Subscribe Us

मातहतलाई दबाब दिदै क्यासिनोमा एआईजीको सेटिङ ?

काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापासँगको सेटिङका कारण क्यासिनो माजोङ खारेज हुनबाट जोगिएको छ । नेपाली जुवाडेहरुलाई भारतीय रासन कार्ड बनाएर जुवा खेलाउँदै आएको उक्त क्यासिनोबाट प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो । तर, एआईजी थापाकै कारण जुवाडे छुटेका छन् । क्यासिनो व्यवस्थापन नियमावलीमा क्यासिनोमा नेपालीलाई प्रवेश गराएको खण्डमा लाइसेन्स नै रद्द हुने प्रष्ट प्रावधान छ ।
 माजोङ क्यासिनोले नेपालीलाई छिराएको पुष्टि भएपछि प्रहरीले एक जनालाई पक्राउ पनि गरिसक्यो । तर, क्यासिनो जोगाउन पक्राउ परेका व्यक्तिलाई जुवा ऐनअनुसार मुद्दा नचलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा केही दिन थुनेर छाडिसकेको छ । 
महानगरीय प्रहरी वृत्त कालिमाटीले पुस २५ गते बेलुका क्यासिनो माजोङमा छापा हानी गुर्जुधाराका श्रवणकुमार शाहीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी अजय साहको नाममा बनाइएको भारतीय निर्वाचन आयोगले जारी गरेको परिचयपत्रका आधारमा क्यासिनो छिरेका थिए । उनलाई तत्काल छाड्न एआईजी थापाले मातहतका प्रहरीलाई दबाब दिएका थिए । पछि सार्वजनिक अपराध मुद्दा चलाएर छाडिएको थियो ।
 शाहीलाई पक्राउ गर्ने क्रममा क्यासिनो माजोङका महाप्रबन्धक पूर्व एआईजी रोहित थापा र सेक्युरीटी इन्चार्ज गोविन्द अधिकारीलाई पनि नियन्त्रणमा लिएकोमा एआईजी थापाकै दबाबमा उनीहरु पछि तत्काल छुटेका थिए । यसअघि प्रहरीले क्यासिनोमा जुवाडे पक्राउ पर्दा व्यवस्थापकहरुलाई समेत पक्राउ गर्दै आएको थियो । पक्राउ परेका शाहीलाई एक साताभित्रै छुटाइएको छ । स्रोतका अनुसार धेरै नेपाली जुवाडेलाई भारतीय परिचय पत्र बनाएर क्यासिनो भित्र छिराएर जुवा खेलाईंदै आएको छ । त्यसवापत एआईजी थापालाई क्यासिनोले प्रतिमहिना ५ लाख बुझाउन थालेको स्रोत बताउँछ । राजधानीका अरु तीन क्यासिनोहरुसँग पनि एआईजी थापाले त्यसैगरी सेटिङ मिलाएका छन् । क्यासिनो व्यवस्थापन नियमावली २०७१ ले क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरेको छ ।
 नेपाली प्रवेश गराएमा इजाजत नै रद्द हुनसक्ने सम्मको प्रँवधान नियमावलीमा छ । जसअनुसार सरकारले चाहेमा माजोङ क्यासिनोको इजाजत रद्द समेत गर्न सक्छ । तर, अरु क्यासिनोहरुले पनि भारतीय नागरिक बनाएर नेपाली जुवाडेहरुलाई समेत जुवा खेलाउँदै आएका छन् । राजधानीमा हाल चार वटा क्यासिनो सञ्चालनमा छन् । माजोङसहित बौद्धको हायात होटलमा क्यासिनो प्राइड, याक एण्ड यतीमा क्यासिनो रोयल र सांग्रिला होटलमा क्यासिनो मिलिनियर्स क्वल सञ्चालनमा छन् ।
  सबै क्यासिनासँग एआईजी थापाले सेटिङ मिलाइसकेको स्रोतको भनाई छ । डिआईजी हुँदा प्रबन्ध शाखामा बसेर करोडौं कमाएका एआईजी थापा पैसाको मामिलामा लोभी भनेर चिनिन्छन् । अवकाश हुने बेला मस्त कमाउने उद्देश्यसहित एआईजी थापा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत सेटिङ मिलाएर मेट्रोमा सरुवा भएका हुन् । सुन तस्कर, हुण्डी कारोबारीहरुसँग समेत उनले सेटिङ मिलाइसकेको स्रोत बताउँछ । काठमाडौंमा पछिल्लो समय अवैध सुनको तस्करी र हुण्डी कारोबार मौलाइरहेको भन्दै नेपाल राष्ट्र बैंकले त्यसलाई रोक्न सरकारका निकायलाई परिपत्र समेत जारी गरिसकेको छ ।
  तर, एआईजी थापाकै लोभका कारण प्रहरीले सोचेअनुसार काम गर्न सकेको छैन । लेनदेन र अवैध असुलीका मुद्दामा समेत एआईजी थापाले आफ्नो स्वार्थ अनुकुल काम गर्न अपपराध महाशाखा र परिसरलाई अनावश्यक दबाब दिने गरेको गुनासो समेत आईजीपी उपेन्द्रकान्त अर्यालको सचिवालयमा पुगेको छ 

Post a Comment

0 Comments