Subscribe Us

पद्मकन्या क्याम्पस स्ववियु सभापतिको मृत्यु

रौतहट, १५ चैत । बाराको अमलेखगन्ज–६ स्थित मुख्य राजमार्गमा सोमवार बिहान भएको सवारी दुर्घटनामा पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापतिसहित दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारचालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र उदयपुर, कटारी–२ की ३७ वर्षीया लालकुमारी पोखरेल (स्वस्तिका) रहेका छन् । पोखरेल पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापति हुन । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नेपालगन्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ८०९७ नम्बरको कार बिहान एकआपसमा ठोकिदा उनीहरुको मृत्यु भएको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको  प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छ । यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेवि सङ्घकी नेतृ एवम् पद्मकन्या क्याम्पसकी स्ववियु सभापति पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

Post a Comment

0 Comments