Subscribe Us

१४ राउण्ड गोलीले सिध्यायो लामाको सांसद पद

काठमाडौं, ३० फागुन । १४ राउण्ड गोली सहित पक्राउ परेका एमाओवादी सभासद ल्हारक्याल लामा सांसद पदबाट निलम्बित भएका छन् । लामा पक्राउ पर्नासाथ उनी सांसदबाट निलम्बित भएका छन् । फौजदारी अभियोग लाग्नासाथ सांसद पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।

लामालाई प्रहरीले आइतबार पक्राउ परेलगत्तै हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्वा दायर गरेको छ । गैरकानुनी रुपमा अकुत सम्पति कमाएको अभियोगमा अख्तियारले लामाको बैंक लकर बन्द गरेको थियो । बन्द लकरलाई आइतबार आयोगको टोलीले खोल्न लगाई चेक गर्दा १४ राउण्ड गोली भेट्टिएको हो । लकर खोल्नुअघि अख्तियारका अधिकारीले लामालाई बयानका लागि आइतबार आयोगमै बोलाएको थियो । बयानपछि उनलाई बैंकमा लगेर लकर खोल्न लगाएको थियो । लकरमा गोली भेट्टिएपछि अख्तियारले लामालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी कृष्णबहादुर पाली मगरलाई जिम्मा लगाएको हो । विवादस्पद सांसद लामालाई दरबारमार्ग प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।

अदालतद्वारा अभियोग प्रमाणित भएमा लामालाई ३ महिनादेखि १ वर्ष कैद र २० हजारदेखि ६० हजार रुपैयाँ जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकमा रहेको लामाको ४ सय १४ नम्बर लकरमा गोली भेट्टिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Post a Comment

0 Comments