Subscribe Us

बन्दुक जम्मा गर्दै ‘विप्लव’
सुदूरपश्चिबाट ‘युद्ध’ गर्ने तयारी

बुद्ध लोप्चन । काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले युद्धका लागि भन्दै झण्डै १० हजार बन्दुक जम्मा पारेका छन् । एकीकृत जनक्रान्तिलाई कार्यदिशा बनाई युद्धको प्रारम्भिक तयारीमा जुटेको विप्लव नेतृत्वको माओवादीले पार्टीलाई भूमिगत बनाउन आन्तरिक रूपमा बन्दुक जम्मा पारेको हो । 
स्रोतका अनुसार विप्लवले सुदूर तथा मध्यपश्चिमका एक जिल्लामा बन्दुक जम्मा पार्न थालेका छन् । जनयुद्ध दिवसकै अवसर पारी विप्लवले १ फागुनबाट पार्टीलाई भूमिगत शैलीमा परिणत गर्ने तयारीसमेत गरेका छन् । सरकारविरुद्ध १ फागुनबाटै आक्रमण थाल्ने बताइएको छ ।

०५२ सालको जस्तो युद्धबाट क्रान्ति सम्भावना नभएको भन्दै विप्लवले अबको युद्ध पृथक् तरिकाबाट हुने बताउँदै आएका छन् । पार्टीलाई भूमिगत शैलीमा परिणत गर्न विप्लवले राजधानीलगायत जिल्लामा अर्धभूमिगत शैलीमा कारबाहीसमेत थालेको छ । तत्कालीन नेकपा–माओवादीबाट अलग भएदेखि नै राजधानी बाहिरका जिल्लामा रही छलफल र कार्ययोजनासहित कार्यनीति बनाउन व्यस्त देखिएका विप्लव हाल मध्यपश्चिमका जिल्लामा रहेको बताइएको छ । स्रोतका अनुसार जुम्ला, दाङ, कपिलवस्तु र रोल्पाका गाउँमा विप्लव माओवादीले कम्तीमा नयाँ र पुराना गरी १० हजारभन्दा बढी हतियार जम्मा पारेका छन् ।

विप्लवसँग १० वर्षे जनयुद्धका क्रममा प्रयोग गरिएका कम्तीमा ७ हजारभन्दा बढी हतियारसमेत रहेको बुझिएको छ । यद्यपि, ती हतियारमध्ये केही हतियार प्रयोग गर्न नमिल्ने रहेको बुझिएको छ । विप्लवले युद्धका लागि केही नयाँ हतियारसमेत जम्मा गरिएको बताइएको छ । नयाँ हतियार के–कति जम्मा पारेको छ भन्ने विषयमा भने स्रोतले खुलाउन चाहेनन् । पार्टी फुटाउनुपूर्व नै विप्लवले बूढापाकाले क्रान्ति गर्न नसक्ने बताउँदै नयाँ ढंगबाट जनताको अधिकार सुनिश्चितताका लागि जंगल पस्नसमेत आपूmहरू तयार रहेको उद्घोष गरेका थिए ।

नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले युद्ध नयाँ ढंगबाट हुने बताए पनि बन्दुक जम्मा गर्नतिर भने पार्टी नलागेको दाबी गरे । ‘पार्टीले अर्धभूमिगत शैलीमा कारबाही थालिरहेको छ, हामी अहिले बन्दुक जम्मा गर्नतिर लागिपरेका छैनौँ,’ कमाण्डर पोष्टसँग उनले भने, ‘आवश्यक परेका बेला बन्दुक हामी जहाँबाट पनि निकाल्न सक्छौँ ।’

हतियारविना क्रान्ति सम्भव नभएको बताउँदै प्रकाण्डले आपूmहरूले बन्दुक कति लुकाइएको छ भन्ने प्रश्न बारम्बार सञ्चारकर्मीले सोधिरहेकाले बन्दुक लुकाइएको छ÷छैन भन्ने कुरा एमाओवादी अध्यक्ष प्रचण्डलाई नै गएर सोध्नसमेत आग्रह गरे । देश र जनताले नै बन्दुक आवश्यक महसुस गर्न थालेपछि बन्दुक जतिखेर पनि आइपुग्ने उनको भनाइ थियो ।

त्यसैगरी, पार्टीका पोलिटब्युरो सदस्य माइला लामाले आपूmहरू एकखाले युद्धमा होमिएको बताउँदै युद्धको तयारी गर्दै जाँदा हतियार जम्मा पार्नु स्वाभाविक भएको बताए । बन्दुक साधन बताउँदै उनले राज्यसत्ताप्रति असन्तुष्ट भएपछि त्यसको प्रतिवाद र संघर्षमा उत्रिनु स्वाभाविक भएको बताए । 

पार्टीले छापामार शैलीमा तीव्र रूपमा जनकारबाही थालेपछि विप्लव प्रायः राजधानी बाहिरका जिल्लामा छन् । विप्लव प्रायः सञ्चार माध्यमको सम्पर्कमा समेत आउन चाहेका छैनन् । एक केन्द्रीय नेताका अनुसार विप्लवले अबको केही समयभित्र सुदूरपश्चिमका जिल्लाबाट आन्दोलन र युद्ध चर्काउने तयारी गरेका छन् । त्यसका लागि कम्तीमा १५ हजारभन्दा बढी सेनासमेत विप्लवले तयार पारेका छन् । आवश्यक हतियार तयार पार्ने क्रम तीव्र रहेको बुझिएको छ ।

Post a Comment

0 Comments