Subscribe Us

चलचित्रकर्मी भन्ने बित्तिकै नाक खुम्च्याउँछन्ः नायिका आँचल

नेपाली चलचित्र उद्योगमा हरेक वर्ष कति युवा युवती भविश्यमा लोकप्रिय नायक/नायिका बन्ने रहरले भित्रिन्छन् ? कति सपना पूरा नहुँदै बाहिरिन्छन् त्यसको यकिन तथ्यांक कसैसँग छैन । 

तर, यति चाँही अनुमान लगाउन सकिन्छ प्रतिवर्ष करिव एक सय चलचित्र निर्माण हुने गरेकाले महिला पुरूष गरी झण्डै ५०/६० जना नेपाली रजतपटमा हाम्फाल्छन् । यो संख्या मध्ये मुष्किलले दुई देखी तीन जनाले मात्रै आफुलाई अब्बल सावित गर्छन् र, जीवनको सपनालाई विपनामा परिणत गर्छन् ।

यो वर्ष पनि आफूलाई दर्शक माझ पस्किँदै थुप्रै युवा युवती नेपाली रजतपटमा डेब्यू गरे । ति मध्यकी एक हुन्, आँचल शर्मा । उनले यतिबेला आफ्नो भविष्य दर्शक माझ छोडेकी छन् । कुन नायक नायिकाको अभिनय क्षमता कति छ भनेर ढक र तराजु लिएर नाप्न बसेका दर्शकले उनलाई न्याय गर्छन् या गर्दैनन् त्यो त उनले आफ्नो पहिलो चलचित्र नार्इं नभन्नु ल को चौथो सिक्वेलमा गरेको अभिनयमा न्याय गरेकी छन् या छैनन् त्यसैमा निर्भर गर्ला । तर, उनी भने आफु र अनायासै आफ्नो सपना बन्न थालेको कलिउड बारे यसो भन्छिन् ।

नेपाली चलचित्र उद्योगमा कसरी प्रवेश गर्नु भयो ?

जीवनमा मैले अभिनय गर्छु भन्ने कहिल्यै पनि सोचिन । जे भयो सबै अनायासै भयो । म आज भन्दा चार पाँच वर्ष अगाडीसम्म पनि नेपाली मुभी हेर्दिन थिएँ । जति हेर्थें ति सबै हिन्दी मात्र हुन्थे । अहिले पनि भन्न अफ्ठ्यारो लाग्छ, धेरै चलचित्रकर्मीलाई म अझै चिन्दिन । अभिनय गर्ने इच्छा पनि थिएन ।

मिस पल्स टु नेपाल-२०१५ मा भाग लिएँ । त्यसमा म विजेता बनें । तर, त्यो प्रतियोगितामा चलचित्रमा प्रवेश गर्न सजिलो हुन्छ भनेर म सहभागी भएको होइन । छ महिनाजति पहिला विकास आचार्य सरले नाई नभन्नु ल चारको सिक्वेलका लागि अडिसन लिनु भएको रहेछ । म जाँउ न त कस्तो हुँदोरहेछ भनेर सहभागी भए । यसरी अनायासै यो क्षेत्रमा प्रवेश भयो ।

कसरी तपाई नै छनौट हुन भयो ?

त्यो त मलाई भन्दा पनि उहाँहरूलाई नै थाहा होला । ३१ जना अडिसनका लागि आउनु भएको थियो । मैले पउल शाह होइन तपाईंहरूको मुभिको हिरो भनेर सोधें । उहाँहरूले हो भनेपछि मैले पउल जिलाई प्रपोज गरेर देखाए । जर्जमा मुष्कान ढकाल (निर्देशक) लगायतका हुनुहुन्थ्यो । मुष्कान दाईले तिमी सेलेक्ट भयौ भने कल आउँछ भन्नु भयो । दुई चार दिनसम्म खबर नै गर्नु भएन । पछि कल गर्नु भयो । कल नआउँदा पनि मलाई दुःख चाँही लागेको थिएन । ह्या…भएनछ भन्ने लागेको थियो ।

नाई नभन्नु ल-चारमा कस्तो भूमिका छ ? 

चलचित्र रिलिज भएको छैन, त्यसैले सबै भन्न त मिल्दैन । चिया कफी….बोलको गीत मलाई त मन परेको छ । तपाईहरूलाई कस्तो लागेको छ ? पहिलो चलचित्र हो, राम्रो भूमिका पाएको छु । इनोसेन्ट गर्लको भूमिकामा छु ।

चरित्रलाई न्याय गर्न सकें जस्तो लाग्छ कि कमिकमजोरी भए भन्ने लाग्छ ?

सकेको र जानेको मेहनत गरेकी छु । निर्देशक ज्यूले सिकाए अनुसार गरेको छु । राम्रो भयो भन्नु भएको छ । अवश्य पनि पहिलो पटक हो सिक्नु पर्ने धेरै छ । सुधार्नु पर्ने ठाउँहरू होलान् । त्यो म गर्दै जाने छु । मलाई त प्रियंका कार्की बन्नु छ नि ।

मन पर्ने नायिका प्रियंका हो ? नायक चाँही को हो नि ?

प्रियंका दिदी (कार्की), मन पर्छ । आहा ! केकी अधिकारी कस्तो बब्ली अभिनय हुन्छ उहाँको, उहाँ झनै मन पर्छ । नायकमा पुरानोमा राजेश हमाल र नयाँमा दयाहांङ राई मन पर्छ । दयाहांङ राईको त म फ्यान नै भइसकें । उहाँ त अभिनयका लागि नै जन्मिनु भएको जस्तो लाग्छ । हिन्दीमा सलमान र आमिर खान तथा कंगना रानावत र काजवल अग्रवाल ज्यादै मन पर्छ ।

मन पर्ने नेपाली चलचित्र ? 

लुट । लुट त मैले पहिलो पटक हलमा गएर हेरेको नेपाली चलचित्र हो । कब्बडी र त्यसको सिक्वेल पनि मन पर्ने मुभी हो । पशुपतिप्रसाद सबैले राम्रो भनिरहेका छन्, हेर्ने प्ल्लानमा छु ।

निर्माता निर्देशकहरूले नायक नायिकालाई उचित पारिश्रमिक दिदैनन् भन्ने गरिन्छ नि !

हुन त धेरै त मलाई पनि थाहा छैन । हल्ला भने मैले पनि सुनेकी छु । तर सबै एकै खालका हुन्छन् भन्ने पनि छैन । मैले सुरूमै विकास सर (विकास आचार्य) जस्तो निर्देशक र निर्माता सँग काम गर्ने अवसर पाँए । मलाई लाग्छ पैसा दिएर र पारिश्रमिक नलिइ खेल्नेहरू पनि छन् । यो खराव प्रचलनको अन्त्य गर्नु पर्छ । निर्माता निर्देशकहरूका आफ्ना, आफन्त भएकै भरमा चलचित्रमा अभिनय गर्नेहरू पनि छन् यो अवस्थाको अन्त्य नगरेसम्म चलचित्र क्षेत्र राम्रो हुन्छ जस्तो लाग्दैन । सृष्टि श्रेष्ठ र अनमोल केसीले आठ आठ लाख लिएको सुनेको छु । प्रियंका कार्कीहरूले त यति लिइहाल्नु हुन्छ । आर्थिक रूपमा पनि यो क्षेत्रमा लागेर जीउन सकिन्छ भन्ने लाग्छ । तर, गाह्रो अवश्य नि छ । त्यसैले म पढाई र मुभीलाई ब्यालेन्समा लैजाने हो ।

यो क्षेत्रका विकृतीहरू के हुन जस्तो लाग्छ ? 

सबैलाई थाहा छ । जो पनि चलचित्र क्षेत्रमा आउछ । अन्त केही गर्न नसकेकाहरू नपढेकाहरू चलचित्र क्षेत्रमा आउँछन् भन्ने मानसिकता छ । यसलाई पुरै नकार्न पनि सकिँदैन । शारीरिक शोषणका कुराहरू पनि आउँछन् । कतिपय त यस्ता निर्माताहरू पनि छन् भन्ने सुनेको छु, जो यसकै लागि चलचित्र बनाउँछन् । अनि कतिपय यस्ता ब्यक्तिहरू पनि जो मुभीका लागि मरिमेट्छन् । यस्ता खराव नियत भएकाहरूलाई विस्तारै यो उद्योग बाटै आउट गर्नु पर्छ । अनि मात्रै चलचित्र कलाकाहरूलाई हेर्ने नजरमा सकारात्मक परिवर्तन आँउछ ।

निर्माता निर्देशक विरूद्ध कुरा गर्ने नायक/नायिकाहरू त यो क्षेत्रबाटै पलायन हुनु पर्छ भन्ने सुन्नु भएको छैन ?
छ । तर, अब यो अवस्थाको हामीले अन्त्य गर्नु पर्छ । खराव नियत र चरित्र भएकाहरूलाई हामीले चलचित्र उद्योगबाटै आउट गर्दै जानु पर्छ । एउटा ब्यक्तिले होइन टिमले काम गर्ने हो । जो खराव नियत राख्छ त्यसको पर्दाफास गर्नु पर्छ । यसो गर्न सकियो भने समग्र चलचित्रकर्मी र यो उद्योग कै भलो हुने हो । आजको मात्रै कुरा हो । मैले कक्षामा मेरो गीत हेर्नुस् भनेको शिक्षकले ‘तिमी पनि त्यता तिर लाग्यौँ’ च्यालेन्जेजहरू धेरै छन् भनेर अर्कैगरी भन्नु भयो । मलाई नराम्रो लाग्यो । मलाई आत्मविश्वास छ । राम्रो चाहे राम्रै हुन्छ । मेरो परिवारलाई विश्वास छ तर, समाजका अरू ब्यक्तिले पो खराव भन्छन् । त्यसमा पनि पढेलेखेका विद्वानहरू नै नाक खुम्च्याँउ छन् । कस्तो अनौठो । इट डिपेण्ड्स मि । म ठिक छु भने संसार ठिक छ । होइन भने बेठिक । मलाई तयस्तो ब्यक्तिले आज चलचित्र नदेला तर, मेरो विचारमा सहमत हुने निर्देशकले त मलाई मेरो क्षमता हेरेर मलाई काम दिनु होला नि त ।

नायिकालाई चलचित्र उद्योगले कति वर्षको उमेरसम्म स्वीकार गर्छ जस्तो लाग्छ ?
चालिस ।

धेरैमा १० वर्ष भन्नछन् त निर्माता/निर्देशकहरू त !

हुन त यो आफैंमा भर पर्ने कुरा हो । आफूलाई कसरी क्यारी गर्ने त्यसमै भरपर्छ । करिष्मा मानन्धरलाई हेर्नुस् त । बलिउडमा करिनालाई हेरौं त उहाँले आफूलाई क्यारी अन गर्न सक्नु भयो आजसम्म उत्तिलै लोकप्रिय हुनुहुन्छ ।

कति वर्षमा नेपालको नम्मर नायिका बन्छु जस्तो लाग्छ ?

कम्तिमा ४/५ वर्ष लाग्छ जस्तो लाग्छ । अहिलेसम्म जम्मा एउटा मुभि र एउटा भिडियो (फिरोज बस्नेतको एउटी केटी…..) मा गरेकी छु । अब गर्दै जाने हो । पढाई र मुभिलाई सँगैसँगै अघि बढाउने हो । ५ वर्षसम्ममा अहिलेको प्रियंका कार्की जत्तिकै डिमाण्डेड बन्ने विश्वास छ । त्यसका लागि म मेहनत गर्दै जान्छु । प्रियंका दिदीलाई त मैले सेटमै देखें उहाँले हार्ड वर्क गरेर कस्तो मज्जाले अभिनय गर्नु हुन्छ । त्यसका लागि त मैले मेहनत गर्न बाँकी नै छ ।
अभिनयका लागि अभिनयको एकेडेमिक अध्ययन आवश्यक छ कि छैन ? 

पढेको भए अझै राम्रो । दयाहाङ राईले गरेको अभिनय र मैले गरेको अभिनयमा आकाश र जमिनको फरक पर्छ । तर, अभिनय नपढेकाहरूले पनि काम गर्दै जाँदा गर्न सक्छन् भन्ने लाग्छ । यो क्षेत्रमा लाग्ने मेरो सुरूमा योजना नभएका कारण मैले अभिनय पढिन । विएसडल्यू पढें । तर, विएसडल्यू सकेपछि एक्टिंगको क्लास पनि लिनु पर्छ कि भन्ने सोचिरहेको छु । नयाँ गर्न र चुनौति मोल्ने स्वभाव भएका कारण गर्न सक्छु भन्ने ममा आत्मविश्वास छ ।
अन्त्यमा ?
 
चलचित्र उद्योन आफैंमा खराव छ भन्ने आम मानिसमा रहेको भ्रम हटाउन र यो क्षेत्रमा रहेका खराव ब्यक्तिलाई पाखा लगाउन संचारमाध्यमलाई महत्वपूर्ण भूमिका निर्वाह गरिदन आग्रह गर्छु । १२ खरीबाट

Post a Comment

0 Comments