Subscribe Us

आमाको नामबाट नागरिकता देउः गृहमन्त्री

काठमाडौं । आमाको नामबाट नागरिकता प्रदान गर्न कर्मचारी तन्त्र बाधक भएकोे आरोप गृहमन्त्री शक्ति बस्नेतले लगाएका छन् ।

शुक्रवार संचारिका समूहले नागरिकता वितरण सम्बन्धमा गरेको अन्तक्रियामा गृहमन्त्री बस्नेतले यस्तो आरोप लगाएका हुन । 

अन्तक्रियामा काठमाडौकै विनिता चौलागाईंले आफूले छोरालाई तीन वर्षदेखि प्रयास गर्दा पनि नागरिकता दिलाउन नसकेको र काठमाडौ महानगरपालिकाका कर्मचारीले सिफारिस नै गर्न नमानेको गुुनासो मन्त्रीलाई सुनाउँदै आमाको नामबाट नागरिकता दिन किन यस्तो दुःख दिएको भनेर गृहमन्त्रीसँग उनले आक्रोस पोखिन ।  जवाफ मन्त्री बस्नेतले कर्मचारी तन्त्र पुरानो मानसिकताबाट ग्रसित भएको कारण कर्मचारीकै कारण सेवाग्राहीले दुःख पाएको जिकीर गरे । 
कर्मचारी तन्त्र पुरानो मानसिकताबाट ग्रसित भएको कारण सेवाग्राहीले दुःख पाउँदै आएका छन् । संबिधानले दिएकोे अधिकार सुनिश्चित नहुँदा करिब ९ लाख बालबालिका नागरिकता बिहीन हुन पुगेका छन् ।

 उनले आमाको नामबाट सहजरुपमा नागरिकता प्रदान गर्नको लागी सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्ने प्रतिबद्धतासमेत जनाए ।  बिभिन्न बहानामा कर्मचारीले कानूनी अड्चन देखाउँदै सर्बसाधारणलाई दुःख दिएकोे गुनासो आएपछि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरे । संविधान र कानूनले सुनिश्चित गरेको जनताको अधिकार कर्मचारीले कुनैपनि बहानामा रोक्न नपाउने उनले बताए । 

अन्तरिम संविधानले नै आमाको नाममा नागरिकता दिने व्यवस्था गरेको थियो । त्यहि व्यवस्थालाई नयाँ संविधानमा पनि निरन्तरता दिइएको छ । तर संवैधानिक व्यवस्थाका वाबजुद् स्थानीय निकायलसमेत नागरिकताको सिफारिस गर्दा  बाबु नै खोज्ने गरेका कारण संबिधानले दिएको अधिकारबाट जनता बन्चित हुँदै आएका छन् । चार वर्ष पहिलेको जनगणना अनुसार नेपालमा ८ लाख ९६ हजार ८ सय बालबालिका आमासँग मात्र बस्दै आएका छन् । 

संविधानले आमाको नाममा नागरिकता पाउने ग्यारेण्टी गरेपनि जिल्ला प्रशासन कार्यालयहरुले आमाको नाममा नागरिकता दिन कानूनी समस्या देखाउने गरेको गुनासो सर्बसाधारण ले गरेका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीले कानूनी समस्या देखाएर उम्किने गरेका कारण आफूहरुले नागरिकता पाउन नसकेको पीडितहरुले बताएका छन् । आमाको नाममा नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पटक पटक धाउँदा पनि नागरिकता नपाउने मध्येकी हुन् चितवनकी सरोजा शाक्य । 

सरोजाले शुक्रबार गृहमन्त्री शक्ति बस्नेतका सामुन्ने आमाको नाममा नागरिकता लिन जाँदा कर्मचारीले झुलाएको गुनासो गरिन् । आमाले लालनपालन गरेकाले आमाको नाममा नागरिकता लिन आफू  पटक पटक जिल्ला प्रशासन कार्यालय धाएको तर कर्मचारीले जहिले जाँदा पनि तीन दिनपछि आउनु भनेर फर्काउने गरेको र नागरिकता नहुँदा आफू बिरोजगार भएको दाबी उनको थियो । 

Post a Comment

0 Comments