Subscribe Us

जग्गा किर्ते गरेको आरोपमा कानून व्यवसायी पक्राउ

भक्तपुर । मालपोत कार्यालयको जग्गा स्रेस्ता लगत किर्ते गरेको आरोपमा जिल्ला मालपोत कार्यालयका एक नायब सुब्बा, एक जना वकिलसहित तीन जना भक्तपुर प्रहरीको फन्दामा परेका छन् । 

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयमा कार्यरत तथा हाल कलंकी मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा देवराज केसी, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंको डिल्लीबजारमा भगवती ल फर्म सञ्चालन गरी बस्ने अधिवक्ता युवराज कोइराला र दोलखा नाम्दु गाविस–४ का मोति प्रसाद घिमिरे रहेको भक्तपुर प्रहरी स्रोतले बताएको छ । 

पक्राउ परेका तीनै जनाको मिलेमतोमा मध्यपुर थिमी नगरपालिका वडा नम्बर १६ लोकन्थली साबिक दिव्येश्वरी गाविस वडा नम्बर ३ ‘ख’मा अवस्थित कित्ता नम्बर ३५ को ३ आना २ पैसा, कित्ता नम्बर ४९ को १२ आना, कित्ता नम्बर ५१ को ५ आना २ पैसा, कित्ता नम्बर ५८ को १ रोपनी ११ आना क्षेत्रफलको जग्गा र साबिक दिव्येश्वरी गाविस वडा ४ स्थित कित्ता नम्बर ३१९ को १ रोपनी ६ आना १ पैसा क्षेत्रफलको जग्गाको सुवर्ण शमशेरको जेठो छोरा कनक शमशेरको नाममा मालपोत कार्यालय भक्तपुरमा रहेको स्रेस्ता किताबमा किर्ते गरेर नक्कली लगत खडा गरेका थिए ।

मालपोत कार्यालय भक्तपुरका नासु केसी, अधिवक्ता कोइराला र भूमाफिया घिमिरेको मिलेमतोमा खड्का थरका एक व्यक्तिको नाममा रहेको उक्त जग्गाको किर्ते लगत खडा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी सम्बन्धमा छानबिन गर्दै आयोगले आफ्नो कार्यक्षेत्रभित्र उक्त विषय नपर्ने भन्दै आवश्यक अनुसन्धान गरेर कारबाही गर्न गत महिना महानगरीय प्रहरीपरिसर भक्तपुरलार्ई निर्देशन दिएको थियो ।

 आयोगको निर्देशन बमोजिम प्रहरीले उक्त सरकारी कागजात किर्ते गर्ने धन्दामा संलग्न रहेको आरोप लागेका नायाव सुब्बा केसी र भू माफिया घिमिरेलाई करिब तीन हप्ताअगाडि पक्राउ परे पनि उक्त किर्तेकाण्डमा मुख्य भूमिकामा रहेका अधिवक्ता कोइराला फरार भएका थिए । 

प्रहरीले पक्राउ परेका केसी र घिमिरेलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान सम्पन्न गरी भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो भने अधिवक्ता कोइरालालाई फरार प्रतिवादी बनाएको थियो । भक्तपुर प्रहरीले पक्राउ गरेर अनुसन्धानपश्चात् गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमार्फत भक्तपुर जिल्ला अदालतमा दायर गरेको मुद्दामा थुनछेक आदेश गर्दै जिल्ला न्यायाधीश दयानाथ खरेलको इजलासले नायब सुब्बा केसीसँग ८५ लाख र भूमाफिया घिमिरेसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

 प्रहरी स्रोतका अनुसार अदालतको आदेशबमोजिमको धरौटी बुझाउन नसकेपछि केसी र घिमिरे डिल्लीबजार कारागार चलान भइसकेका छन् भने फरार रहेका अधिवक्ता कोइरालालाई महानगरीय प्रहरीपरिसर भक्तपुरको विशेष टोलीले मंगलबार अपराह्न काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर नजिकैबाट पक्राउ गरेको छ । 

भक्तपुर प्रहरी स्रोतका अनुसार अनुसन्धानको क्रममा उक्त किर्ते धन्दाको मुख्य योजनाकार नै अधिवक्ता कोइराला रहेको खुल्न आएको छ । भक्तपुर प्रहरीपरिसरको हिरासतमा रहेका कोइरालालाई आवश्यक कारबाहीको लागि बुधबार भक्तपुर जिल्ला अदालतमा बुझाउने तयारी प्रहरीको छ ।                    

Post a Comment

0 Comments