Subscribe Us

कालोबजारी लुकाउन डीएसपीलाई टेलिभिजन घुस !

स्याङ्जा । पेट्रोलियम कालोबजारीविरुद्ध नेपाल प्रहरीले देशव्यापी अभियान चलाईरहेका बेला जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख डीएसपी राजा कुमार बैदवारले स्याङ्जाका एक पेट्रोलपम्प मालिकबाट टेलिभिजन घुस लिएको रहस्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार डीएसपी बैदवारले वालिङ्गको एक पेट्रोलपम्प मालिकसँग सामसुङ कम्पनीको ३२ इन्चको एलईडी टेलिभिजन घुस लिएका हुन् । 
विवादस्पाद छविका डीएसपी बैदवारको लागि ती पेट्रोलपम्प व्यवसायीले बुटवलको मिलनचोकमा रहेको लोटस इलेक्ट्रोनिक्सबाट उक्त टेलिभिजन किनिदिएको स्रोतले बताएको छ । स्रोतका अनुसार बैदवारले ती पेट्रोलपम्प मालिकलाई “तपाईंको पेट्रोलपम्पमा चर्को मूल्यमा पेट्रोलियम पदार्थ बेचिरहनुभएको सूचना पाएको छु, हामीलार्ई पनि यसो केही त हेरिदिनुप¥यो नि नभए त तपाईंलार्ई नै अप्ठ्यारो होला’ भन्दै बार्गेनिङ सुरु गरेका थिए । 

कालोबजारी गरेको भन्दै बैदवारले धेरै नै ‘टर्चर’ दिएर ब्ल्याकमेल गर्नथालेपछि ती पेट्रोलियम व्यवसायी उनको लागि टेलिभिजन किन्न आफ्नो टक्सन गाडी लिएर बुटवल हानिएका थिए । बुटवलको लोटस इलेक्ट्रोनिक्समा टेलिभिजन हेर्न गएका ती व्यवसायीले सुरुमा बिहेको लागि गिफ्ट दिनका लागि भनेका थिए तर पछि वारेन्टी कार्डमा नाम के राख्ने भनेर इलेक्ट्रोनिक्सका मालिकले सोध्दा उक्त टेलिभिजनको वारेन्टी कार्ड राज कुमार बैदवारको नाममा जारी गरिदिन आग्रह गरेको एक प्रत्यक्षदर्शीले जनामञ्च साप्ताहिकलाई बताएका छन् । 

त्यसो त मिडियामा छाउन रुचाउने डीएसपी बैदवार ‘सिनियर’ भए पनि आफ्ना पुराना कर्तुतको कारण बढुवामा पर्नसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रहँदा तराईमा सशस्त्र भूमिगत समूहका सदस्य सिकन्दर बागीलार्ई पक्राउ गरेर पाँच लाख रुपैयाँ असुलेर छोडिदिएको घटनामा मुछिएका थिए । उनले आर्थिक प्रलोभनमा परेर हत्या, अपहरण तथा बिस्फोटका घटनामा फरार रहेका बागीलाई कागजात मिलाएर उन्मुक्ति दिएको सूचना तत्कालीन प्रहरी महानिरीक्षक रवीन्द्र प्रताप शाहसँग पुगेपछि उनलार्ई कारबाहीस्वरुप धनगढ़ी गणमा सरुवा गरिएको थियो । 

धनगढी गणबाट हेटौंडा गणमा सरुवा भएका उनले इन्चार्ज पाउन महानिरीक्षक शाहलाई धेरै नै राजनीतिक दबाब दिएपछि जिल्ला प्रहरी गुल्मीको प्रमुखमा सरुवा भएको थियो । गुल्मीपछि एक महिना बुटवल तालिम केन्द्रमा कार्यरत उनले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आशीर्वादमा इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख हुने सौभाग्य पाएका थिए । 

बुटवलमा कार्यरत रहँदा चोरीका गाडीको कारोबार गरेको आरोपमा फरार रहेका गाडी तस्कर शरण शाहीलाई आत्मसमर्पण गराएर २५ लाख रुपैयाँ असुली गरेको र बुटवलको नेपालगञ्ज रोडमा जग्गाधनी थानेश्वर थापासँग मिलेमतो गरेर मध्यरातमा डोजर लगाएर घर भत्काउने घटनामा सहयोगीको भूमिकामा रहेर काम गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी हालसम्म पनि विचाराधीन रहेको स्रोतको दाबी छ । उक्त टेलिभिजन लिएको घटनाबारे सम्पर्क गर्दा डीएसपी बैदवारले त्यसबारे आफूलाई केही पनि जानकारी नभएको प्रतिक्रिया दिए ।

Post a Comment

0 Comments