Subscribe Us

चालककोे योजनामा पेट्रोलसहितको ट्याङ्कर अपहरण

पथरी । मंगलवार राति विराटनगरमा आयल निगमको पेट्रोल ट्याङ्कर नै अपहरणको प्रयास भएको छ । रातको दुई बजेको समयमा अज्ञात तीन जना व्यक्तिले ना २ ख ५०२९ नंको इन्धन बोकेको ट्याङ्करका सहचालकलाई धम्क्याएर पेट्रोल ट्याङ्करलाई नै अपहरण गर्ने खोजेको गाडीका सहचालक बब्लुकुमार पासवानले जानकारी दिएका छन् । 

अपहरण कर्ताले गाडीलाई नियन्त्रणमा लिई झन्डै सय मिटर अगाडिको तिरूपति पेट्रोल पम्प नजिक गाडीको स्टार्ट बन्द भएपछि उनिहरुको योजना असफल भएको थियो । गाडी नचलेपछि सहचालकको मुख बाँधेर सो समूहले इन्धनको सिल फोडेर तेल निकालेर लगेको सहचालक पासवानले बताए । 

सोमबार साँझ भारतबाट आएको गाडी कोसी आयल अगाडि राखिएको थियो । गाडी राखेर घर गएका गाडीका चालक विश्वेश्वर चौधरीले घटनाका बारेमा जानकारी नभएको बताए । कसरी त्यस्तो भयो मलार्ई थाहा छैन उनले भने । 

तेलको ट्याङ्कर गायब गर्ने गरी आएको टोलीले झन्डै २०० लिटर तेल निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले मोटरसाइकल तथा जुत्ताको आधारमा दुईजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

पक्राउ पर्नेमा सोही गाडीका चालक विश्वेश्वर चौधरी र विराटनगर–५ खार्जीका बलराम राजवंशी रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालकको समेत मिलेमतो भएको हुनसक्ने देखिएकाले नियन्त्रणमा लिएको जनाएकोे छ । प्रहरी चौकी आयल निगमका प्रहरी सहायक निरीक्षक जीवन गिरीले रातिको समयमा आएका तीनजना मध्ये एकजनालाई इन्धनसहित पक्राउ गरिएको जानकारी दिए । 

प्रहरीले अन्य तीनजनालाई पनि अनुसन्धानको घेरामा राखेको र ना ४ ख ४५० नंको ट्याङ्करका चालक तुलसी चौधरी र अर्का चालक रूपेश यादवको समेत संलग्नता रहेको हुन सक्ने बताएको छ । यसरी ठूलो माफिया अहिले तेल कालोबजारीमा संलग्न रहेको देखिएको छ ।  

Post a Comment

0 Comments