Subscribe Us

उपत्यकामा दिउँसो बढी चोरी

काठमाडौँ उपत्यकामा पछिल्लो समय रातिको तुलनामा दिउँसोमा बढी चोरी हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा महाशाखामा परेको उजुरीमध्ये रातिमा चार र दिउँसो १०७ चोरीका घटना भएका छन् । महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीका अनुसार दिँउसो मानिस घरमा नभएको समयमा बढी चोरी हुने गरेको छ ।

“रातिको समयमा प्रायः बचत तथा ऋण सहकारी संस्था र कार्यालयमा तथा दिउँसो घरमा बढी चोरी हुने गरेको छ” उहाँले भन्नुभयो । पछिल्लो समय उपत्यकाभित्रका विभिन्न बचत तथा ऋण सहकारी संस्थामा रातको समयमा ल्यापटप, क्यामरा, सुनचाँदीका गरगहना चोरी भएको आरोपमा धादिङ सुनौलाबजारका सुवास पोखरेल, धादिङकै अर्जुन नेपाली र नुवाकोटका दीपक गजुरेललाई प्रहरीले पक्राउ गरेको थियो । तीनै जना रु तीन लाख २० हजार धरौटीमा रिहा भए ।

“रिहा भएकाहरु पुनः चोरीमा संलग्न हुने गरेका पाइएको छ” मरासिनिले भन्नुभयो । महाशाखामा आव २०७०÷७१ मा २८९ चोरीका घटना दर्ता भएकोमा आव २०७१÷७२ मा ३०७ घटना दर्ता भएका थिए । आव २०७२÷७३ को आठ महिनामा एकसय ११ चोरीका घटना दर्ता भएका छन् । आव २०७१÷७२ मा मासिक २८ देखि ३२ चोरीका घटना हुने गरेकोमा चालु आवमा मासिक १० देखि १२ घटना भएको महाशाखाले जनाएको छ ।

उपत्यकका धेरैजसो सुनचाँदी, ल्यापटप र मोबाइल चोरी हुने गरेको छ । “तुरुन्त बिक्रीवितरण हुने हुँदा यस्ता सामाग्री बढी मात्रामा चोरी हुने गरेका छन्” महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले भन्नुभयो । स्पष्ट कानुनको अभावमा पक्राउ परे लगत्तै चोरीमा सङ्लग्न गिरोह अदालतबाट धरौटीमा छुट्ने र पुनः चोरी र लुटपाटमै सङ्ग्लन हुने गरेका छन् ।

गत पुस २२ गते नयाँ बसपार्कस्थित रिद्विसिद्वि मार्बल अगाडि सडकमा म्याग्दीका दिलबहादुर पुन, म्याग्दीकै चीरञ्जीवी पुन, नुवाकोटका उमेश तामाङ, म्याग्दीका सागर वरुवाल, गङ्गबुका धनबहादुर विश्वकर्मालाई ७५ तोला गरगहना र विभिन्न विद्युतीय उपकरणसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

“उपत्यकामा पट्के चोरले बढी मात्रामा चोरी गर्ने गरेका छन् केही समय अगाडि हामीले गोली प्रहारबाटै चोरलाई नियन्त्रणमा लिन सफल भयौँ”, खनालले भन्नुभयो । चोरीमा संलग्नलाई कारबाही गरेरै छाड्ने उहाँको भनाइ छ । चोरी गरिएका समानसहित चोर पक्राउ गरेपनि हिरासतमा २४ दिन भन्दा बढी राख्न नमिल्ने हुँदा अदालतमा पेस भएको २५आँैं दिनमा धरौटीमा छुट्ने र २६औँ दिनदेखि फेरि चोरीमा सक्रिय हुने गरेको महाशाखाले जनाएको छ ।

सिन्धुपालचोक जिल्ला अदालतले चोरी गरेको घटनामा एक महिना कैद र रु आठ लाख जरिवाना गरेका कैदी फुर्वा शेर्पा भूकम्पबाट कारागार भत्किँदा फरार भई राजधानी केन्द्रीत चोरीमा सङ्लग्न भएको पाइएको थियो । महाशाखाले शेर्पालाई पक्राउ गरेको थियो । यस्ता घटना काठमाडौँ उपत्यकामा दैनिक र मासिक रुपमा थुप्रै हुने गरेका छन् । चोरीमा संलग्न रहेका र जेल गएर छुटेका ६० जनालाई महाशाखाले प्रशिक्षण समेत दिएको थियो । रासस

Post a Comment

0 Comments