Subscribe Us

प्रहरी फसाउन अख्तियारद्धारा ‘बद्नाम गिरोह’ परिचालन

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अप्रेसन’ का नाममा प्रहरीलाई घुस सहित रंगेहात पक्राउ गर्न थालेपछि प्रहरीमा आतंक मच्चिएको छ । संगठनका केही खराब प्रहरी अधिकृत पक्राउ परेपनि अख्तियारले प्रहरी संगठन कै बद्नाम हुनेगरी प्रचारबाजी गरेको घटनाले आईजीपी उपेन्द्रकान्त अर्याल अख्तियारसँग रुष्ट बनेको प्रहरी स्रोत बताउँछ । यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ । अख्तियारले स्टिङ अप्रेसनका नाममा बद्नाम गिरोह परिचालन गरेपछि आईजीपी अर्यालले मातहतका प्रहरीलाई विचलित नभई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका छन् ।

केही समय अघि अख्तियारले नेपाल प्रहरीकै डिएसपी केपी शर्मालाई हातमा लिएर निर्दोष प्रहरीलाई फसाएको थियो । तर, अहिले भने भारतीय जाली नोट प्रकरणमा पक्राउ परी कारबाही भोगेका व्यक्तिलाई अख्तियारले स्टिङ अप्रेसनका नाममा परिचालन गरेको छ । यसमा भ्रष्टाचार विरुद्धको अभियानमा लागेको बताइएका सञ्जय झाको समूह सक्रिय रहेको छ । विवादास्पद व्यक्ति झा आफै भारतीय जाली नोट प्रकरणमा सजाय भोगेका व्यक्ति हुन् ।

अख्तियारले स्टिङ अप्रेसनका क्रममा डिएसपी दयानीधि ज्ञवाली, इन्सपेक्टर रमेशकुमार सिंह र सई लालमणी पाण्डेलाई घुससहित रंगेहात पक्राउ गर्दा झालाई नै परिचालन गरेको यूट्युवमा अपलोड भएको भिडियोमा देखिन्छ ।‘डिएसपी ज्ञवाली बद्नाम प्रहरी अधिकृत हुन् तर, उनीभन्दा धेरै बद्नाम भने झा नै हुन् ।’ अख्तियार कै एक अधिकारी बताउँछन् । स्रोतका अनुसार झालाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नै संरक्षण दिएर स्टिङ अप्रेसनमा खटाएपछि उनका अवैध क्रियाकलापलाई प्रहरीले चाहेर पनि केही गर्न सकेको छैन ।

३५ किलो सुनको सुराकी काण्डका असली सुराकी रहेका झाले डिआईजी प्रकाश अर्याललाई पनि अख्तियारदेखि संसदसम्म बयान दिन बाध्य बनाए । यो सुराकी काण्डलाई टुंगोमा नपु¥याई अख्तियार प्रमुख कार्कीले हतियार बनाएर प्रहरीमा खेलेको समेत चर्चा छ ।

झा उनै व्यक्ति हुन्, जसले आफूलाई प्रमा होल्डिङ प्रालिको सुपरभाइजर भन्दै खानेपानी बोर्डबाट गोप्य सरकारी कागजात फुत्काउन सफल भएका थिए । तत्कालिन कार्यकारी निर्देशक हरिप्रसाद ढकालले झा विरुद्ध प्रहरीमा उजुरी दिएपनि कुनै कारबाही भएन ।

झाले खिचेको जासुसी क्यामेराकै आधारमा श्रम मन्त्री कुमार बेलबासे पदबाट राजीनामा गर्न बाध्य भए । सार्वजनिक ओहोदामा रहेका विभिन्न व्यक्ति तथा पदाधिकारीलाई झुक्याएर फसाउने, कारबाहीको दायरामा तान्ने र बद्नाम गरिदिने भन्दै बार्गेनिङ गरेको उजुरी प्रहरीमा पर्दासमेत उनीमाथि कुनै कारबाही हुन सकेको छैन ।

लतिलपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत डा। नुतन शर्मा पनि झाकै कारण निलम्बनमा परेकी हुन् । गर्भ पतनका लागि लिंग पहिचान गरेको र गर्भपतन गर्न उत्प्रेरित गरेको अभियोगमा उनलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको थियो । झामाथि शुरुमा नुतनसँग गर्भपतनको भिडियो देखाएर बार्गेनिङ गरी पैसा नदिएपछि उजुरी गरेको आरोप लागेको थियो ।
 

Post a Comment

0 Comments