Subscribe Us

जनमुक्ति सेनाद्धारा म्याग्दी सदरमुकाम कब्जा, डेढ सय सेना–प्रहरीको मृत्यु

काठमाडौं ।
माओवादीले तीन हप्ताअघि भोजपुर सदरमुकामस्थित दूरसंचार रिपिटर टावरमा गरेको सफल आक्रमणको तरङ्ग प्रवाहित भइरहेकै बेला अस्ति म्याग्दी सदरमुकाम कब्जा गरेर आफ्नो फौजी श्रेष्ठतालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायका सामु पुनः देखाएको छ ।

दोस्रो वार्ता असफल भएपछि जिल्ला सदरमुकामलाई पूरै कब्जामा लिएको यो पहिलो कारवाही हो ।
जनयोद्धाले शनिवार राति ११ बजेदेखि भोलिपल्ट बिहान १२ बजेसम्म पुरानो सत्ताका सुरक्षाकर्मीसंग जमेर भिडेका थिए । रातमा भन्दा पनि विहानपख लडाइ“ भीषण भएको बताइएको छ । 

जनयुद्ध सुरु भएपछि सम्भवतः पहिलो पटक यति लामो समयसम्म लगातार भिडन्त र सदरमुकाम दिनमै कब्जा भएको छ ।


भिडन्तका क्रममा पुराना सत्ताका डेढसय सुरक्षाकर्मी मारिएको र त्यत्तिकै संख्यामा घाइते भएको समाचार छ । माओवादीतर्फ ब्रिगेड भाइस कमाण्डर कमरेड योद्धा र कमरेड बहुवीरसहित चार दर्जनले शहादत प्राप्त गर्नुभएको बताइएको छ ।

तर, पुरानो सत्ताले आफ्नो पराजयलाई लुकाउन माओवादीतर्फ पाँच सय र आफ्नो डेढ दर्जन मारिएको भनेर दिनमै रात पार्ने कुरा गरिरहेको छ ।

जनयोद्धाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई आफ्नो कब्जामा लिएपछि तिनका प्रमुखलाई आफ्नो नियन्त्रणमा लिएर गएका छन् । पुरानो सत्ताका सुरक्षाकर्मीसंग भिडेर १ सय भन्दा बढी अत्याधुनिक हतियार जनयोद्धाले खोसेका छन् ।

जसमा एलएमजी–३, टु इन्च मोर्टार–१,एम१६ –१ इन्सास–१४, एसएलआर–३५, थ्री नट थ्री –६५, एसएमजी–७, पिस्तोल–४ र ५० हजार राउण्ड गोली छन् ।

जनमुक्ति सेना, नेपालका योद्धाहरुले जिल्ला कारागारबाट आफ्नो आक्रमण सुरु गरेर जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, कालीप्रसाद गण, जिल्ला विकास समितिमा आक्रमण गरेका थिए ।

शाही अमेरिकी सेनाको कालीप्रसाद गणमा लामो समयसम्म दोहोरो भिडन्त भएको र त्यसका सम्पूर्ण वाहिरी पोष्ट कब्जा गरेका थिए । जनयोद्धाले भित्री पोष्टलाई भने आगो लगाएर क्षति पु्र्याएका थिए ।

भिडन्त भएको केही समयदेखि नै पुराना सत्ताको सहयोगका निम्ति नाइट भिजन र अन्य हेलिकोप्टर आकाशमा उडेका थिए तर त्यसलाई जनयोद्धाले प्रतिरोध गरेर टिक्न दिएनन् । म्याग्दी सदरमुकाममा आउने सबै बाहिरी नाकालाई पनि अवरोध खडा गरिएको थियो ।

जनयोद्धाले सदरमुकाम कब्जा गरेर बाहिरिएको घण्टौंसम्म पनि पुरानो सत्ताका सुरक्षाकर्मी त्यहा“ पुग्न सकेको थिएन ।

जनयोद्धाहरु सदरमुकामबाट बाहिरिएपछि माथि हेलिकोप्टरबाट आक्रमण गरिएको थियो । माओवादीको आक्रमणबाट एउटा हेलिकोप्टर क्षतिग्रस्त भएर आकस्मिक अवतरण गर्नु परेको थियो । त्यसमा मानवीय र भौतिक क्षति के कति भयो बताइएको छैन ।

पुरानो सत्ता असफल
माओवादीको शक्ति क्षीण भएको र तत्काल चुनाव गराउन सकिन्छ भनेर प्रचार गर्दै आएको पुरानो सत्ताका सञ्चालकको म्याग्दी कार्वाहीपछि पूरै वाक्य बन्द भएको छ । भोजपुर कार्वाहीको लगत्तै ‘सामान्य कार्वाही’ भनेर प्रतिक्रिया दिने सुर्यबहादुर थापा र उनका मतियारहरु म्याग्दी कार्वाहीबारे यो समाचार लेख्दासम्म केही बोलेका छैनन् ।

पश्चिमका स्थानीय जनसरकारले लगाएको नाकाबन्दीलाई प्रभावहीन गराउन हेलिकोप्टरमा भ्र्रमण गर्ने गृहमन्त्री कमल थापाले म्याग्दी निकट पोखराको पूर्व निर्धारित भ्रमण रद्द गरेका छन् । बडो तामझामका साथ पोखरामा गर्ने खोजिएको चैत्र १५ गतेको ज्ञानेन्द्रको ‘अभिनन्दन’ कार्यक्रम पनि यो कार्वाहीका कारण रोकिने सम्भावना छ ।

भोजपुरको कार्वाही पछि नै पुरानो सत्ताले माओवादीको अस्वीकृतिमा गराउने भनेको चुनाव नहुने स्थिति पैदा भइसकेको थियो भने म्याग्दी कार्वाहीले त्यसलाई थप सुनिश्चित गरेको छ ।

भोजपुर कार्वाही हुँदै विभिन्न जिल्लामा भएका सफल नाकाबन्दी र म्याग्दी सदरमुकाम कब्जासम्म आउँदा पुरानो सत्ताका सञ्चालकको असफलता भएको र त्यसले शान्तिपूर्ण विकल्पका साथ जानुपर्छ भनेर देशमा फेरि चर्काे ढंगले आवाज उठेको छ ।

बन्दी साट्ने शर्त
म्याग्दी सदरमुकाम कब्जा गर्ने कार्वाहीका कमिसार पीबीएम कमरेड विप्लव र सोही कार्वाहीका कमाण्डर पश्चिम डिभिजनका कमाण्डर पीबीएम कमरेड पासाङले संयुक्त वक्तव्य जारी गर्नुभई आफ्ना कब्जामा रहेका प्रमुख जिल्ला अधिकारी र डीएसपीस“ग पुराना सत्ताले बेपत्ता पारेका आफ्ना पार्टीका पोलिब्यूरो सदस्य मातृका यादव, सीसीएम सुरेश आले मगरलगायतलाई साट्ने शर्त अगाडि सार्नु भएको छ ।

उहाँहरुले जारी गर्नु भएको वक्तव्य जस्ताको तस्तै दिइएको छ :
‘हाम्रो गौरवशाली पार्टी केन्द्रको योजना र पश्चिम केन्द्रीय कमानको निर्णय अनुसार जनमुक्ति सेनाको पश्चिम डिभिजनद्वारा म्याग्दीको सदरमुकाम बेनीमाथि सैन्य कार्वाही (रेड) सम्पन्न भएको छ ।

रेड चैत्र ७ गते राति ठीक ११ बजेबाट शुरु भई आठ गते बिहान १० बजे सम्पन्न भयो । कार्वाहीमा शाही सेनाका १२५ र प्रहरीका २६ को मृत्यु भयो भने सयौंको संख्यामा घाइते भए । कार्वाहीबाट शाही सेनाको कालीप्रसाद व्यारेक, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय नष्ट भएका छन् ।

यसैगरी अन्य सरकारी कार्यालय पनि क्षति हुन पुगेका छन् । उक्त कार्वाहीबाट –एलएमजी–३, टु इन्च मोर्टार–१, एम१६–१ इन्सास–१४, एसएलआर–३५, थ्री नट थ्री –६५, एसएमजी–७, पिस्तोल–४, सहितका हतियार कब्जा भएका छन् । त्यसैगरी ५० हजार गोली र दर्जनौं मोर्टारहरु पनि कब्जा भएका छन् ।

उक्त रेडमा जनमुक्ति सेनाका दोस्रो विग्रेड भीसी क. योद्धा र तेस्रो ब्रिगेड भीसी क. बहुवीर, बटालियन कमाण्डर क. विशाल, बटालियन भीसी क. बायु, सहित ४९ जना वीर योद्धाहरुले शहादत प्राप्त गर्नुभयो भने एक सयजना जति घाइते हुनुभयो ।

कार्वाहीको क्रममा आत्मसमर्पण गर्ने प्रजिअ सागरमणि पराजुली, डीएसपी रणबहादुर गौतम सहित ३३ जना शाही सेना र प्रहरीलाई युद्ध बन्दी बनाइएको छ । बन्दीहरुलाई हाम्रो पार्टीको जनवादी नीति र जेनेभा महासन्धीको मान्यता अनुसार व्यवहार गरिएको छ ।

हाम्रो पार्टीका पीवीएम क. मातृका यादव, सीसीएम क. सुरेश आले मगर क्षेत्रीय व्यूरो सदस्य क. तिलक शर्मा (हिमाल), बर्दिया हाल धनगढी कारागार लगायतका युद्ध बन्दीहरुलाई रिहा गरिएमा हाम्रो तर्फबाट पनि बन्दीहरुलाई मुक्त गरिने जानकारी गराइन्छ ।

अन्तमा महान् र ऐतिहासिक कार्वाही पूरा गर्न आफ्नो जीवन वीरतापूर्वक उत्सर्ग गर्नुहुने क. योद्धा र क. बहुवीरसहित सबै आदरणीय शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । प्यारा घाइते योद्धा कमरेडहरुको, सीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

कार्वाहीको क्रममा सहयोग प्रदान गर्नुहुने सम्पूर्ण जनसमुदायहरुप्रति आभार प्रकट गर्दछौं । कार्वाहीमा सहभागी सम्पूर्ण कमाण्डर, कमिसार, सदस्य र स्वयंसेवक कमरेडहरुलाई धन्यवाद प्रकट गर्दछौं ।’
जनादेश साप्ताहिकवर्ष–१३, अंक–१७, २०६० चैत्र १० गते, मंगलबारबाट साभार गरिएको ।

Post a Comment

0 Comments