Subscribe Us

डा.नूतन शर्माको कारण अल्का अस्पतालमा १३ दिने सुत्केरीको ज्यान गयो,
डेलिभरी महिना पुग्नुभन्दा एक महिना अगाडी नै अप्रेशन गरेको खुलासा

सुदर्शन अर्याल / काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माको गैरजिम्मेवारीको कारण एक सुत्केरी अनाहकमा मृत्युको शिकार बन्नुपरेको छ । 
गर्भवती भएको आठ महिनामा नै गर्भवतीको आफन्तको स्वीकृतिविना नै अप्रेसन गरेर शिशुको जन्माएकी डा. शर्माले आफूले खटाएका अन्य दुई डाक्टरले रिफर गरेको खानेकुरा समेत खान नदिँदा १३ दिने सुत्केरी शान्ति शर्मा घिमिरेको ज्यान गएको भन्दै आफन्तले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेपछि शनिबार दिनभर अल्का अस्पतालमा तनावग्रस्त अबस्था सिर्जना भयो ।  

सुत्केरी भएको १० दिनमा अस्पतालबाट डिस्चार्ज गरेर लगिएको बिरामी घरमा पुगेको दुई दिनमै ज्वरो झन्–झन् बढ्न थालेपछि मृतकका आफन्त बिरामी नलिई शुक्रबार अस्पतालमा आएर सबै कुरा जानकारी गराएका थिए । ‘त्यसबेला डाक्टर शर्माले औषधिले काम गर्न समय लाग्ने’ भन्दै एक साताभित्र निको हुने भएकोले बिरामीलाई अस्पताल ल्याउनु नपर्ने बताउँदा सुत्केरीको अनाहकमा ज्यान गएको मृतकका आफन्तले आरोप लगाएका छन् । ‘हामीले बिरामीलाई त झन् च्यापेको छ, बिरामी ल्याउनुपर्ला कि ? भन्दा ‘औषधि जादूको छडी हो र ? एक हप्ता त लागि हाल्छ नि यसले काम गर्न’ भनेर हकारेर पठाएकी थिइन्’ मृतकका देवर रोशन घिमिरेले भने, ‘यसमा डा. शर्माको दादागिरी र लापरबाही दुवैको मिश्रित कारण देखिन्छ ।’

उता, अस्पतालका अध्यक्ष कुमार थापाले भने यो बिरामी र परिवारकै लापरबाहीको कारण भएको र यसमा अस्पतालको कुनै कमजोरी नरहेको भन्दै अस्पतालको बचावट गरेका छन् । ‘सबै उपचार सकेर पठाइसकेको बिरामीको घरमा पुगेपछि त्यो पनि तीन दिनपछि मृत्यु भएको छ भने यसमा हाम्रो दोष कसरी हुन्छ ?’ अध्यक्ष थापाले भने, ‘हामीले पोस्टमार्टम गरौं भन्दा पनि उहाँहरू नै मान्नुहुन्न, हाम्रो दोष हो मात्रै भनेर हुँदैन ।’

उता, परिवारले भने डा. शर्माले डेलिभरीको लागि तोकेको समय पुग्नुभन्दा अगाडि नै जबर्जस्ती अप्रेसन गर्न दबाब दिएको, अप्रेसन गर्नुअगाडि अप्रेसनको लागि सम्झौता समेत नगराएको लगायतका आरोप लगाएका छन् । उनीहरूले बिरामीको स्वास्थ्य समस्यामा सुधार नभएकोले अन्य अस्पतालमा लैजान खोज्दा पनि शर्माले आफूले हेरेको केश आफैंले निको पार्ने भन्दै जबर्जस्ती रूपले अघि बढेको कारण सुत्केरीको ज्यान गएको भन्दै डाक्टरलाई कारबाही गर्न र क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् । सो विषयमा कुराकानी गर्न खोज्दा डा. नूतन शर्माले कुराकानी गर्न चाहिनन् । 

पीडित परिवारका अनुसार ललितपुरको सातदोबाटो स्थायी घर भएकीे २० वर्षीया घिमिरेको डाक्टरले तोकेको डेलिभरी समय पुग्न एक महिना र केही दिन बाँकी रहँदा सामान्य पेट दुखेको भन्दै अल्का अस्पताल पु¥याइएको थियो । सामान्य औषधिमूलो गरेर सो समयमा घर पठाइएकी शान्तिलाई प्रेसर र थाइराइडको समस्या बढेपछि डेलिभरी महिना पुग्नुभन्दा ठीक एक महिना अगाडि पुस २३ गते अल्का अस्पतालमा नियमित चेकजाँचको लागि पु¥याइएको थियो । 

त्यसै समयमा डा. शर्माले बिरामीको अप्रेसन गरेर बच्चा निकाल्नुपर्छ भनेपछि समय नपुगेको भन्दै परिवारले अस्वीकार गर्दा पनि जबर्जस्ती आर्थिक लाभको बदनियतीले अप्रेसन गर्न लगाएको र महंगा महंगा औषधिहरू किन्न लगाउने तर डाक्टर भने ढोकाबाट कहिलै पस्दै नपस्ने गरेकोे आरोप आफन्तले लगाएका छन् । ‘अप्रेसन गर्दा समेत हातको औंठीसमेत नखोली गरेकोबाट पनि डाक्टरको गैरजिम्मेवारी स्पष्ट भएको छ’, मृतकका देवर घिमिरेले भने, ‘बिरामी र बिरामी कुरूवा दुवैप्रति डाक्टरको व्यवहार एकदमै क्षुद्र हुने गरेको थियो ।’ 

पीडितका अनुसार २३ गते बिरामी भर्ना गराएपछि बिरामीलाई पखाला लागेको थियो । पखाला लागेको समयमा अप्रेसन गराउँदा समस्या हुन्छ कि ? भन्दा डाक्टरले केही पनि नहुने भनेर अप्रेसन गरे पनि त्यसपछि झनै पखाला बढेको थियो । पखाला लागेको भनेर डा. शर्माले खटाएका दुई डाक्टरहरू डा. विजेन्द्रध्वज जोशी र डा. निमेशराज भण्डारीले सुत्केरी भएको तीन दिनसम्म झोल पदार्थ खुवाउन भनेर भने पनि काम गर्ने परिचारिकाहरूले डा. शर्मालाई फोन नगरी खुवाउनुहुन्न भनेर भनेका थिए । त्यसपछि उनीहरूले डाक्टरको आदेश भन्दै तीन दिनसम्म दिनको तीन चम्चा पानीमात्रै खान दिएको आरोप परिवारले लगाएको छ । 

त्यसबीचमा रगतको परीक्षणका लागि भारत लैजानुपर्ने र समय र पैसा केही बढी लाग्ने भनिए पनि आफन्तजनले पैसाभन्दा पनि समय छिटो चाहिने भन्दै आफैंले रिपोर्ट माग गरी बानेश्वरमा गएर रगत परीक्षण गराएका थिए । यसरी उनीहरूले भनेबमोजिम नगरेपछि बिरामीप्रति डाक्टरले वास्तै गर्न छोडेको आरोप उनीहरूले लगाएका छन् । सूचनाको हकअन्तर्गत आफूहरूलाई अस्पतालले रिपोर्ट पनि नदिएको बताउने आफन्तले मेडिकल टिम ल्याउनुस् भन्दा नल्याएकोले रिपोर्ट नदिएको स्वीकार अध्यक्ष थापाले गरेका छन् । 

उता, बच्चा जन्मिएको १० दिनपछि डाक्टरकै स्वीकृतिमा बिरामीलाई घरमा लगेको भए पनि घर लगेपछि पनि ज्वरो नरोकिएपछि शुक्रबार उनीहरू डा. शर्मालाई भेट्न अल्का आएका थिए । तर डा. शर्माले औषधि दिएकोले एक हप्तापछि निको हुने भनेपछि ढुक्क भएर घर गएका मृतकका आफन्तहरूले शनिबार बिहान एक्कासी रोगले च्यापेपछि हस्पिटल ल्याइपु¥याउँदा सुत्केरीको ज्यान गइसकेको थियो । 

डा. नूतन शर्मा आफैंमा समय–समयमा विवादमा आइरहने डाक्टर हुन् । यसभन्दा अगाडि झण्डै दुई महिना अगाडि पनि वैदेशिक रोजगार व्यवसायी बज्रकिशोर यादवकी श्रीमती बीना यादवको गर्भमा रहेको बच्चाको मृत्युपछि इन्फेक्सनका कारण आमाको समेत मृत्यु भएको मेडिकल रिपोर्ट दिएपछि उनीविरूद्ध विभिन्न निकायमा उजुरी परेको थियो ।

गर्भपतन गर्न प्रोत्साहन गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि आयोग र केन्द्रले उनलाई निलम्बन गर्न पत्राचार गरेको थियो । पत्र प्राप्त भएसँगै काउन्सिलले उनलाई निलम्बन गरेपछि उनी सोविरूद्ध सर्वाेच्च गएकी थिइन् । सर्वाेच्चद्वारा उनलाई कारबाही नगर्न आदेश जारी भएपछि उनी सोही अस्पतालमा कार्यरत रहेकी छिन् । यो घटनाले एउटै अस्पतालमा समय–समयमा उनैले हेरेको बिरामीको मृत्यु हुन थालेपछि उनीप्रति नै शंका गर्ने प्रशस्त ठाउँ बनेको छ ।

Post a Comment

0 Comments