Subscribe Us

सशस्त्रका एसएसपीको सरुवामा किन हावी भए वन्त ?

काठमाडौं । भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेका सशस्त्र प्रहरी बलका पूर्व आईजीपी कोषराज वन्त संगठनमा फेरी हावी देखिएका छन् । वन्त निलम्बनमा परेपछि दुर्जकुमार राई आइजीपी बनेपनि राईले वन्तकै आसेपासेलाई च्यापेर हिंडेको गत माघ २५ गतेको एसएसपी सरुवाबाट पुष्टि हुन्छ । 

२३ जना एसएसपीको सरुवामा वन्त निकटका अधिकांशले राम्रो ठाउँ पाएका छन् । वन्त एआईजी र डिआईजी छँदा प्राविधिक शाखामा बसेर भ्रष्टाचारमा मुछिएका प्राविधिक एसएसपी प्रजाभक्त श्रेष्ठलाई अन्वेषण तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ । श्रेष्ठसहित एसएसपी किशोर प्रधान र एसपी कालिदास धोबजीसँग वन्तको अवैध सम्पत्ति रहेको स्रोतको भनाई छ । जुन कुरा यतिखेर अख्तियारको अनुसन्धानको दायरामा छ । 

प्रधान हाल शान्ति सेना मिसनमा विदेश छन् भने धौबजी निलबाराही गणमा गणपति छन् । त्यस्तै वन्तको पालामा सञ्चार र विद्युत सम्बन्धि खरिद विक्रीमा भ्रष्टाचारमा मुछिएका एसएसपी राजुराम सुवाललाई विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा सरुवा गरिएको छ । वन्त आईजीपी बनेपछि सुवालले तातोपानी भन्सारमा बसेर अकुत कमाइसकेका छन् । दुई वर्षदेखि भ्रष्टाचार मुद्दामा छानविन भइरहेका एसएसपी चिरञ्जिवी अधिकारीलाई निलम्बन गर्नु पर्नेमा आईजीपी राईकै सिफारिसमा कार्यविभागमा सरुवा गरिएको छ । 

वन्त, अधिकारी र एसएसपी श्यामकाजी कुँवर विरुद्ध अख्तियारले एकैपटक अनुसन्धान गरे पनि पहुँचै कारण अधिकारी र कुँवर कारबाहीबाट जोगिदैं आएका छन् । प्रशासन विभागमा सरुवा भएका एसएसपी रामप्रकाश श्रेष्ठ पनि वन्तकै नातेदार हुन् । वन्त आईजीपी छँदा सचिवालयमा श्रेष्ठ नै थिए । श्रेष्ठका भाई वन्तका साँढुभाई हुन् । अर्कोतिर बासुदेव ओली आईजीपी छँदा आर्थिक प्रशासनमा बसेर ठेकेदारसँग साँठगाँठ गरी बद्नामी कमाएका एसएसपी राजु अर्याल मानवस्रोत विभागमा सरुवा भएका छन् । 

सशस्त्रमा निर्णय क्षमता नभएका एसएसपीका रुपमा चिनिएका मन्दिप श्रेष्ठ युक्ती तालिम महाविद्यालय बर्दघाट सरुवा भएका छन् भने आईजीपी राईका नजिकका एसएसपी खड्बहादुर राईको राजश्व तथा औद्योगीक सुरक्षा निर्देशनालयमा सरुवा भएको छ । यता, माओवादी द्वन्द्वकालमा सनत बस्नेत भालुवाङको कमाण्डर छँदा रासन घोटलामा मुछिएका एसएसपी राजेन्द्र बस्नेतको पूर्व क्षेत्र सशस्त्र बल मुख्यालय बराहा बाहिनीमा सरुवा भएको छ । उनलाई त्यतीबेला स्पष्टिकरण सोधिएको थियो ।

Post a Comment

0 Comments