Subscribe Us

यौवनमा राजनीति, प्रौढमा रङ्गनीति

विनोद ढकाल 
नेपाली समुदायमा जिम्मेबारीको हिसावकिताव गहन छ । जब परिवारको सन्तती यौवनमा प्रवेश गर्छ उसलाई घरका व्यवाहारिक कामको जिम्मेबारी थपिन्छ । उसले घरको जिम्मेबारीवहन गरी घर चलाउने जिम्मा आफ्नो थाप्लोमा लिन्छ र प्रौढ भइसकेका आफ्ना अभिभावकहरुलाई जीवनको उत्तरार्ध विताउने मौका दिन्छ । अव्ययका रुपमा एकाध घट्ना त्यस्तो नहुन सक्छ तर समाजको मनोविज्ञान यसरी नै दौडिएकै कारण आज आयस्रोतका लागि हज्जारौं युवा परदेशतिर छन् । 

कोही झोला बोकेर जाने तयारीमा छन्, कोही जानका लागि बुझ्ने तयारीमा छन् । कोही राजधानीमा रोजगारीको अवसरका लागि दौडिरहेका छन्, कोही अवसर खोसेर परिवारका लागि केह ीगर्ने ध्याउन्नमा छन् । यो समुदायको विशेषताका रुपमा अघि बढेको छ । तर, के राजनीतिमा पनि यस्तै छ त ? के हर राजनीतिक दलका अभिभावकहरुले आफ्ना सन्तती (युवा नेता)लाई जिम्मेवारीको मौका दिएका छन् त ? पार्टी चलाउने जिम्मेवारी मुलुकु चलाउने अभिभारा वा मौका दिएका छन् त ? छैनन् । 

गणतन्त्र स्थापनापछि त्यस्तो देखिएको छैन । मान्छे उमेरले बुढो हुँदैन भन्ने एकथरी पृथकतावादी सोचहरु पनि नेपाली राजनीतिमा हावी छ । त्यस्ता पृथकतावादीलाई सुझाव छ– मान्छेको चेतना गुम्ने बुढेसकालमा नै हो । मान्छेको शारिरीक अस्वस्थ्यता पनि प्रौढमा नै बढेर जान्छ । उनमा केह ीगर्ने जाँगर पनि कमजोर भएर जान्छ । ऊ, पुनः बालापनतिर फर्किने कोशिशमा हुन्छ । यस्तो अवस्थामा उसले राजनीति कसरी गर्न सक्छ ? 
नेपाली राजनीति, नेपालको प्राजातान्त्रिक मान्यता स्थापना गर्नका लागि युवाहरुको भुमिकालाई गौण राखेर हेर्ने मानसिकताको विरोधमा मेरो लेखन अघि बढेको छ । अहिलेका प्रौढ हिजोका युवा थिए, उनको मुलुक बनाउनमा योगदान छ । 

तर, त्यहि योगदानको व्याज प्रौढमा पनि खाइरहनुपर्छ भन्ने मानसिकताको रसलाई नफ्याँकेसम्म मुलुकमा नयाँ पुस्ता हावी हुन पाउँदैन । नयाँ पुस्ता हावी नहुनु भनेको संसार चलेको प्राविधिक युगमा मुलुक पुग्न नसक्नु हो, जव संसारसँग स्पर्धा गर्ने क्षमता मुलुकमा हुँदैन दासत्वभन्दा अर्को जीवन बाँच्ने नागरिक विरलै हुनेछन् । यसअघि नेपाली राजनीतिको इतिहाँस केलाउँदा पनि युवाहरुको दायित्व पुरा भएको थियो भन्नेमा भने कुनै शंका छैन । 

युवा मुलुकका मुल शक्ति हुन् । नयाँ कार्यदिशाका निर्देशक हुन् अनि नयाँ युग बदल्ने उत्तोलक पनि । विश्वमा युवाका कारण निक्कै परिवर्तन भएका पर्याप्त उदाहरण छन् । नेपालका हरेक राजनीतिक परिवर्तनका संवाहक पनि युवा नै देखिएका थिए । इतिहाँसका पाना पल्टाउँदा तत्कालिन युवाको योगदानले नै मुलुकले अहिले लोकतान्त्रिक गणतन्त्रको सास फेर्न पाएको सावित हुन्छ । यद्यपि, आजका युवाको आर्थिक र व्यवासायिक अवस्थाचाँही परिवर्तनको आधारको जगमा व्यवस्थित हुन नसकेको देखिन्छ । 

आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ ।

यस्तै आन्दोलनको दौरानको सन्दर्भ उठान गर्दा मधेस आन्दोलनमा ५२ जना मानिसहरु मारिएका छन् । तर, त्यहाँ विरलै युवाको संख्या देखिन्छ । माथि उल्लेख गरेजस्तो त्यहाँ बालबालिका र बृद्धको संख्या व्यापक छ । किनभने मधेसमा छेडिएको आन्दोलनको दिशा पत्ता लाग्न सकेको छैन भने मारिनेहरुको कारण पनि खुलाउन मुस्किल छ । एकाध युवा भएपनि अन्य मृतक युवा छैनन्, तथ्य र अंकले पुष्टि गरिसकेको छ । मुलुकमा झण्डै ६४ प्रतिशत जनसंख्या युवाको छ । तर, सवैभन्दा ठूलो समस्यामा पनि युवापुस्ता नै छ । राजनीतिमा युवा संगठन नबनाउने राजनीतिक दल कमैमात्र होलान् । अनि, युवा परिचालनका सवाल नगर्ने पनि कमैमात्र होलान् । 
सर्वप्रथम, नेपालको राजनीतिमा पुस्तान्तरण आवश्यक छ । नेपालका राजनीतिक दलका मुख्य नेतृत्व निरंकुशताका विरुद्धको आन्दोलनले जन्माएको पुस्ता हो । नेतृत्वको यो पुस्ताले राजतन्त्रको अन्त्य गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र त प्राप्त ग¥यो । तर, यसको व्यवस्थापनमा सक्षम देखिएन । यसले अधिकारको आन्दोलनको चरणको कुसल नेतृत्व गरेपनि निर्माण, व्यवस्थापन र समृद्धिको आन्दोलनको अगुवाइचाँही गर्न सक्तैन । ०६२÷६३ को जनक्रान्तिपछि आन्दोलनका एजेण्डा परिवर्तन भएका छन् । यो परिवर्तित अवस्थाको नेतृत्व नयाँ सोच, नयाँ विचार र नयाँ पुस्तालेमात्र गर्न सक्दछ ।

 यसकारण राजनीतिमा पुस्तान्तरण आवश्यक छ । राजनीतिमा पुस्तान्तरण लहड र रहरलेमात्र पुरा हुँदैन । राजनीतिमा वस्तुगत आवश्यकता भएपछि पुस्तान्तरण हुन सक्तछ । यो एउटा प्रकृयाबाट हुनुपर्दछ । दलका आफ्ना संगठनात्मक संरचनाहरु प्रिवर्तन गर्न जरुरी छ । । संगठनात्मक संरचनाहरुमा ४० प्रतिशत युवाहरुलाई सहभागी गराउन आवश्यक छ । दलहरुको आन्तरिक जीवन होस वा राज्य सञ्चालनका प्रकृया र पद्दती, यी सवैमा विना ‘सिन्डिकेट’ स्पर्धा हुन दिनुपर्दछ । 

यो प्रकृयाबाट युवाहरु नेतृत्वमा प्रवेश गर्न सक्तछन् । राजनीतिमा आफ्नो भुमिका स्थापित गर्ने अवसर र सोही अवसरबाटमात्र राजनीतिक नेतृत्वको पुस्तान्तरण सहज सम्भव हुने देखिन्छ । युवाहरु राजनीतिक उद्देश्यले नै संगठित भएका हुन्, यो स्वभाविक कुरा हो । राणा शासनदेखि पछिल्लो लोकतान्त्रिक आनदोलनसम्म आइपुग्दा हामीले राजनीतिक स्वतन्त्रताका लागि लडेका थियांै । अव युवा सरोकारका मुद्दामा संगठित भएर संघर्ष गर्छौं । 

हो, विगतमा कतिपय राजनीतिक दलहरुले समुहहरुले युवाहरुलाई गलत ढंगलेपनि प्रयोग गरे । पञ्चायत टिकाउनका लागि तत्कालिन शाही शक्तिले युवाको उपयोग गरेको थियो । ०४७ सालपछि खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुले तरुण दलका नाममा युवाहरुको दुरुपयोग पनि गरेका हुन् । अहिले एकीकृत नेकपा माओवादीले वाइसीएलका नाममा युवाहरुको जत्थालाई पार्टीको हतियारका रुपमा प्रयोग गरिरहेको छ । जनयुद्धका नाममा कतिपय युवाको भविष्य अन्धकारमा पारेको त सवैका सामु छर्लंग नै छ । हामीले यस्ता इतिहाँसका अनेक राजनीतिक दलहरुको उपयोगवादी चरित्र देखेका कारण परिवर्तन र त्यसलाई संसोधन गरी युवालाई राजनीतिक पहुँचका लागि संगठित गर्दै व्यावसायीक बाटोमा जाने एउटा मार्गचित्र कोेर्ने योजना बनाएका छौं । 

विचारसहितको व्यावसायसँगै अव युवाहरुले राजनीति गर्न पाउनुपर्छ भन्ने मान्यता हामीले राखेका छौं । नेपालमा युवाहरुको व्यवस्थापन सम्भव छ । विश्वका अरु मुलुकमा भएको काम नेपालमा नहुने भन्ने कुरा होइन । तर, गलत राजनीतिक व्यवस्था र अवसरवादीहरुको तानाशाही राज्यव्यवस्था चलाउने नियतका कारण युवाहरुको व्यवस्थापन अहिले नै सहज हुन नसकेको हो । अशिक्षा बेरोजगारी र अभाव हाम्रो मुख्य समस्याका रुपमा अघि देखिएको छ । युवाको रोजगारी, स्वास्थ्य, शिक्षाको विषयमा हामीले सोचेर अगाडी बढ्नुपर्दछ । युवा सवालमात्र होइन अव युवा रोजगारीका लागि इलम, अध्ययन र उत्पादनको लागि एउटा राजनीतिक अथवा व्यवसायीक कार्यदिशामा हामी लाग्न आवश्यक छ ।

युवाको व्यवस्थापन रोजगारीमा मात्र होइन, राजनीतिक नेतृत्वमा हुनुपर्दछ भन्ने जोडदार आवाज हो, मेरो । अव राजनीतिक दलहरु परिवर्तनको संघारमा उभिन जरुरी छ । चाहे नेपाली कांग्रेस होस्, चाहे नेकपा एमाले वा एमाओवादी अथवा अन्य दलहरु । सवैले मुलुकको हितका लागि सोच्ने हो भने युवा शक्तिको परिचालन बलियो बनाउने कार्यदिशालाई अहिलेदेखि नै अंगिकार गर्नुपर्छ । 

यो राजनीतिक संस्कार नबनोस् कि हिजो राजनीतिक दल उठाउनका लागि युवा अवस्थामा जिम्मेवारी लिएका आजका प्रौढहरुले विरासत छाडेनन्, यीनको मृत्युपछिको विरासतमा हामी रजाई गर्नुपर्छ भन्ने धारणा आजका युवामा आओस् । भविष्यलाई निर्धारण गरेरै पुस्ता हस्तान्तरणको नियत कार्यान्वयन हुनुपर्छ । जबसम्म यो नियतले विजारोपण गर्नेछैन, मुलुकमा आजको पुस्ता पलायन हुने र प्रौढहरुको रजाईँ कायम रहँदा नेपाल भन्ने देश सँधै गरिब रहोस् । 

केही राजनीतिक दलहरुले युवाको उमेर खुट्याएका छन्, प्रौढको राजनीतिक जीवनको उमेरसीमा पनि तोकेका छन् । एमालेले ७० वर्षपछि सक्रिय राजनीतिमा भाग लिन नपाउने नीति अवलम्बन गरेको छ । तर, त्यत्रो उमेर होइन, कम्तिमा ५० वर्षभित्र मात्र राजनीति गर्न पाउने नयाँ संस्कारको थालनी अहिले हुनुपर्छ । त्यसपछिको समय अभिभावक र ७० वर्षपछिको समय भनेको विश्वबजारमो प्रौढहरु जस्तो रमाउने विधान मुलुकमा चाहिन्छ । यसको संवैधानिक ग्यारेन्टिमात्र होइन, कार्यान्वयन नै अनिवार्य छ । 

विश्वराजनीतिको संस्कार अलग छ । यौवन हुँदा मुलुकका लागि नयाँ योजना बनाउने व्यक्ति राजनीतिमा अव्वल भएर अगाडी आउँछ र प्रौढ भएपछि खेलकुद, मनोरञ्जन गरी पेन्सनरको जीवन विताउँछ । तर, नेपालमा ठिक उल्टो छ । युवा हुँदा ढुंगामुडा बोकी सडक तताउँछ, पेन्सनर भएपछि राजनीतिमा सक्रिय भएर मुलुक डुवाउँछ । यहि राजनीतिक संस्कारको पछि दौडने हो भने मुलुक विकास होइन, विनाशको दिशातिर जान्छ । 
आर्यघाटतिरबाट मुलुक चल्न थालेपछि यौवनमा विदेशिनेहरुको संख्या कहिले न्युनिकरण हुन सक्तैन । यसर्थ, यौवनमा ढुंगामुढातिर मात्र व्यस्त युवा राजनीतिज्ञ, प्रौढमा टाउको दुखाएर राजनीतिमा सक्रिय भइरहेका नेताहरुलाई मेरो अपिल छ– मुलुक बनाउने हो भने यौवनलाई उर्जाशिल राजनीतिमा सक्रिय बनाऔं, प्रौढमा जीवनआनन्दमयी बनाउँदै रङ्गनीतितिर लागौं । 

Post a Comment

0 Comments