Subscribe Us

सेनाको इनर्जी बिस्कुट खरिदमा करोडौँ घोटाला,
ऐनको उल्लङ्घन गर्दैै चौधरीको उद्योगबाट तीन वर्षको लागि खरिद गर्ने निर्णय

काठमाडौं । नेपाली सेनालाई आवश्यक पर्ने इनर्जी बिस्कुट र दूध खरिदमा करोडौँ रुपैयाँ घोटाला भएको रहस्य खुलासा भएको छ । विनोद चौधरी र वसन्त चौधरीले नेकपा एमालेको भारतसँग बिग्रिएको सम्बन्ध सुधार गरिदिने भन्दै एमाले नेतृत्वलाई सहमत गराएर नेपाली सेनाको लागि आवश्यक पर्ने बिस्कुट र दूध सार्वजनिक खरिद ऐनको उल्लङ्घन गर्दैै सिधै चौधरीको उद्योगबाट तीन वर्षको लागि खरिद गर्ने निर्णय गराई करोडौं रुपैंया घोटला गर्न सफल भएका हुन । 

चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै एमाले नेतृत्वलाई सहमत गराएर सार्वजनिक खरिद ऐनविपरीतको निर्णय नेपाली सेनाबाट गराउन सफल भएका हुन् । भारतले नाकाबन्दी लगाएपछि प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिको रुपमा विनोद चौधरीले भारतीय प्रधानमन्त्री मोदीसँग पटक–पटक वार्ता गरिसकेका छन् ।

 चौधरीद्वयले आफ्नो पहलमा वीरगञ्जबाहेक अन्य नाकाबाट नेपालतर्फ आपूर्ति सहज गराउन सफल भएको बताउँदै आएका छन् । यद्यपि अन्य नाकामा मधेशी मोर्चाको पहँुच नपुगेको कारण मात्र नाका सहज भएको हो । मधेशी मोर्चाले धर्ना नदिएको कारण नाकाको अवरोध हटे पनि चौधरीले आफूले पहल गरेर भारतीयमार्फत मोर्चालाई भनेर वीरगञ्जबाहेकका अन्य नाकामा धर्ना दिन रोकेको दाबी गरेका छन् ।

चौधरी दाजुभाइले आफूहरुको कम्पनीबाट नेपाली सेनाले पाँच वर्षका लागि लागि बिस्कुट र दूध खरिद गरेमा अहिले नाका खोल्ने मात्र होइन, एमालेसँग चिसिएको सम्बन्ध समेत सुधार गरिदिएर एमालेलाई दीर्घकालसम्म राजनीति गर्न सहज बनाइदिने आश्वासन दिएको स्रोतले जानकारी दियो । 

तर, पाँच वर्षका लागि नै ठेक्का दिँदा विवाद चर्किने भएको भन्दै सेनाले तीन वर्षका लागि मात्र चौधरीको कम्पनीबाट बिस्कुट र दूध विना टेण्डर खरिद गर्ने निर्णय गरेको हो । सेनाले रक्षामन्त्री भीम रावलको सहमतिमा तीन वर्षका लागि सिधै बिस्कुट र दूध खरिद गर्ने निर्णय लिएको सेनानिकट स्रोतले जानकारी दियो ।

यसअघि सेनाले दूध र बिस्कुट टेण्डरबाट खरिद गर्दै आएको थियो । टेण्डरबाट ठेकेदारमार्फत दूध र बिस्कुट खरिद गर्दा ठूलो व्ययभार परेको सेनाले बताए पनि अघिल्लो वर्ष पनि सेनाले चौधरीकै कम्पनीबाट खरिद गरेको थियो । करोडौँ रुपैयाँको खरिदमा टेण्डर गर्नैपर्ने कानुनी प्रावधानलाई स्वदेशी कम्पनी भनेर नेपालमा दूध र इनर्जी बिस्कुट उत्पादन गर्ने कम्पनी नै छैनन् जस्तो गलत व्याख्या गरेर सेनाले चौधरीको स्वामित्वको कम्पनीबाट दूध र बिस्कुट खरिद गर्ने निर्णय गरेको हो । 

सेनाले मकवानपुरको उद्योगबाटै दूध खरिद गर्नुपर्ने कुनै नियम, कानुन नभए पनि मंसिर २७ गतेको मितिमा सार्वजनिक गरेको सूचनामा मकवानपुरमा रहेको एकमात्र उद्योगबाट सिधै खरिद गर्ने निर्णय भएको जनाएको छ । यसले खरिद प्रक्रियामा ठूलो दबाब र स्वार्थ रहेको तथा त्यसलाई ढाकछोप गर्नका लागि मात्र मकवानपुरमा रहेको एकमात्र उद्योग भनेर उल्लेख गरिएको सैनिक स्रोतले जानकारी दिएको छ । 

त्यस्तै, सेनाले चौधरीको स्वामित्वमा सुनसरी जिल्लाको दुहवीमा रहेको पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालिबाट ‘हाइ इनर्जी बिस्कुट’ सोझै खरिद गर्ने निर्णय गरेको छ । उक्त कम्पनीबाट सोझै गरिने खरिदलाई ढाकछोप गर्नको लागि सेनाले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त कम्पनी भनेको छ । नेपालमा इनर्जी बिस्कुट उत्पादन गर्ने आधा दर्जन बढी कम्पनी छन् । 

इनर्जी बिस्कुट उत्पादन गर्ने कम्पनीले मात्र होइन, अन्य कम्पनीले पनि गुणस्तर प्रमाण चिह्न लिनुपर्छ । तर, त्यही गुणस्तर चिह्नलाई सेनाले आफ्नो सूचनामा बढी जोड दिएको छ । यसले सेनाको दूध र बिस्कुट खरिदमा ४० करोड रुपैयाँभन्दा बढी घोटाला भएको सैनिक स्रोतले जानकारी दिएको छ । ती कम्पनीबाट सेनाले २०७२ माघ १ गतेदेखि २०७५ साल पुस मसान्तसम्म खरिद गर्नेछ । 

सेनाले इनर्जी बिस्कुट उत्पादन र दूध उत्पादन गर्ने ती दुई कम्पनी मात्र भएको आशय झल्किने गरेर सूचना प्रकाशित गरे पनि गत वर्ष एसियन बिस्कुट एण्ड कन्फेन्सनरी प्रालिको भन्दा वसन्त चौधरीको पशुपति बिस्कुट प्रालिले तीन पैसा कममा ठेक्का पारेर सेनालाई बिस्कुट बिक्री गरेको थियो । सार्वजनिक खरिद ऐनको गलत व्याख्या गरेर सेनाले तीन वर्षका लागि सिधै हेटौँडामा रहेको चौधरीको हेटौँडा इण्डष्ट्रिज प्रालिले उत्पादन गर्ने ‘स्विटेण्ड कण्डेन्स्ड मिल्क’ खरिद गर्ने निर्णय गरेको हो ।

 सेनाले चौधरीको उद्योगले गुणस्तर प्रमाण चिह्न प्राप्त गरेको बाहेक अरु कुनै गुण देखाउनसकेको छैन । सेनाले बिस्कुटमा यी–यी इनर्जी राख्नुपर्छ भनेर लेखेर दिएपछि बिस्कुट उत्पादन हुने भएकाले ठूला बिस्कुट उद्योगहरुले सहजै सेनाको मागअनुसारका इनर्जी बिस्कुट उत्पादन गर्ने एसियन बिस्कुट एण्ड कन्फेन्सनरी प्रालिका महेश जाजूले बताए । उनले भने, ‘गत वर्ष मेरो कम्पनी पनि सेनाको छनोटमा परेको थियो ।

तर, पशुपति बिस्कुटभन्दा मेरो कम्पनीले तीन पैसा बढीमा टेण्डर हालेको कारण परेन ।’ जाजूको उक्त भनाइले इनर्जी बिस्कुट चौधरीको पशुपति बिस्कुट कम्पनीबाटै सेनाले खरिद गर्नुपर्ने भन्ने तर्कले मेल खाँदैन । यदि सेनाका छनोटमा गत वर्ष नै एसियन बिस्कुट परेको थिएन भने सेनाले गरेको दाबीले केही रुपमा विश्वास गर्न सकिन्थ्यो । खजुरी बिस्कुट प्रालिका ओम महर्जनले पनि सेनाले सार्वजनिक खरिद ऐनविपरीत गएर इनर्जी बिस्कुट खरिद गरेको दाबी गरे ।

‘यति धेरै रकमको बिस्कुट र दूध तीन वर्षका लागि सिधै खरिद गर्नखोज्नुले सार्वजनिक खरिद ऐनको ठाडो उल्लङ्घन भएको छ । चौधरीको पशुपति बिस्कुटसहित नेबिको बिस्कुट बालाजु, कर्माचार्य ब्रेड एण्ड फूड पोखरा, खजुरी बिस्कुट ललितपुर, एसियन बिस्कुट विराटनगर पनि सेनाको मापदण्डअनुसारको इनर्जी बिस्कुट उत्पादन गर्न सक्षम छन् । 

अन्य केही बिस्कुट उद्योग पनि सेनाले दिएको मापदण्डअनुसारको बिस्कुट उत्पादन गर्न सक्षम रहेका छन् । सेनाले देशभर रहेका ९७ हजार तीन सय १५ जना सेनाको लागि तीन वर्षका लागि बिस्कुट र दूध सिधै खरिद गर्ने निर्णय गरेको हो । टेण्डर गरेर खरिद गर्दा त करोडौँ रुपैयाँ भ्रष्टाचार हुने गर्छ भने सिधै खरिद गर्दा टेण्डर गरेर खरिद गरेभन्दा कैयौँ गुणा बढी भ्रष्टाचार हुने प्रष्ट छ ।

Post a Comment

0 Comments