताए । 

अहिले भइरहेको अपराधका घटनामा ९० प्रतिशतभन्दा बढी घटनामा कुनै न कुनै माध्यमका सूचना प्रविधिको प्रयोग जोडिएको देखिएकाले अहिले प्रहरीले भित्र्याएको नयाँ प्रविधिमार्फत ती घटनाको अनुसन्धान गर्न सहज हुने विश्वास आईजीपी अर्यालको छ । 


आईजीपी अर्यालले भने – “अहिले अपराधीले सङ्गठित समूह निर्माण र नयाँ प्रविधिको प्रयोग बढाएका छन् । हामीले पनि अन्तर्राष्ट्रिय रूपमा सङ्गठित भएर नयाँ प्रविधिको प्रयोग बढाएरमात्रै त्यसको सामना गर्न सक्छौँ ।” 

कार्यक्रममा गृहमन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले प्रहरीले नयाँ चुनौतीको सामना गर्न सोहीअनुरूपको अत्याधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए । 

Post a Comment

0 Comments