Subscribe Us

बलात्कारका अभियुक्तलाई जोगाउन खोज्दा वीर अस्पतालका तीन कर्मचारी सिआईबीको फन्दामा


काठमाडौँ । 

बलात्कारका अभियुक्तलाई जोगाउन नक्कली कागजपत्र बनाएको आरोपमा वीर अस्पतालका तीन कर्मचारी पक्राउ परेका छन् । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान, सेवा आयोगका सदस्यसचिव लक्ष्मण अर्याल र कर्मचारीद्वय राजेश कार्की र कृष्ण तिमल्सिनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।

बलात्कार भएको वेला अभियुक्त अस्पतालमा उपचार गराइरहेको नक्कली कागजपत्र बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । बलात्कारका अभियुक्तलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो । मुद्दा पुनरावेदन अदालत पुगेपछि वीर अस्पतालको नक्कली कागजपत्र बनाएको खुलेको हो । बलात्कारका अभियुक्त कर्मचारी तिमल्सिनाका आफन्त भएकाले उनले किर्ते सरकारी कागजपत्र तयार पारी अदालतमा पेस गरेका थिए ।

सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लले किर्ते कागजपत्र बनाएको आरोपमा वीर अस्पतालका केही कर्मचारीलाई पक्राउ गरेको पुष्टि गरे । तर, अनुसन्धान पूरा नभएकाले प्रहरीले घटनालाई बाहिर ल्याएको छैन । बलात्कार भएका वेला अभियुक्त अस्पतालमै उपचार गराइरहेको कागजपत्र बनाउँदा सफाइ पाउने भएकाले त्यस्तो किर्ते काम भएको थियो । बलात्कारका अभियुक्त वीर अस्पतालसँग निकट व्यक्ति भएकाले त्यसरी किर्ते कागजपत्र बनाइएको प्रहरी अनुसन्धानमा खुलेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments