Subscribe Us

सिंहदरबारभित्रै फरार अभियुक्त


काठमाडौँ, १२ माघ ।

नाम: गौरीमाया घिमिरे
ठेगाना: काठमाडौं, मनमैजु–९, बालाजु
फैसला: भ्रष्टाचार मुद्धामा ६ महिना कैद र ३ लाख ९७ हजार जरिवाना
अवस्था: फैसला कार्यान्वयन हुन बाँकी

भ्रष्टाचार अभियोग पुष्टि गर्दै अदालतबाट कैदसजाय सुनाइएका सरकारी कर्मचारी घिमिरेबारे फैसला कार्यान्वयन निर्देशनालयको फाइलमा रहेको यो विवरणले केन्द्रीय अनुसन्धान ब्युरोको फरार खोजी टोलीको ध्यान तान्यो ।
नेपाल कृषि अनुसन्धान परिषदमा प्राविधिक तहमा कार्यरत ३५ वर्षीया गौरीमायालाई विशेष अदालतले जागिर लगाइदिने प्रलोभन दिएर ठगी गरेको अभियोग पुष्टि गर्दै कैद र जरिवाना फैसला गरेको थियो ।

आर्थिक वर्ष २०६९÷७० मा परिषदमा प्राविधिक सहायक टि–४ पदको आवेदन खुलेको थियो । सोही क्रममा दरखास्त दिन गएका नगेन्द्र घिमिरेसमेतका पाँच जनासँग जागिर लगाइदिने प्रलोभन दिएर ३ लाख ९७ हजार उठाएको आरोप लाग्यो गौरीमायालाई । उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिई उनीविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारको मुद्दामाथि सुनुवाइ गर्दै विशेषले असोज २२ गते उनलाई दोषी करार गर्दै ६ महिना कैद र ३ लाख ९७ हजार जरिवाना फैसला गरे पनि उनी जेलचलान नहुँदा फैसला कार्यान्वयन हुन सकेको थिएन ।
सरकारी कर्मचारीविरुद्ध भएको फैसला नै कार्यान्वयन हुन नसकेको सूची देखेपछि अदालतको फैसला कार्यान्वयनका लागि बनेको ब्युरोको टोली उनको खोजीमा सक्रिय भयो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार फैसलामा उनको स्थायी ठेगाना रामेछाप रहेकाले उनको खोजी रामेछापबाटै सुरु भयो ।

रामेछापमा उनी फेला परिनन् तर उनी काठमाडौंतिर रहेको सूचना मिल्यो । गौरीमाया बालाजु बस्दै आएको सूचना पाएपछि प्रहरी त्यतै खिचियो तर उपलब्धि पाएन । प्रहरी कहिले रामेछाप त कहिले बालाजु पुगे पनि घिमिरे भने प्रशासनिक केन्द्र सिंहदरवारमा नियमित आवतजावत गरिरहेकी थिइन् । उनी परिषदको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बस्थिन्, पूर्व कर्मचारीका रुपमा होइन, बहालवाला हैसियतमा ।

अदालतबाट भ्रष्टाचार प्रमाणित भएको सरकारी कर्मचारी साबिकबमोजिम उही कार्यालयमा उही पदमा चार महिनादेखि कार्यरत रहेको र उनको तलबसमेत निकासा भइरहेको सूचना आउँदा प्रहरी टोलीले सुरुमा पत्याएन । सूचनाको सत्यता जाँच्न ब्युरोको एक टोली आइतबार दिउँसो सिंहदरबार जाँदा भने छक्कै प¥यो । प्रहरीले चार महिनादेखि कहिले रामेछाप त कहिले काठमाडौंमा खोजी गरिरहेकी घिमिरे कार्यालयमै थिइन् ।

अनुसन्धान अधिकारीका अनुसार अख्तियारले उनलाई कार्यालयमै बोलाएर सो घटनाबारे बयान लिएको खुलेको छ । अदालतले उनको घरमा म्याद तामेलसमेत गरेको थियो । अदालतमा मुद्दा दर्ता भएर भ्रष्ट घोषित हुँदासमेत उनी सरकारी कार्यालयमा साबिक पदमै कार्यरत थिइन् ।

सिंहदरबार परिसरभित्रै सरकारी कर्मचारीलाई पक्राउ गर्दा लफडा होला भनेर एक टोली उनी कार्यरत कार्यालयमा निगरानीमा बस्यो भने अर्को टोली सिंहदरबारको मूल गेटमा । आइतबार अपराह्न ४ बजे कार्यालयको काम सकेर घर जान उनी सिंहदरबारबाट बाहिरिएलगत्तै ब्युरोको टोलीले नियन्त्रणमा लिएर महाराजगन्जमा रहेको कार्यालय पु¥यायो ।

सिआइबीको सोधपुछमा घिमिरेले आफूलाई अदालतको फैसलाबारे जानकारी नभएको दाबी गरेको ब्युरोका एक अधिकारीले जानकारी दिए । उनले अख्तियारले बयानका लागि बोलाएपछि आफ्नाबारे बयान दिएको तर पछि केही जानकारी नभएको दाबी गरे पनि प्रहरीले कानुन कार्यान्वनयका लागि उनलाई सोमबार काठमाडौं जिल्ला अदालतमा बुझाएको थियो । 

ब्युरोका डिएसपी भोगेन्द्र पुरुष ढकालका अनुसार अदालतले बेरुजु फैसला कार्यान्वयनका लागि कारागार पठाउने आदेश दिएअनुसार सोमबार उनलाई केन्द्रीय कारागार पठाइएको नागरिक दैनिकमा समाचार छ ।

Post a Comment

0 Comments